सिराहा- सिराहाको धनगढीमाई नगरपालिका-१३ भरनैनी बस्तीका करिब १५० घर परिवारले खानपानीको चरक संकट भोगेको लामो समय भयो। तीनवटै तहका सरकारको उपस्थितिपछि पनि पानीको समस्याले दीर्घकालीन समाधानको बाटो पाउन सकेको छैन।
वर्षौँदेखि जनप्रतिनिधिका चुनावी आश्वासनमा अल्झिएका बासिन्दा आजसम्म पनि एक जार पानीका लागि घण्टौँ लाइन बस्न बाध्य छन्। केही समयअघि नगरपालिकाले दुईवटा ठूला बोरिङ जडान गरिएको भए पनि पानीको मात्रा अत्यन्त न्यून भएपछि समस्या जस्ताको त्यस्तै छ।
स्थानीयहरु बिहानदेखि बेलुकासम्म पानीको जोहो गर्न संघर्षरत छन्। स्थानीय लक्ष्मीनियाँ देवीराम भन्छिन्, 'घाममा घण्टौँ लाइन बस्नुपर्छ, दुई-तीन घण्टापछि बल्ल पालो आउँछ। एक जार पानीबाट खान पकाउने, कपडा धुने र गाईबस्तुलाई खुवाउने सबै काम गर्नुपर्छ, कतिपय त खाली हातै फर्किनुपर्छ।'
त्यस्तै, स्थानीय देवकी मोचीले भनिन्, 'पहिले यही ट्यांकीबाट पानी आउँथ्यो, तर अहिले १० दिन भयो, पानीको मात्रा घटेर गयो। थोरैथोरै आउने पानीका लागि घण्टौँ कुर्नुपर्छ।'
त्यसैगरी, गहनी देवीराम र रधिया रामको गुनासो अझै गहिरो छ। उनीहरुको भनाइ छ- 'बिहानदेखि बेलुकासम्म पानीकै चिन्तामा बित्छ। एक बाल्टिन पानी भर्न घण्टौँ लाइन बस्नुपर्छ। नेताहरू चुनाव आउँदा बोरिङ दिन्छु भन्छन्, तर जितेपछि फर्केर कोही हेर्दैनन्।'
धनगढीमाई-१३ का वडाध्यक्ष सूर्यमान तामाङले खानेपानी ट्यांकी निर्माण भइसकेको र अहिले पाइपलाइन विस्तारको काम बाँकी रहेको बताए। उनले भने, 'स्थायी समाधानका लागि तयारी भइरहेको छ, चाँडै समाधान गर्छौँ।'
यस्तो पीडादायी पृष्ठभूमिमा केही दिनअघि संघीय खानेपानीमन्त्री प्रदीपकुमार यादवले यही वडामा ‘डाबर खानेपानी योजना’ उद्घाटन गरेका थिए। उद्घाटन समारोहले केही आशा दिलाए पनि बासिन्दाले अझै पानीको धारामा सुक्खा नै महसुस गरिरहेका छन्।
धनगढीमाईका नगरप्रमुख शिवशंकर महतोले भरनैनी बस्तीको दीर्घकालीन खानेपानी संकटबारे भने, 'हामी बस्तीको समस्याप्रति पूर्ण जानकार छौँ। नगरपालिकाले ट्यांकी निर्माण गरिसकेको छ र अब पाइपलाइन विस्तार तथा पानीको स्रोत सुदृढीकरणमा जोड दिइरहेका छौँ।'
उनले थपे, 'पानी प्रत्येक नागरिकको मौलिक अधिकार हो। समस्या दीर्घकालीन भएको स्वीकार छौँ, तर हालको व्यवस्थापन र योजना कार्यान्वयनले स्थायी समाधान ल्याउनेछ। संघीय र प्रदेश सरकारसँग पनि समन्वय भइरहेको छ।' रासस