बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

मकै र कोदोबाली लगाउँदै आएको बारीमा केराखेती, राम्रो आम्दानी लिन्छन् किसान

शुक्रबार, असार २७ २०८२
मकै र कोदोबाली लगाउँदै आएको बारीमा केराखेती, राम्रो आम्दानी लिन्छन् किसान

विगतमा मकै, कोदो, सिल्टुमलगायत खाद्यान्न बाली लगाउँदै आएको बारीमा व्यावसायिक केराखेती गरेपछि आम्दानी राम्रो हुँदै गएको कृषकहरूको भनाइ छ।

वालिङ- स्याङ्जाको कालीगण्डकी गाउँपालिका-५ बाँस्टारीका अधिकांश कृषकले केराखेती गरेका छन्। बाँस्टारीका ३५ घरमध्ये अधिकांशले व्यावसायिक र केहीले घरायसी प्रयोजनका लागि बारीमा केरा लगाएका छन्।

बाँस्टारीमा विसं २०३६ आसपासमा स्थानीय प्रेमनारायण गौडेलले दुईवटा केराका उत्पादन सुरु गरेका थिए। पछि त्यसलाई विस्तार गरेर व्यावसायिक केराखेती थालेका हुन्।

यहाँ धेरैजसोले आफ्नै जग्गा जमिन वा जमिन भाडामा लिएर पनि केराखेती गरिरहेका छन्। कालीगण्डकी नदी किनारमा फैलिएको समथर फाँटमा अवस्थित बाँस्टारी माटो तथा हावापानीका दृष्टिले पनि केराखेतीका लागि उपयुक्त छ।

करिब ४५ वर्षअघि आफ्नो बुवाले लगाएको केराखेतीलाई पछिल्ला दिनमा विस्तार गर्दै व्यावसायिकरूपमा अगाडि बढाएको कृषक रविलाल गौडेलले बताए। उनले तीन रोपनी क्षेत्रफलमा व्यावसायिक केराखेती गरेका छन्।

गौडेलले हरिसाल र झापाली मालभोग जातका केराखेती गरेको बताए। गत वर्ष कालीगण्डकी गाउँपालिकाले व्यावसायिक केराखेतीमा जोड दिँदै केराका बेर्ना तथा अन्य सहयोग गरेको पछि आफूलाई थप हौसला मिलेको उनको भनाइ छ।

'अन्य बालीबाट भन्दा केराखेतीबाट राम्रो आम्दानी लिन सफल भएका हौँ। बिरुवा लगाएको करिब १५ महिनामा उत्पादन लिन सकिन्छ, हाल केरा बिक्रीबाट वार्षिक एक लाख रूपैयाँ आम्दानी भइरहेको छ। आगामी दिनमा पाँच लाखसम्म आम्दानी लिन सकिन्छ भनेर व्यवस्थापनमा लागिरहेको छु', कृषक गौडेलले भने।

बाँस्टारीकै चन्द्रकान्त न्यौपानेले व्यावसायिक केराखेती गर्न थालेका १३ वर्ष भयो। उनले हाल नौ रोपनी क्षेत्रफलमा झापाली मालभोग जातको केरा लगाएका छन्। तीन रोपनी आफ्नो र ६ रोपनी जग्गा भाडामा लिएर केराखेती गरिरहेको र यसबाट वार्षिक दुई लाख रूपैयाँ गरिरहेको उनले बताए।

'यहाँ केरा उत्पादन गर्न सके बजारको कुनै समस्या छैन। केरा खरिदका लागि व्यापारी केराबारीमै आउँछन्। हाल व्यापारीलाई प्रतिदर्जन ७०/८० रूपैयाँका दरले बिक्री गरिरहेको छु', न्यौपानेले भने।

विगतमा मकै, कोदो, सिल्टुमलगायत खाद्यान्न बाली लगाउँदै आएको बारीमा व्यावसायिक केराखेती गरेपछि आम्दानी राम्रो हुँदै गएको कृषकहरूको भनाइ छ। यहाँ धेरैजसोले केराखेती गरेका छन्, तर बेलाबेला गबारो, कोसामा कालाकाला थोप्लाहरु देखिने तथा गुबोमा असिना लागेर उत्पादनमा कमी आउने गरेको छ।

बाँस्टारीमा सबैगरी करिब १५० रोपनी क्षेत्रफलमा व्यावसायिकरुपमा केराखेती भइरहेको छ। रासस


प्रकाशित : शुक्रबार, असार २७ २०८२१४:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend