शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बगरमा गरेको व्यावसायिक स्याउखेतीले गुरुङ दम्पतीलाई दिएको आनन्द, वर्षमै ३५ लाख रुपैयाँ कमाए

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार ३० २०८२
बगरमा गरेको व्यावसायिक स्याउखेतीले गुरुङ दम्पतीलाई दिएको आनन्द, वर्षमै ३५ लाख रुपैयाँ कमाए

मुस्ताङ जिल्लाकै नमूना किसानमा आफ्नो पहिचान बनाइसकेका उनीहरुको अहिले करिब ६० रोपनी क्षेत्रफलमा स्याउखेती फैलिएको छ।

मुस्ताङ- खाली जमिनमा मेहनत गरे के हुँदैन भन्ने दरिलो उदाहरण बनेका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ तिरी गाउँका ङवाङ र छिरिङ ढोका गुरूङ। उनीहरुले अहिले जीवनभरको मेहनतको फल प्राप्त गरिरहेका छन्।

गुरुङ दम्पतीलाई कुनैबेला बगरमा स्याउ लगाउँदा स्थानीय गाउँलेहरुले कुरा काटेर हैरान पार्दथे।  छिरिङ भन्छन् 'तत्कालीन समय समय सम्झदा नमज्जा लागेपनि अहिले भने राम्रै गरेको भन्ने लागिरहेको छ।'

एकै वर्षमा दुईवटा राष्ट्रिय पुरस्कारबाट सम्मानित भएपछि झनै गुरुङ दम्पतीमा मेहनत र परिश्रमको हुटहुटि चलेको देखिन्छ। 

कालीगण्डकी करिडोर बेनी-जोमसोम-कोरोला सडक हुँदै उत्तरी सिमाना कोराला नाका जाने बाटो नजिकै तिरी गाउँ भए पनि विकट झैँ लाग्छ। एउटा पक्की पुलको आशामा वर्षौँ बिताइसकेका कालीगण्डकी नदी पारी तिरी गाउँका स्थानीयसँगै गुरुङ दम्पती आम मुस्ताङवासी किसानको गतिलो उदाहरण बनेका छन्। सडक सञ्जालले सहज रुपमा नछोए पनि गुरुङ दम्पतीले स्याउ र च्याङ्ग्रा बेचेरै वार्षिक लाखौँ आम्दानी गर्छन्। 

गुरुङ दम्पतीले ङवाङ हिसी कृषि तथा पशुपक्षी अग्र्यानिक फर्म करिब एक रोपनीबाट सुरुवात गरेका थिए। मुस्ताङ जिल्लाकै नमूना किसानमा आफ्नो पहिचान बनाइसकेका उनीहरुको अहिले करिब ६० रोपनी क्षेत्रफलमा स्याउखेती फैलिएको छ।

उनीहरुलाई दैनिकजसो स्याउ खेती स्याहार्ने, बगैँचा व्यवस्थापन गर्नेदेखि अन्य महत्वपूर्ण कार्यमा खर्चिनुपर्ने हुन्छ। बिहान उठेदेखि बेलुकीसम्म पूरै समय किसान भएर काम गर्न पाउदाको क्षण उनी दुबै दम्पतीलाई बडो आनन्द आउने उनीहरु बताउछन्। यद्यपि स्याउ बगैँचा व्यवस्थापन र च्याङ्ग्रा हेरालुसहित अहिले उनीहरुसँग करिब आठ जना मजदुर पनि छन्। 

कुनैबेला व्यावसायिक स्याउखेती नहुने बगरमा बेकारको लगानी गर्‍यो भन्दै आङ्ग्या र छिरिङको खिसीटिउरी गर्ने गाउँलेहरु अहिले उनीहरुको सफलता देखेर चकित परेका छन्।

करिब १८ वर्ष पहिला सन्तानको शिक्षादीक्षासहित घरखर्च चलाउने सोचबाट सुरू भएको स्याउखेतीले आम्दानी दिन थालेपछि आङ्ग्या र छिरिङ दम्पत्तीले उक्त फर्मको स्थापना गरेका थिए। निरन्तर मेहनत र परिश्रम गरे सफलता मिल्छ भन्ने ज्वलन्द उदाहरणको साक्षी हुन् गुरुङ दम्पती। अहिले उनीहरुको कडा मेहनत र परिश्रमकै कारण पछिल्लो केही वर्षमा समग्र मुस्ताङवासीको प्रेरणाको स्रोत बनेका छन्।

पहाडको शिरमा पाँच सय भन्दा बढी च्याङ्ग्रा र खाली बगरमा रैथाने र आधुनिक स्याउखेती गरेर वार्षिक पचास लाखसम्मको आम्दानी भए पनि मेहनत धेरैनै हुने गरेको छिरिङ ढोका गुरुले बताए। यसै वर्ष छिरिङ ढोका गुरूङ सरकारबाट, आङ्ग्या (ङवाङ) र छिरिङ ढोका गुरूङ दम्पती पुनः गण्डकी प्रदेश सरकारबाटसमेत वर्षको सर्वोत्कृष्ट किसानको रुपमा सम्मानित भए।

छिरिङ ढोका गुरुङले नगद दुई लाखसहितको राष्ट्रपति उत्कृष्ट किसान पुरस्कार र गुरुङ दम्पतीलाई गण्डकी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गण्डकी प्रदेशको सर्वोत्कृष्ट किसान घोषित गरेको छ। 

शुक्रबार पोखरामा कृषि भूमि व्यवस्था तथा सहकारी कृषिमन्त्री पद्यमा जिसी श्रेष्ठ, सचिव वासुदेव रेग्मीले नगद ५० हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्रले पुरस्कृत गरे। गुरुङ दम्पत्तीको स्याउ बारीमा अहिले करिब दुई हजार पाँच सय स्याउको बोट रहेकोमा यसवर्ष छिमेकी जिल्ला मनाङबाट पाँच सय बोट हाइडेन्सीटी (उच्च घनत्वमा उत्पादन हुने) प्रजातिको स्याउसमेत रोप्ने तयारी गरेका छन्।

गतवर्ष खर्च कटाएर ३५ लाख स्याउ बिक्रीबाट मात्रै आम्दानी गरेका छन्। यस्तै पाँच सय च्याङ्ग्रा रहेको फार्मबाट गतवर्ष १३ लाख आम्दानी गरेका थिए।

जलवायु परिवर्तनले पानीको मुहान सुकेपछि करिब १३ घरधुरी नै विस्थापित हुने जोखिममा रहेको अवस्थामा गाउँमा व्यावसायिक स्याउखेतीसहित पशुपालनमा सक्रिय गुरुङ दम्पत्तीको यतिबेला संघर्ष र सफलताको चर्चा भइरहेको छ। रासस


प्रकाशित : सोमबार, असार ३० २०८२१२:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend