शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

असार २९ सम्म आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार ३० २०८२
असार २९ सम्म आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ

गत वर्षको तुलनामा करिब ८ प्रतिशतले रोपाइँमा कमि आएको हो।

काठमाडौं- देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ। 

कृषि विकास मन्त्रालयका अनुसार यही असार २९ गतेसम्म आठ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ भएको हो। गत वर्षको तुलनामा करिब ८ प्रतिशतले रोपाइँमा कमि आएको हो।

प्रतिशतका हिसाबले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब एक लाख ६४ हजार हेक्टरमा रोपाइँ भएको छ। उक्त प्रदेशमा ९३ प्रतिशत रोपाइँ भएको जनाइएको छ।

कर्णाली प्रदेशमा ६४ हजार हेक्टरमा रोपाइँ सकिएको छ। यहाँ ८३ प्रतिशत रोपाइँ भएको छ। लुम्बिनी प्रदेशमा दुई लाख २३ हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको छभने प्रतिशतका हिसाबले ७३ प्रतिशत रोपाइँ भएको हो। 

गत वर्ष सोही अवधिमा करिब ६७ प्रतिशत धान रोपाइँ भएको थियो। मन्त्रालयले आइतबारसम्म संकलन गरेको तथ्यांकअनुसार देशका केही भागमा रोपाइँ जारी छ। आगामी साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ। 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र राम्रो मानिन्छ। त्यस क्षेत्रबाट धानको उत्पादकत्वसमेतमा वृद्धि भइ कुल उत्पादनको ७० प्रतिशत योगदान छ। पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको छ।

गत आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिकटन धान उत्पादन भएको थियो। मौसमको प्रतिकूलता, दैवी प्रकोप, अतिवृष्टि तथा अनावृष्टिले रोपाइँमा नकारात्मक प्रभाव परी कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुने गरेको छ। 

मुलुकमा करिब १४ लाख हेक्टर जमिनमा रोपाइँ हुने गर्दछ। पछिल्लोपटक विकास भएका ज्ञान, सीप, प्रविधि तथा उन्नत जातका बीउबिजनको विकासका कारण उत्पादन वृद्धि हुने अनुमान छ।

धान उत्पादनमा करिब १० प्रतिशतले घटबढ भएमा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा एक प्रतिशतले घटबढ हुने जनाइएको छ। यसवर्ष स्वदेशमा उत्पादन हुने अनुमान गरिएको ६० लाख मेट्रिकटन धानबाट करिब ३५ लाख मेट्रिकटन खानयोग्य चामल बन्ने मन्त्रालयको भनाइ छ। रासस 


प्रकाशित : सोमबार, असार ३० २०८२१०:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend