मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

सडक पूर्वाधारमा कनकाई : ८ वर्षमा ६० किलोमिटर कालोपत्र

मंगलबार, असार ३१ २०८२
सडक पूर्वाधारमा कनकाई : ८ वर्षमा ६० किलोमिटर कालोपत्र
फाइल तस्बिर

सडक बनेपछि कृषि उपज बजारसम्म पुर्‍याउन, नगरभित्र आवतजावत गर्न र पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा सडकको स्तरोन्नतिले सहज भएको छ।

झापा- कनकाई नगरपालिकाले ८ वर्षमा ६० किलोमिटर सडक कालोपत्र गरेको छ भने २० किलोमिटरमा पेवर्स बिछ्याएको छ।

'सडक पूर्वाधारको विकासमार्फत कनकाईले काँचुली फेरेको छ,' कनकाईका नगरप्रमुख राजेन्द्र पोखरेल भन्छन्, 'स्थानीय तहको पहिलो कार्यकालदेखि नै सडक निर्माणले प्राथमिकता पायो। यति धेरै सडक बनिसकेका छन् कि अब सडक निर्माणका लागि बजेट कम गर्नुपर्ने अवस्था आएको छ।'

सडक बनेपछि कृषि उपज बजारसम्म पुर्‍याउन, नगरभित्र आवतजावत गर्न र पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा सडकको स्तरोन्नतिले सहज भएको छ।

कनकाई नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रोशन सुवेदीले आफ्नो वडामा ११ किलोमिटर सडक कालोपत्र भएको बताए। उनले भने,' कनकाईले गरेको विकासबारे जानकारी लिन एकपटक यहाँ आउन मेरो आग्रह छ।'

क्षेत्रफलका आधारमा जिल्लाको सबैभन्दा सानो नगरपालिका कनकाईको अमरपथ, लक्ष्मीमार्ग, पञ्चायत मार्ग, जनपथ, भृकुटी र लक्ष्मीपुर-घैलाडुब्बा सडक मुख्य सडक मानिन्छन्। अधिकांश प्रमुख सडक कालोपत्र भइसकेका छन्।

राष्ट्रिय जनगणना २०७८ अनुसार कनकाईको जनसङ्ख्या ५३ हजार छ। कनकाई वडा नं. ३ सुरुंगामा पालिकाले चार करोड ५० लाख २९ हजार ११२ रूपैयाँको लागतमा आधुनिक कृषिबजार भवन निर्माण गरिरहेको छ। नगरले कृषिसँगै स्वास्थ्य क्षेत्रमा पनि लगानी गर्दै आएको छ। नगरमा १५ शय्याको अस्पताल  निर्माणाधीन छ। आगामी जेठ १५ मा अस्पताल भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ।

कनकाई नगरपालिका नेपालको पहिलो विद्युत चुहावटमुक्त, बन्द निषेधित र सूर्तीजन्य पदार्थ निषेधित क्षेत्र हो। नगरमा कनकाई कोटीहोम, धनुषकोटी धाम, जामुनखाडी सिमसार, हेप्पील्यान्डलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु रहेका छन्। रासस


प्रकाशित : मंगलबार, असार ३१ २०८२१३:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend