मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

पानी नपर्दा सुक्यो धानको ब्याड

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार ३० २०८२
पानी नपर्दा सुक्यो धानको ब्याड

वराहक्षेत्र नगरपालिकाले श्रीलंका टापुका किसानलाई ४३ थान विद्युतीय मोटर, ६० थान डेलिभरी पाइप र १५५ थान त्रिपाल अनुदानमा वितरण गरेको छ।

धरान- समयमै वर्षा नहुँदा यहाँका किसानले राखेको धान ब्याडमै सुक्न थालेको छ। असार बित्नै लाग्दासमेत पर्याप्त पानी नपर्दा र सिँचाइ सुविधा अभावले धान रोपाइँ हुन नसकेको हो। 

आकाशे पानीको भरमा रहेका बराहक्षेत्र नगरपालिका-६ श्रीलंका टापु चिलैया र गरैया क्षेत्रका किसानले रोपेको धानको रोपो नै सुक्न थालेको छ। स्थानीय कृषक सन्तोष चन्द्रवंशीले भने, 'यो वर्ष पानी पर्ने आशा त थियो, तर चाहिएको बेला पानी परेन। हामी आकाश हेरेर बसेका छौँ, धानको रोपो सुक्न थालेको छ।'

उनकाअनुसार विद्युत् आपूर्तिसबै क्षेत्रमा नपुगेकाले पम्पसेट मार्फत सिँचाइ गर्न सकिएको छैन। वराहक्षेत्र नगरपालिकाले श्रीलंका टापुका किसानलाई ४३ थान विद्युतीय मोटर, ६० थान डेलिभरी पाइप र १५५ थान त्रिपाल अनुदानमा वितरण गरेको छ।

रामधुनी नगरपालिकाका किसान रामभुवन रायले आफूले दुई बिघाहमा रोपाइँ गर्दै आएकोमा अहिलेसम्म आधा खेतमा पनि रोपाइँ गर्न नसकेको बताए। वर्षामा भर पर्ने उनीहरुजस्ता किसानलाई यही अवस्था रहिरहेमा धान बाली नै गुम्ने खतरा रहेको उनको भनाइ छ।

कोशी गाउँपालिका-७ की किसान सरस्वती मियाँले जेठमै ब्याड तयार पारे पनि पानी नपरेपछि सुक्न थालेको बताए। धरान उपमहानगरपालिका-६ का किसान बुद्धिमान तामाङका अनुसार कुलोमा पानी नआएपछि रोपाइँ गर्न सकिएको छैन। 'पोहोर साल यही समयसम्म रोपाइँ सकिएको थियो, तर यसपाली  तीन भागमा एक भाग पनि रोपाइँ सकिएको छैन', तामाङले भने।

सुनसरीमा हाल ४८ हजार ९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको छ। कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निल कमल सिंहका अनुसार, गत वर्ष असारको अन्त्यसम्म जिल्लामा करिब ५० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। तर यस वर्ष सोही अवधिमा ३२ प्रतिशत मात्र रोपाइ भएको छ। 

किसानले समयमै सिँचाइको व्यवस्थाका साथै मल, बिउ र अन्य कृषि उपकरणमा अनुदान माग गरिरहेका छन्। केही किसानले निजी स्रोतबाट सिँचाइको व्यवस्था मिलाउने प्रयास गरे पनि सबैका लागि त्यो सम्भव नहुने भन्दै सरकारी तहबाट राहतको माग गरेका हुन्। रासस


प्रकाशित : सोमबार, असार ३० २०८२१०:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend