शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

पर्याप्त वर्षा नहुँदा महोत्तरीका किसानले रोप्न पाएनन् धान, भन्छन् - 'खेतमा पानी भए न असार लाग्ने हो, न पानी छ न असारको काम'

आइतबार, असार २२ २०८२
पर्याप्त वर्षा नहुँदा महोत्तरीका किसानले रोप्न पाएनन् धान, भन्छन् - 'खेतमा पानी भए न असार लाग्ने हो, न पानी छ न असारको काम'

महोत्तरीमा करिब ७१ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ४५ हजार हेक्टरमा धानखेती लगाउने गरिएको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालय जलेश्वरले जनाएको छ।

महोत्तरी- समयमा वर्षा नभएपछि मुख्यबाली धान लगाउन नपाएको भन्दै यहाँका किसानले चिन्ता व्यक्त गरेका छन्। असार तेस्रो साता लागिसक्दा पनि पानी नपरेपछि आकासे पानीको भरमा खेती गर्ने किसान चिन्तित बनेका हुन्।

'आव बुझाइय, धान रोप नई पायब, अखाड सेहो २२ भगेल, आव भरोसा टुइटगेल' (अब धान रोप्न पाइन्न क्या र! असार पनि २२ भइसक्यो, अब आश टुट्यो) आकाशतिर फर्कँदै भङ्गाहा-४ थारुटोलकी रामसुनरदेवी चौधरीले भनिन्, 'इ कोन समय आयल, किछ नई बुझाइय'(यो कस्तो समय आयो, केही बुझ्न सकिएन।)

धान लगाउन नपाएपछि यहाँका अधिकांशको एउटै चिन्ता छ, ‘अबको गुजारा कसरी चलाउने होला?’ मुलुकका कतिपय भेगमा मध्य असारअघि रोपाइँ सकिएको खबर सुन्दा यहाँका किसान भने यो वर्ष रोपाइँ गर्न पाइन्छ वा पाइँदैन भन्नेमा चिन्तित छन्।

'सुनैछी कतेको जग रोपनी भगेल, मुदा अपन त एको गब नई लागल (सुन्छौँ, कैयन ठाउँमा रोपाइँ भइसक्यो, तर आफूले त एक गब पनि रोप्न पाइएको छैन) भङ्गाहा-४ टोकाहाका राजकुमार दासले भने, 'बारिसको कोनो लक्षणकरम नई दिखाइय (पानी पर्ने त कुनै लक्षण नै देखिँदैन।)'

लामो खडेरीले ब्याडको बीउ पनि पहेँलिएर सुक्दै गएपछि आफूहरूलाई अब पर्ने पानीले पनि राहत दिने अवस्था नरहेको किसान बताउँछन्। 'अब पानी परिहाले पनि बीउ अपूग हुन्छ, पहेँलिएको बीउ बौरिन समय लाग्छ', बर्दिबास-९ पशुपतिनगरका रामचन्द्र थापा मगरले भने, 'यो खेतीपाती भनेकै दुख्याहा कर्म रहेछ।'

धान रोप्न नपाएपछि किसानलाई असारमास चलिरहेको भन्न पनि मन छैन। 'असार मासलाई घरमा मरेको मान्छेको शव छोपछाप गरेर रोपाइँमा निस्कने बेला भन्ने स्थापित भनाइ छ, तर हामी त आकाश ताकेर बसेका छौँ', बर्दिबास-६ कृष्णपुरका बलराम कार्कीले भने, 'खेतमा पानी भए न असार लाग्ने हो, न पानी छ, न असारको काम।' असार पनि घर्किँनै लाग्दासम्म रोपाइँको कुनै छाँट नदेखिएपछि के गर्ने भन्ने सोच्न नसकिएको उनले बताए।

पानी नपरेर समयमा खेती लगाउन नपाएको चिन्ताले अहिले यहाँका किसान दोधारमा छन्। असार २२ सम्म पानी नपर्दा यहाँका किसानले धानको गबो सम्म लगाउन पाएका छैनन्। 'पानी पर्न सकेन, धानको गबो लाउन नि पाइएको छैन', बर्दिबास-९ पशुपतिनगरका महेन्द्र महतोले भने, 'यसपाली परिवारको जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता छ।'

महोत्तरीसहित मधेसमा सामान्यतया जेठ २२ (जेठ तेस्रो साता) भित्र ब्याड राखीसक्ने, असार तेस्रो साताभित्र शाही रोप (बीउ रोप) सक्ने र साउन तेस्रो साताभित्र खरुअन (कलम, पहिलेको बीउ रोपो गाँजिएपछि त्यो उखेलेर रोपिने) धानबाली लगाउने तालिका रहँदै आएको छ। यसपाली अधिकांशले लाग्दो असारको छिटफुटे वर्षामा बीउ राखेका हुन्।

महोत्तरीमा करिब ७१ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ४५ हजार हेक्टरमा धानखेती लगाउने गरिएको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालय जलेश्वरले जनाएको छ।

'यसपाली पानी नपरेकाले सिँचाइ अभावले समयमा धानको ब्याड राख्न नसकेपछि अहिलेसम्म रोपाइँ भएको छैन', कार्यालय प्रमुख एवं वरिष्ठ कृषि अधिकृत देवानन्द यादवले भने, 'यसपाली धान रोपाइँ पछि पर्ने छाँट छ।' मुस्किलले जिल्लामा पूग/नपूग तीन-चार प्रतिशतमात्र रोपाइँ भएको उनले जानकारी दिए।

'जिल्लाको कुल खेतीयोग्य जग्गामध्ये १० प्रतिशत मात्र कुलोको पानी लाग्नेगरी सिञ्चित छ। यसपालि लामो खडेरीले कुलो चल्ने पानीका स्रोतका मुहान सुकेका छन्। राम्ररी पानी नपरेसम्म मुहान नरसाउने हुँदा यस्ता जग्गामा पनि रोपाइँ हुन सकेको छैन', यादवले भने।

तीनै तहका सरकारका नीति तथा कार्यक्रम र बजेटमा कृषिको चर्चा भए पनि उपलब्धिमूलक रूपमा कार्यान्वयन नभएको किसानको गुनासो छ। वास्तविक किसानले पाउने सहुलियत वास्तविक किसानसम्म नपुगेपछि निराशा बढेको भङ्गाहा-६ का राजकिशोर यादवले बताए।

सही समयमा पानी नपर्नुका प्राकृतिक कारण भए पनि अधिकांश मानव सिर्जित रहेका वातावरण तथा चुरे विज्ञ डा विजयकुमार सिंहले बताए। 'धेरै असर विश्वव्यापी जलवायु परिवर्तनको हो। अनि स्थानीय कारणमा चुरे पहाड र नदीक्षेत्रमा अनियन्त्रित उत्खनन बढ्नु, वन मासिँदै जानुले सन्तुलित वर्षा हुन छाडेको छ', उनले भने। रासस


प्रकाशित : आइतबार, असार २२ २०८२१५:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend