शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

मध्यपहाडी राजमार्गले कसरी बदल्दै छ गाउँलाई? 

images
बिहीबार , फागुन ५ २०७८
images
मध्यपहाडी राजमार्गले कसरी बदल्दै छ गाउँलाई? 

गण्डकीका सबै जिल्ला निर्माणाधीन राजमार्गको पश्चिम खण्डमा पर्छन् । राजमार्गलाई मूल मार्ग बनाएर यहाँका छ स्थानीय तहमा कयौंँ स्थानीय सडक बनेका छन् ।   

images
images

बलेवा- गलकोटमा पुरानो हरिचौर बजार छाडेर हटियामा बस्ती विस्तारको लहर चलेको छ । पञ्चायत कालको जिल्ला सदरमुकामसमेत रहेको हरिचौर बजार सडक विस्तारसँगै हटियामा स्थानान्तरण हुँदैछ । व्यवसाय गर्नका लागि सहज वातावरण हुने र अन्य सुविधासमेत हटियामा रहेकाले सर्वसाधारण हटियामा बस्न रुचाउँछन् । गलकोटकै मनेवामा माछाको व्यापार छ । कालोपत्र सडकमा हुइँकिँदै माछाको स्वाद लिनका लागि मात्रै भए पनि सदरमुकामबाट मनेवा पुग्नेहरू पनि छन् । बडिगाड गाउँपालिकामा पर्ने ग्वालीचौरको खार बजार विस्तार, रिसोर्ट र रेस्टुराँहरूको प्रतिस्पर्धा, निसीखोला गाउँपालिकामा झिँवाखोलाको व्यापार, पर्यटकीय क्षेत्र पातिहाल्नेमा पुग्ने सवारी साधनको भरिभराउ संयोग मात्रै होइन । बरु पुष्पलाल (मध्यपहाडी) राजमार्गको साधारण मार्ग खुलेपछि पूर्वी बागलुङदेखि पश्चिम बागलुङसम्म फेरिएको पछिल्लो अवस्था हो ।
    
बुर्तिबाङ बजार त सङ्घीय सरकारले मध्यपहाडी लोकमार्गमा पर्ने १०  सहरलाई नमूना बनाउँदा प्राथमिकता परेको मध्येको एक हो । मध्यपहाडी राजमार्गकै कारण बुर्तिबाङ बजार नमूना सहर आयोजना सञ्चालनमा छ । केही काम भएका छन्, केही समीक्षा गर्नुपर्ने विषय बनेका छन् । बागलुङ र रुकुमको सिमाना पातिहाल्नेमा दैनिक सयौँ पर्यटक पुग्छन् । रुकुम हुँदै बागलुङ र बागलुङ हुँदै रुकुम घुम्न पुग्ने पर्यटकका लागि पातिहाल्ने बिसौनी बनेको छ । मध्यपहाडी सुरु हुनुपूर्व पातिहाल्ने ठाउँको नाम सुन्नेहरू नै कम थिए । अहिले धेरैले चिनिसकेका छन् । पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजारमा सदरमुकाम भन्दा कम चहलपहल छैन । त्यहाँको व्यापार व्यवसाय र आवासीय भवनको विकासले सदरमुकाम बागलुङ बजारलाई जिस्काइरहेको छ ।

images
images
images

मध्यपहाडी राजमार्गबाट १० किलोमिटरका यात्रामा तमान खोला गाउँपालिकाको मुकाम बोंगादोभान पुग्न सकिन्छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उक्त खण्डको साढे नौ किमि सडक स्तरोन्नति गरिदिएकाले गाउँपालिकालाई मुकाम पुग्ने सडक बनाउँदा लाग्ने खर्च गाउँटोलमा पुग्ने सडकमा लगानी गर्न सहज भएको छ । 'मध्यपहाडीले हामीलाई हरेक हिसाबले सघाएको छ, चार –पाँच दिन लगाएर बागलुङ बजार पुग्ने तमानका सर्वसाधारण अहिले पाँच/छ घण्टामा बजार पुग्छन्',  गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भभने। 

images
images

काठेखोला गाउँपालिकामा पर्ने घोडाबाँधेको चिसो मौसम, हिमशृङ्खलाको काख, अछेते बजारले फेरेको मुहार र बागलुङ बजारको उपल्लाचौर क्षेत्रमा भइरहेको बस्ती विस्तार राजमार्गले ल्याएको उछाल हो । काठेखोला खण्ड अधिकांश ठाउँमा सडककै छेउमा ससाना पसल राखेर जीविका चलाउनेहरू पनि छन् । बिहुँमा उत्पादन हुने दूध र सुन्तलाको बजारीकरणमा पनि सडकले सहजता थपेको छ । बागलुङ र रुकुमको सिमानामा पर्ने पातिहाल्ने कुनै बेला गाईगोठ र भेंडीगोठमा मात्रै सीमित थियो । गोठाला मात्रै पुग्ने पातिहाल्ने अहिले आन्तरिक पर्यटकको रोजाइ बनेको छ ।

images
images

बागलुङ बजार छाडेर बुर्तिबाङ बजार पुग्ने जो कोहीको पहिलो रोजाइ ढोरपाटन शिकार आरक्ष हुँदा पातिहाल्नेले दोस्रो ठाउँ ओगटेको छ । निसीखोलाको भल्कोटमा सडकको त के कुरा, राष्ट्रिय गौरवको अर्को आयोजना ढोरपाटन– सालझण्डी सडकको पहुँच विस्तार गर्नमा पनि सो राजमार्गले सघाउँछ । ढोरपाटनमा सिकारका लागि पुग्ने पर्यटकले हवाई यात्रा गर्छन् तर पैदल घुम्न जानेहरूको मुख्य मार्ग यही हो । राजमार्ग खुल्नुपूर्व मोबाइलमा नेटवर्कको समेत समस्या थियो । न गाउँमा कोही पुग्थे न त त्यहाँका गाउँले सहज हिसाबले सदरमुकाम र जिल्लाका अन्य ठाउँमा पुग्न सक्थे । 

 राजमार्गको विस्तारसँगै बागलुङको कर्णाली ‘पश्चिम बागलुङ’ले परिचय फेरेको छ । निसीखोला गाउँपालिकाको सिपमा अहिले व्यापारी छन् । कुनै समय जिल्लाकै दुर्गम गाउँका नामले चिनिएका सिप, निसी जस्ता गाउँ अहिले सहज सडक सञ्जालले जिल्लाका सुगम ठाउँसँग जोडिएका छन् । 'बटौलीको नुन घरमै आउँछ, भात खाने चामल खोज्न कयौंँ दिन लगाएर हिँडिन्थ्यो, अहिले त सुख छ' निसीखोला–६ सिपका मनबहादुर बुढाले भने 'बटौली पुगेर गाडी देखेको मैले अहिले दैलोमा गाडी गुडेको देख्छु।' सडकले स्थानीयवासीलाई सहज बनाएको मात्रै छैन, सदरमुकाममा हुने कामका लागि पुग्दा लाग्ने खर्चमा पनि कटौती भएको छ। 

काम सुरु भएको दश वर्ष अर्थात् विसं २०८१ सम्ममा पूरै निर्माण सम्पन्न गर्ने लक्ष्य भएको पुष्पलाल राजमार्गले बागलुङ मात्रै नभई गण्डकीका पर्वत, कास्की र गोरखा जिल्लाको मुहार फेर्न ठूलो भूमिका खेलेको छ । गोरखामा आरुघाट–ओखले १३ किमि सडकखण्ड बनेको छ । गोरखाखण्डको केही भाग कालोपत्रेसमेत भएको आयोजनाले जनाएको छ । त्यसभन्दा पश्चिमको ४० किमि खण्डमा पनि काम भइरहेको छ । सडकले ससाना गाउँ र बजार क्षेत्रको विकास लहर ल्याएको छ । सो सडकको ८२ किमि खण्ड कास्कीमा पर्छ । करपुटार, थुम्की, वेगनास, तल्लो हेम्जा, लुम्ले, काँडेको पर्यटन र आर्थिक विकासमा मध्यपहाडी राजमार्गको भूमिका रहेको स्थानीयवासी बताउँछन् । पर्वतमा डिमुवादेखि कुश्मा र मालढुङ्गासम्मको २५ किमी भूभाग पर्छ । स्थानीय शाखा सडक बनाउन र त्यसकै माध्यमबाट जनजीविका चलाउन सहज भएको छ । एकै ठाउँमा जोडिएका कुश्माको शिवालय चोकका घरहरूले मूलद्वारअघि फराकिलो सडक पाएका छन् । 

आर्थिक वर्ष २०६४/६५ मा सुरु भएको राजमार्ग गण्डकी प्रदेशमा भने २०६८/६९ देखि मात्रै काम सुरु भएको हो । पाँच वर्षमा साधारण मार्ग खोलेर कालोपत्रे थाल्ने भनिएको सडकको स्तरोन्नतिको काममा भने ढिलाइ भइरहेको छ । राष्ट्रिय योजना आयोगले २०७१ मा गरेको एक सर्वेक्षणमा आयोजना सम्पन्न भएको १० वर्षभित्र रोजगारीमा २० प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । गरिबी पश्चिम पहाडमा २८.०१ बाट १८ प्रतिशत र सुदूर पश्चिमको पहाडमा ३६.८३ बाट २५.५ मा झार्ने लक्ष्य छ । गण्डकीका सबै जिल्ला निर्माणाधीन राजमार्गको पश्चिम खण्डमा पर्छन् । राजमार्गलाई मूल मार्ग बनाएर यहाँका छ स्थानीय तहमा कयौंँ स्थानीय सडक बनेका छन् । रासस

 


प्रकाशित : बिहीबार , फागुन ५ २०७८०९:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend