शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

गाउँ फर्किएर कृषिबाट आत्मनिर्भर बनेका कुमार पुर्जा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार २९ २०८२
गाउँ फर्किएर कृषिबाट आत्मनिर्भर बनेका कुमार पुर्जा

एउटा टनेलबाट वार्षिक चार लाख बढीको कृषि उपज उत्पादन गर्ने लक्ष्य राखेका पुर्जाले गोलभेँडाखेतीबाट भएको आम्दानीले आफू सन्तुष्ट रहेको बताए।

म्याग्दी- रोजगारी र अवसरका लागि गाउँ छाड्नेक्रम बढिरहेको छ। तर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ राम्चे काफलडाँडाका कुमार पुर्जा भने गाउँ छाडेको तीन दशकपछि पुनः गाउँ फर्किएर गाउँमै अवसर र आत्मनिर्भरताको अभियानमा जुटेका छन्।

गाउँबाट बसाइँ नै सरेर नवलपरासी पुगेका पुर्जाले आर्थिक उपार्जनका लागि वैदेशिक रोजगारमा पटकपटक प्रयास गर्दा पनि सफलता नमिलेपछि गाउँ फर्किएर माटोमै पसिना बगाएर आत्मनिर्भर बन्ने योजना बनाए।

लामो समयसम्म नवलपरासीमा घर निर्माणसम्बन्धी काम गरी घरपरिवारको जीविकोपार्जन गरेका पुर्जाले रोजगारको सिलसिलामा कतारमा २० महिना बसेर फर्किएका थिए भने इराकमा दुईपटकसम्म पुगेर फर्कनुपरेको थियो।
 
गाउँ छाडेको ३५ वर्षसम्म नवलपरासीमा बसेर जीविकोपार्जन गरेका पुर्जा विगत चार वर्षदेखि भने आफ्नो जन्मगाउँ काफलडाँडा फर्किए। गाउँ फर्किएर पुर्जाले आधुनिक कृषि खेतीलाई पेसाका रूपमा अघि बढाए।

डेमरकटेरा टोलमा उनको तरकारी खेतीको कृषि फार्म रहेको छ। दुईवटा हाइटेक प्रविधिसहितको तीनवटा टनेलमा गोलभेँडाखेती गरेका पुर्जाले कृषि फार्मबाट आम्दानी गर्न सुरु गरेका छन्।

टनेलमा स्थानीयस्तरका काठ, निगालो र डोरीको प्रयोग गरी गोलभेँडाखेती गरिएको छ। एउटा टनेलबाट वार्षिक चार लाख बढीको कृषि उपज उत्पादन गर्ने लक्ष्य राखेका पुर्जाले गोलभेँडाखेतीबाट भएको आम्दानीले आफू सन्तुष्ट रहेको बताए।

‘मैले उत्पादन गरेको गोलभेँडा स्थानीयस्तरका साथै पर्वत बेनी र जिल्ला सदरमुकाम बेनीमा खपत हुने गरेको छ, स्थानीय प्रविधिलाई प्रयोग गरेर गोलभेँडा उत्पादन गर्ने गरेको छु, गाइभैँसी र कुखुराको मल प्रयोग गरेको छु, रोग कीरा लागेमा गाईभैँसीको गहुत र तितेपातीको झोल प्रयोग गर्छु, विषादीको प्रयोग गरेको छैन', उनले भने।

कुमार पुर्जा कृषि तथा पशुपन्छी फार्म दर्ता गर्नुभएका पुर्जाले फार्म स्थापना गर्न अहिलेसम्म करिब छ लाख रुपैयाँ लगानी गरिसकेको जानकारी दिए।

श्रीमती, छोराबुहारीलगायत परिवार नवलपरासीमै रहे पनि पुर्जा भने जन्मथलो फर्किएर कृषि खेतीमा रमाउन र कमाउन थाले।

जीवनमा धेरै दुःख, कष्ट र हण्डर खेप्नुभएका पुर्जाले बाउबाजेको थातथलोमा पसिना बगाएर आत्मनिर्भर बन्ने सपना बुने। बिहानदेखि बेलुकीसम्म आफ्नै कृषि फार्ममा व्यस्त हुने पुर्जाले अन्य व्यक्तिहरूलाई समेत अस्थायी रूपमा रोजगारि दिएका छन्। गोलभेँडाखेतीसँगै पुर्जाले काफलडाँडामा परीक्षणको रूपमा स्याउखेती विस्तार गरेका छन्। 

करिब पाँच रोपनी जग्गामा कृषिखेती गर्दै आएका पुर्जाले ७० वटा स्याउका बिरुवा लगाएका छन्। यसअघि लगाएका बोटले फल दिएपछि व्यावसायिक रूपमा स्याउको खेती विस्तारमा जुटेको उनले बताए।

कृषिलाई व्यावसायिक र व्यवस्थित गर्न पुर्जाले कृषि फार्ममा थोपा सिँचाइको प्रबन्ध गरिएको छ। गत चैत महिनामा लगाएको गोलभेँडा फल्न थालिसकेको छ। तीनवटा टनेलमा पुर्जाले करिब एक हजार पाँच सय गोलभेँडाका बिरुवा लगाएका छन्। रासस 


प्रकाशित : आइतबार, असार २९ २०८२११:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend