मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

मीनबहादुर गुरुङले शिक्षण अस्पताललाई हस्तान्तरण गरे दोस्रो भवन, १४ वर्षअघि बनाइदिएका थिए इमर्जेन्सी भवन

सोमबार, असार ३० २०८२
मीनबहादुर गुरुङले शिक्षण अस्पताललाई हस्तान्तरण गरे दोस्रो भवन, १४ वर्षअघि बनाइदिएका थिए इमर्जेन्सी भवन

देशभर स्वास्थ्य, शिक्षा र समाजसेवाका क्षेत्रमा निजी क्षेत्रबाट यति व्यापक रूपमै योगदान दिने उदाहरण कमै छन्। मीनबहादुर गुरुङको यो सक्रियता निजी क्षेत्रको सामाजिक उत्तरदायित्वको उत्कृष्ट नमूनाका रूपमा स्थापित हुँदै गएको छ।

काठमाडौं- भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ९ करोड ५० लाख रुपैयाँ खर्चेर निर्माण गरिएको 'विस्तारित सेवा भवन' सोमबार अस्पताललाई हस्तान्तरण गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा गुरुङले उक्त भवन अस्पताल व्यवस्थापनलाई बुझाएका हुन्। कार्यक्रममा प्रधानमन्त्री ओलीले नवनिर्मित भवनको उद्घाटनसमेत गरे।

स्व. वृषबहादुर गुरुङ र धनमाया गुरुङको स्मृतिमा निर्माण गरिएको सो भवन भाटभटेनी समूहको सामाजिक उत्तरदायित्वअन्तर्गतको योगदान हो।

यसअघि २०६८ सालमा पनि गुरुङले शिक्षण अस्पतालमै १० करोड रुपैयाँको लागतमा आकस्मिक सेवा (इमर्जेन्सी) भवन निर्माण गराएका थिए।

कार्यक्रममा प्रधानमन्त्री ओलीले गुरुङ दम्पतीको खुलेर प्रशंसा गरे। 'धन धेरैले कमाउँछन् तर दानपुण्यमा अग्रसर हुने कमै छन्,' प्रधानमन्त्री ओलीले भने, 'मीनबहादुरजी र सावित्राजीले फेरि एकपटक सम्पूर्ण नेपाली जनताको हितका लागि उल्लेखनीय योगदान गर्नुभएको छ।'

min teaching.JPG

देश र जनताको सेवामा स्वेच्छाले सहयोग गर्न पाउँदा हर्षित भएको भन्दै मीनबहादुर गुरुङले भने, 'राष्ट्रबाट केही पाउने आशा राखेर होइन, केही दिन सकिन्छ कि भन्ने सोचले यस्ता काम गर्दै आएका छौँ।'

भाटभटेनीका तर्फबाट जहिले पनि अग्रपंक्तिमा रहेर देश, जनता र राष्ट्रको सेवामा स्वमनले, राष्ट्रबाट केही पाइन्छ कि भनेर आशा नगरीकन सफा मनले सहयोग गरेको गुरुङले बताए।

भाटभटेनीका अध्यक्ष गुरुङले ईएचएस भवन बनाएर हस्तान्तरण गर्न पाउँदा आफूहरू ज्यादै हर्षित भएको बताए। २०६८ सालमा डा. अरुण सायमीले शिक्षण अस्पतालमा इमर्जेन्सी (आकस्मिक) भवन आवश्यक रहेको बताएपछि आफूहरूले सहयोग गरेको उनले स्मरण गरे।

स्वास्थ्य सेवा प्रवर्द्धनमा निरन्तर सक्रिय गुरुङले मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले निर्माण गरिरहेको बाल अस्पतालमा समेत करोडौँ रुपैयाँ सहयोग गरेका छन्। गुरुङका अनुसार सो अस्पतालको भवन पनि अन्तिम चरणको निर्माणमा पुगेको छ र निकट भविष्यमै उद्घाटन हुने तयारीमा छ।

सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएका गुरुङले शिक्षा क्षेत्रमा पनि समान रुपमा सहयोगी पहिचान बनाएका छन्। उनले श्रीमती सावित्रा गुरुङको नाममा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत ग्रामीण भेगका विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि सहयोग गर्दै आएका छन्।

हालसम्म रोल्पा, खोटाङ, मुगु, डोल्पा, बैतडी, दार्चुला, संखुवासभा, ताप्लेजुङ, पाँचथर र कालीकोटका विद्यार्थीहरु गुरुङको सहयोगमा डाक्टर भइसकेका छन्।

देशभर स्वास्थ्य, शिक्षा र समाजसेवाका क्षेत्रमा निजी क्षेत्रबाट यति व्यापक रूपमै योगदान दिने उदाहरण कमै छन्। मीनबहादुर गुरुङको यो सक्रियता निजी क्षेत्रको सामाजिक उत्तरदायित्वको उत्कृष्ट नमूनाका रूपमा स्थापित हुँदै गएको छ।

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ जसले डा. भगवान कोइरालालाई 'सरप्राइज' दिए भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ जसले डा. भगवान कोइरालालाई 'सरप्राइज' दिए


प्रकाशित : सोमबार, असार ३० २०८२१६:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend