सोमबार, साउन ४ गते २०८३    
सोमबार, साउन ४ २०८३

सिलायन सेभेनको कागजात अध्ययन भइरहँदा सरकारलाई दबाब दिन चिनियाँ दूतावासलाई पत्र

नाडा राजस्व समिति सभापतिले आफ्नो कम्पनीको लाभका लागि मागिन् ‘कुटनीतिक गुहार’

शुक्रबार, असार २० २०८२
सिलायन सेभेनको कागजात अध्ययन भइरहँदा सरकारलाई दबाब दिन चिनियाँ दूतावासलाई पत्र

भन्सार विभाग र यातायात व्यवस्था विभागले रसुवा र तातोपानी भन्सार नाका हुँदै आएका ईभीमा भएको मोटर पावरमा शंका मानेर विभागले आयात अनुमतिमा कडाइ गरेकाले त्यसमा सहजीकरण गरिदिन चिनियाँ दूतावासलाई भनिएको छ।

काठमाडौं- नयाँ विद्युतीय कार सिलायन सेभेन आयात गर्ने क्रममा रहेको बीवाईडीको नेपालका लागि आधिकरिक बिक्रेता साइमेक्स इंक प्रालिसँग यातायात व्यवस्था विभागले थप केही कागजात आवश्यक देखिएकाले माग गरेको छ। 

कुनै पनि सवारी आयातकर्ताले आयातको अनुमति माग गरेको १५ दिनभित्रमा निर्णय दिनुपर्ने व्यवस्था रहेको छ। साइमेक्सले बीवाईडीको सिलायन सेभेन आयातको अनुमति मागेर विभागमा निवेदन दिएको ७ दिनमात्र भएको छ।

विद्युतीय कारको मोटर पावर घटाएको आशंकामा महालेखाले बेरुजु देखाएसँगै सरकारी निकायहरू यसतर्फ चनाखो भएर हेर्न थालेका हुन्। 

यही क्रममा साइमेक्सले पेस गरेको कागजातमा सिलायन सेभेनको मोटर पावरबारे बुझ्न विभागले चीनको टेस्टिङ एजेन्सीमा इमेल गरेको छ। उक्त इमेलको पर्खाइमा यातायात व्यवस्था विभाग रहेको छ।

त्यस्तै विभागले मेकानिकल उपकरण गाडीमा सिम कार्ड आयात भएको विषयमा समेत साइमेक्स इंकलाई प्रश्न गरेको छ, जसको जवाफ कम्पनीले दिइसकेको छैन। 

यसरी नियामक निकायले प्रक्रियागत रुपमा काम गरिरहेको अवस्थामा बीवाईडी बिक्रेता साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालमार्फत चिनियाँ दूतावासमा 'गुहार मागेकी' छिन्।

नाडाको रावस्व समिति सभापतिसमेत रहेकी श्रेष्ठले आज शुक्रबार नै चिनियाँ दूतावासको आर्थिक तथा वाणिज्य शाखालाई पत्र लेख्दै सबै कागजात पेस गर्दा पनि चीनबाट आयात हुने 'न्यू इनर्जी भेहिकल'को आयातमा अनावश्यक कडाइ गरेको बताएकी छिन्। 

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको लेटर हेड प्रयोग गरी साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नाडाको राजस्व समिति सभापतिको रुपमा पत्र लेखेकी छिन्। पत्रमा भन्सार विभाग र यातायात व्यवस्था विभागले रसुवा र तातोपानी भन्सार नाका हुँदै आएका ईभीमा भएको मोटर पावरमा शंका मानेर विभागले आयात अनुमतिमा कडाइ गरेकाले त्यसमा सहजीकरण गरिदिन चिनियाँ दूतावासलाई भनिएको छ। 

चिनियाँ दूतावासलाई पठाउन तयार पारिएको सुरुको पत्रमा महालेखाको ६२औँ प्रतिवेदनमा विद्युतीय कारको मोटर पावर कम गराएर ल्याउँदा छुटेको रकम बेरुजुमा आएको उल्लेख थिएन। उक्त पत्रलाई पनि संशोधन गरेर बनाइएको नयाँ पत्रमा रसुवा भन्सारबाट आएको ईभीमा २ अर्ब ७४ करोड र तातोपानी भन्सारबाट १ अर्ब ३ करोड गरेर कुल ३ अर्ब ७७ करोड रुपैयाँ महालेखाले असुल्न भनेको कुरासमेत उल्लेख गरिएको छ।

आयात गर्दाकै बखत उत्पादक तथा टेस्टिङ एजेन्सीले दिएको कागजातकै आधारमा जाँचपास भएर अहिले बेरुजी देखाइएको गुनासो गर्दै नाडा राजस्व समिति सभापति श्रेष्ठले चिनियाँ दूतावासँग 'गुहार मागेकी' छिन्। 

देशको संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालयले गरेका काममा चित्त नबुझे यहीँभित्रबाट समाधान निकाल्नुको सट्टा सिंगो अटोमोबाइल व्यवसायीको संस्था नाडाको राजस्व समिति सभापतिले आफ्नो एउटा कार आयातको प्रक्रिया पूरा भइनसक्दै अर्को देशको दूतावासलाई गुहार माग्नु गम्भीर विषय हो।

‘यसरी हरेक कम्पनीले एउटा-एउटा मोडलको गाडी आयात गर्दा प्रक्रिया नै पूरा नगरी दूतावाससँग गुहार मागेर गाडी आयात गर्ने प्रवृत्तिको विकास भएमा देश र अटोमोबाइल क्षेत्रको हालत के होला?’ एक अटोमोबाइल व्यवसायीले प्रश्न गरे। 

साइमेक्सले बिक्री गर्ने प्रयोजनका लागि नेपालमा बीवाईडीको सिलायन सेभेन कार शुक्रबार नै सार्वजनिक गर्ने तयारी थियो। कागजात जुटाउने क्रममै रहेको साइमेक्सले ‘चोर बाटो’ प्रयोग गरेर धरौटीमा ५ वटा सिलायन सेभेन मंगलबार ल्याएको हो।

पूरा कागजात नआइपुगेर आयात अनुमति नपाउँदा अप्ठ्यारोमा परेकी साइमेक्सकी प्रबन्ध निर्देशक श्रेष्ठले हिजो बिहीबार नै हतार-हतार नाडाको राजस्व समितिको बैठक बोलाएकी थिइन्। 

उक्त बैठकमा आयातको विषयमा भएको के हो र यसलाई सहजीकरण कसरी गर्न सकिन्छ भन्नेबारेमा अर्थ मन्त्रालय, भन्सार विभाग तथा यातायात व्यवस्था विभागलाई भन्ने छलफल भएको थियो। यी निकायलाई पत्राचार गर्ने कुरामा सबैको राय एकै थियो। तर सभापति श्रेष्ठले यसमा चिनियाँ दूतावासलाई पनि पत्र पठाउनु पर्ने बताइन्। उनको यो रायमा भने कोही पनि सदस्यले सहमति जनाएनन्। 

नाडाको राजस्व समिति सभापति त्यतिबेला बोलिन जतिबेला उनको आफ्नै कम्पनीले आयात गर्न लागेको सिलायन सेभेनको कागजात अध्ययन भइरहेको थियो। तर यसअघि एलआरआरले ल्याएको एक सय किलोवाट मोटर भएको जीली ग्यालेक्सी एस-फाइभ र भारतबाट आयात हुन लागेको महिन्द्राको बीईसिक्स र एक्सईभी नाइनईको एक सय किलोवाट मोटर भएको कारको थप कागजात माग गर्दा नाडाको राजस्व समिति केही बोलेको थिएन। 

'सवारी आयात गर्ने देशको आफ्नै कानून छ, नियामक निकायहरूले सहजीकरण गर्ने र व्यावसायिक वातावरण बनाउन सहयोग गर्ने बताइरहेको अवस्थामा अहिले नै दूतावासलाई पत्राचार गरेर सामान्य विषयमा कुटनीतिक निकायलाई मिसाउन नहुने सबैको राय थियो,’ छलफलमा सहभागी एक सदस्यले भने, ‘सभापतिको हठका कारण दूतावासलाई पनि पत्र गयो भन्ने सुनेँ। यसले के प्रष्ट पार्छ भने उनी नाडाको राजस्व समिति सभापतिभन्दा बढी साइमेक्स इंककी प्रबन्ध निर्देशक बनेर चिनियाँ गाडी बेच्न नदिएको गलत विषय देखाउन तम्सिइन्। यो सोचेभन्दा बढी गम्भीर कुरा हो।’ 

नाडाको राजस्व समितिले चिनियाँ दूतावास गुहारेको विषयको दूरगामी महत्त्व छ। कानूनले दिएको अध्ययन समय नै नसकिँदै हतार-हतार कुटनीतिक दबाब दिनतिर लाग्दा सबैका लागि घातक हुन सक्छ। 

साइमेक्सले ‘चोर बाटो’बाट ल्यायो बीवाईडी सिलायन सेभेन साइमेक्सले ‘चोर बाटो’बाट ल्यायो बीवाईडी सिलायन सेभेन

बीवाईडी बेच्ने साइमेक्स इंकले किन ल्यायो सिम कार्ड? एउटै सिम कार्डको मूल्य ५८ हजार ५ सय ८७ रुपैयाँ बीवाईडी बेच्ने साइमेक्स इंकले किन ल्यायो सिम कार्ड? एउटै सिम कार्डको मूल्य ५८ हजार ५ सय ८७ रुपैयाँ

बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्।


प्रकाशित : शुक्रबार, असार २० २०८२१७:१०
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend