शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

गाउँमै उदाहरणीय काम गरिरहेका कमल, ४० रोपनीमा फलाउँछन् गोलभेँडा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार २९ २०८२
गाउँमै उदाहरणीय काम गरिरहेका कमल, ४० रोपनीमा फलाउँछन् गोलभेँडा

हुन त कमलले विदेश जाने कुरा नसोचेका भने होइनन्। तर आकर्षक रोजगारीमा जान लगानी धेरै लाग्ने भएपछि कमलको मन गाउँमै अडियो।

पाँचथर- हिजोआज प्रायःजसो युवाहरू आकर्षक रोजगारीका लागि विदेशिन लालायीत हुन्छन्। तर पाँचथरको याङवरक गाउँपालिका-६ रमितेका कमल तिम्सिना विदेश जाने सपना त्यागेर गाउँमै गोलभेँडा फलाइरहेका छन्। गोलभेँडा उत्पादनबाट तिम्सिनाको परिवारले मनग्य आम्दानी पनि गर्दै आएको छ। 

तिम्सिनाको दैनिकी आजभोलि सदाभन्दा केही फरक छ। बारीमा लटरम्म पाकेका गोलभेँडा टिपेर बाटोसम्म पुर्याउन उनको परिवारलाई भ्याइनभ्याइ छ। बीस रोपनी क्षेत्रफलमा लगाइएको गोलभेँडाको एक टिपाइ नसकिँदै अर्को टिपाइको बेला भइसक्छ। 

'आजभोलि सधैँभन्दा धेरै काम गर्नुपर्छ। अरु बेलाचाहिँ काम त गर्नुपर्छ, तर धेरै र गाह्रो काम हुँदैन', तिम्सिनाले भने, 'गाउँघरमा कामले भने कहिल्यै छाड्दैन।'

तिम्सिना परिवारले याङवरक गाउँपालिका-६ रमिते र हिलिहाङ गाउँपालिका-१ फेदापामा करिब ४० रोपनी क्षेत्रफलमा खेती गर्ने गरेको छ। यो जमिन केही तिम्सिना परिवारको आफ्नै हो भने केही बन्दकीमा लिइएको हो। यहाँ गोलभेँडा, खुर्सानी, सुन्तलालगायत नगदेबाली लगाइएको छ। दुवैतर्फ घर छन्, जहाँ पशुपालन पनि छ।

'पाँच जनाको परिवारले सबै काम भ्याउँदै आएका छौँ', २७ वर्षका कमलले भने, 'सब्जीखेती र पशुपालनबाट हुने आम्दानीले हामी सन्तुष्ट छौँ।'

तिम्सिनाको परिवार ११ वर्षअघि ताप्लेजुङको चाक्सिबोटेबाट बसाइँ सरेर पाँचथर आएको थियो। मेची राजमार्ग नजिकै बसोबास गरेको तिम्सिना परिवारले व्यावसायिक रूपमा गोलभेँडाखेती गर्न थालेको १० वर्ष भयो।

एक टिपाइमा तिम्सिना परिवारले २० देखि ६० क्यारेटसम्म गोलभेँडा उत्पादन गर्ने गरेको छ। एक क्यारेटमा औसतमा २३ किलोग्राम गोलभेँडा हुन्छ। एकै बिरुवाबाट तीनदेखि सातपटकसम्म गोलभेँडा टिपाइ हुने गर्छ। 

अहिले व्यवसायीहरूले प्रतिकिलो २० रुपैयाँमा गोलभेँडा खरिद गरेर लगिरहेका छन्। तर १० वर्षको अवधिमा गोलभेँडाले कहिले प्रतिकिलो दुई रुपैयाँ ५० पैसा मूल्य पायो त कहिले ७० रुपैयाँसम्म। ती सबै अनुभव यो परिवारसँग छ।'

गोलभेँडालाई २० रुपैयाँ वा सोभन्दा बढी दाम (मूल्य) आयो भने घाटा लाग्दैन', तिम्सिनाले भने, '३० रुपैयाँभन्दा बढी मूल्यमा बिकेको समयमा राम्रो आम्दानी र बचत हुन्छ।'

गोलभेँडाको मूल्य बजारमा कहिले माथि हुन्छ भने कहिले निकै कम। तर कहिल्यै हिम्मत नहारी तिम्सिना परिवारले खेती गरिरहेको छ।

'मूल्य कम भए पनि हामीलाई ठीकै छ गोलभेँडाबाट, हामी सन्तुष्ट छौँ', कमलले भने। यस वर्ष तिम्सिना परिवारले आठ हजार खुर्सानी र छ हजार गोलभेँडाका बिरुवा लगाएको छ। खर्च कटाएर वार्षिक दुई लाखभन्दा बढी आम्दानी भइरहेको कमल सुनाउँछन्। 

यहाँ गोलभेँडा फागनु, चैत र भदौमा गरी दुईपटक लगाउने गरिएको छ। गोलभेँडामा सामान्य विषादी लगाउने गरिएको कृषक बताउँछन्। रोग कीराको अत्यधिक समस्या हुने भएकाले विषादी प्रयोग गर्ने गरिएको उनीहरूको भनाइ छ। 

उत्पादन भएको कृषि उपज सस्तो मूल्यमा भए पनि बिक्री भने भइरहेको छ। यहाँ गोलभेँडा, खुर्सानीलगायत कृषि उपज उत्पादन गर्ने किसानहरूले प्रायः एकै व्यवसायीलाई आफ्ना उत्पादन बिक्री गर्ने गर्छन्। जसकारण कम मूल्य भए पनि उत्पादित सामग्री उठ्ने गरेको छ।

हुन त कमलले विदेश जाने कुरा नसोचेका भने होइनन्। तर आकर्षक रोजगारीमा जान लगानी धेरै लाग्ने भएपछि कमलको मन गाउँमै अडियो।

'विदेश जानचाहिँ खोजेको हुँ। तर पछि मन लागेन। लगानी धेरै लाग्छ भनेपछि गाउँमै खेती गर्छु भनेर यतै बसेँ', कमलले भने, 'गाउँमा पनि आम्दानी ठिकै थियो, परिवारसँगै बसेर केही आम्दानी हुँदैछ भने किन विदेश जाने भन्ने लाग्यो।'

कमलकी आमा टीकादेवी तिम्सिना छोरो विदेश नगइ गाउँमै खेती गरिरहेकामा खुसी छिन्। 'विदेश गए पनि दुःख उत्तिकै गर्नुपर्छ होला भन्ने लाग्छ। विदेश जाँदा पैसाचाहिँ अलि बचत हुन्थ्यो होला', टीकादेवीले भनिन्, 'यहाँ जति आम्दानी भए पनि बचाउन मुस्किल पर्छ। तर घरमै बसेर पनि केही आम्दानी त भइरहेकै छ।' 

हुन त यो क्षेत्रका सबैले सब्जी खेती गर्दछन्। प्रत्येक घरले दुईदेखि तीन पिकअप गोलभेँडा उत्पादन गर्ने गरेको कमलका छिमेकी दिलबहादुर राईको भनाइ छ। किसानले राम्रो उत्पादन गरे पनि कृषि उपजले मूल्य नपाउँदा बेलाबखत आफूहरू निराश हुने गरेको राईको भनाइ छ। 

गत वर्ष एक सय ३० प्रतिकिलो बिक्री गरेको खुर्सानी अहिले प्रतिकिलो ३० रुपैयाँमा बिक्री भइरहेको किसानहरू बताउँछन्। खुर्सानी टिप्ने कामदारले एक दिनमा ४० किलो खुर्सानी टिप्छन्। कामदारलाई दैनिक पाँच सय रुपैयाँ ज्याला दिनुपर्छ।

'अहिले खुर्सानीले साँवा पनि नउठाउने स्थिति छ', कमलले भने, 'गोजीको पैसा लगाएर भए पनि बारीमा लगाएको खुर्सानी खेर जान दिनु भएन। बजारमा पठाउनु त पर्यो नै। अहिले किसानलाई गाह्रो छ।' रासस


प्रकाशित : आइतबार, असार २९ २०८२१०:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend