पाल्पा- पछिल्ला दिनमा सूचना प्रविधिको प्रयोग दिनानुदिन बढ्दो छ। स्मार्टफोनको प्रयोगका अतिरिक्त सामाजिक सञ्जाल चलाउने धेरै छन्। प्रविधिको सदुपयोग गरेर व्यावसायिक बन्ने किसानको सङ्ख्या पनि बढ्दो छ।
यहाँका केही किसानहरूलाई मोबाइलमा प्रविधिको प्रयोगबाट आत्मनिर्भर बन्नमा सहयोग पुगेको छ। रिब्दीकोट गाउँपालिका-२ का टिकाबहादुर राना तीनैमध्येका एक हुन्। उनी बजारमा तरकारीको भाउ, आफुले बिक्री गरेको तरकारीको विवरण मोबाइलबाटै थाहा पाउँछन्।
कुन समयमा कुन तरकारी लगाउने, मल, खाद र सिँचाइ कसरी गर्ने, मौसम कस्तो हुँदै छ भन्ने जानकारी उनको मोबाइलमै प्राप्त हुन्छ। यी सबै जानकारी जियो कृषि नामक एप्सले उपलब्ध गराउँछ। उनले चार वटा टनेलमा टमाटर फलाउँदै आएका छन्।
उत्पादित टमाटर सहकारीमार्फत बिक्री गर्छन्। केही समय अघिसम्म विवरण कागजमा राख्दा हराउने, दररेट र तौल फरक पर्ने हुन्थ्यो। अहिले त्यस्तो समस्या छैन। ‘हामीले तरकारी बिक्री गर्दा एउटा दररेट हुन्छ, पैसा लिने समयमा दररेट फरक भइदिन्थ्यो, कहिलेकाहीँ हामीले पनि विवरण बिर्सिने भएकाले समस्या हुन्थ्यो तर अहिले त्यस्तो हुँदैन’ उनले भने।
रिब्दीकोट-२ कै तेजबहादुर रानाले मिलनसार सहकारीलाई ५० केजी टमाटर बिक्री गरे। बिक्री गरेको केही क्षणमै खरिद गरेको विवरण मोबाइलमा आयो। अहिले ५० केजी टमाटर ५० रुपैयाँको दरले बिक्री भएपछि पाँच हजार रकम लिन सहकारीमा आउनुहोला भन्ने मोबाइलमा सन्देश आएपछि राना दंग परेका छन्।
उनी भन्छन्, ‘पहिला गाउँघरमै ग्राहकको भाउमा तरकारी बेच्थेँ। जियो कृषि एप्स चलाउन थालेपछि मेरो जीवन शैली परिवर्तन भयो।’ उनीहरु जस्ता यहाँका धेरै कृषकलाई सामाजिक उद्यमी महिला सहकारीको छाता संगठन सेवा नेपाल र जियो कृषि को साझेदारीमा सञ्चालन गरिएको जियो कृषि सेवा मोबाइल एप्लिकेशनमार्फत सेवा लिरेका छन्।
संकलन गर्ने प्रतिनिधि, भुक्तानी दिने सहकारी र बिक्री गर्ने कृषक सबैलाई एकै साथ विवरण प्राप्त हुने र लामो समयसम्म अभिलेख सुरक्षित हुने भएकाले यो प्रविधिले कृषकहरुलाई सहज बनाएको छ। कृषकले जियो कृषि सेवामा आफ्नो उत्पादन अभिलेख राख्न सक्ने र सहकारीका प्रतिनिधिले उनीहरुको उत्पादन खरिद गर्न सक्ने हेफर इन्टरनेशनल नेपालका डिजिटल सहजकर्ता विष्णु घिमिरेकाे भनाइ छ।
ग्रामीण कृषकको पहुँचमा डिजिटल प्रविधि पुर्याएर उनीहरुलाई थप सशक्त गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको घिमिरे बताउँछन्। हेफर ईन्टरनेशनलको सहयोगमा ग्रामिण आर्थिक विकास संघ रेडामार्फत एलएएलभिसी परियोजना सञ्चालन भएको छ।
परियोजनाले तानसेन, रिब्दीकोट, पूर्वखोला, रम्भा र निस्दी गाउँपालिकामा तरकारी उत्पादन र बजारिकरणमा काम गर्दै आएको छ। परियोजना क्षेत्र तथा अन्य क्षेत्रबाट समेत गरी मिलनसार सहकारीले दैनिक १० देखी १५ मेट्रिकटन तरकारी खरिद गरी बिक्री गर्दै आएको छ।
‘तरकारीको कारोबार कागजमा राख्दा अभिलेख नरहने र दररेट फरक पर्थ्याे’, सहकारीका अध्यक्ष कमला भण्डारीले भन्छिन्, ‘एप्समार्फत डिजिटल अभिलेख राख्दा सबैलाई फाइदा पुगेको छ। पारदर्शी हुनुको साथै बजार व्यवस्थापन र योजना निर्माणको लागिसमेत सहयोग पुगेको छ।’
हेफरका ईनोभेसन प्रमुख ताराप्रसाद पन्थिका अनुसार ७० बढी सहकारीका सदस्यलाई डिजिटल सेवामा पँहुच पुर्याउन जियो कृषि सेवामार्फत सहयोग गर्दै आएको छ। रासस