शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बंगुरका पाठापाठी बेचेर वार्षिक १२ लाख आम्दानी

बिहीबार , असार २६ २०८२
बंगुरका पाठापाठी बेचेर वार्षिक १२ लाख आम्दानी

उनको फार्ममा हाल भालेपोथी गरेर २७ वटा बंगुर छन्। उनको फार्मबाट वार्षिक ३० लाख रूपैयाँबराबरको बंगुरका पाठापाठी बिक्री हुन्छ।

कैलाली- यहाँको धनगढी उपमहानगरपालिका-११ बाँसखेडाका परशुनारायण चौधरीले विगत १४ वर्षदेखि व्यावसायिक बंगुरपालन गर्दै आएका छन्। चौधरीको फार्ममा हाल भालेपोथी गरेर २७ वटा बंगुर छन्। उनको फार्मबाट वार्षिक ३० लाख रूपैयाँबराबरको बंगुरका पाठापाठी बिक्री हुन्छ।

खर्च कटाएर औसतमा वार्षिक १२ लाख रूपैयाँ आम्दानी हुने गरेको उनले जानकारी दिए। व्यवसाय फस्टाउँदै गएपछि आम्दानी पनि राम्रै हुन थालेको उनले बताए। बंगुरको पाठापाठी हुर्काएर बिक्री गर्ने उमेर पुग्न करिब एक महिना लाग्छ। एउटा पाठा वा पाठी ६ हजार रूपैयाँमा बिक्री गर्ने गरेका हुन्।

बंगुरपालनबाट गरेको कमाइले उनले गाउँमा इँटाभट्टा र मसला उद्योग सञ्चालन गरेको बताए। 'बंगुरपालन राम्रै फापेको छ', उनले भने, 'यो व्यवसायको कारोबार बढ्दै गयो र फाइदा हुँदै गयो, अहिले गाउँमा सानो इँटाभट्टा र मसला उद्योग सञ्चालन गरेको छु, जसबाट घर परिवारका सदस्यले काम पाए।'

चौधरीले धनगढीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट यसैवर्ष ९० हजार रूपैयाँ अनुदान प्राप्त गरेको छ। अनुदान रकमले व्यवसाय गर्न अझै सहज भएको उनले बताए। उनी सफल कृषकका रुपमा समेत पुरस्कृत भइसकेका छन्।

सुरुका वर्षमा मासु बिक्री गरेका उनले मासुका लागि बजार नपाएपछि पाठापाठी बिक्री गर्न थालेको बताए। किसानलाई व्यवसाय सहजताका लागि सरकारी तवरबाट कोल्डस्टोर, बधशाला स्थापना गरिदिए अझै सहज हुने उनको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , असार २६ २०८२१२:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend