बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

देशभर मनसुनी सक्रियता, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

बिहीबार , असार १९ २०८२
देशभर मनसुनी सक्रियता, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहनुले मौसम प्रणालीलाई सक्रिय बनाएको हो।

काठमाडौं-  हाल देशभर मनसुनी वायुको सक्रियता कायम रहँदा विभिन्न प्रदेशमा हल्का देखि भारी वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहनुले मौसम प्रणालीलाई सक्रिय बनाएको हो।

बिहीबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको महाशाखाले जनाएको छ। दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा सामान्यतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहने छ।

दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा अन्य केही क्षेत्रमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने चेतावनी महाशाखाले दिएको छ।

त्यस्तै, देशका उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा वा हिमपात हुने पूर्वानुमान गरिएको छ।

बिहीबार राति पनि देशभर साधारणतया बदली रहनेछ। रातिको समयमा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा अन्य क्षेत्रका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा राति भारी देखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना औंल्याएको छ। त्यस्तै, राति पनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का देखि मध्यम वर्षा वा हिमपात हुन सक्नेछ।

महाशाखाले वर्षाका कारण बाढी, पहिरो तथा सडक आवागमनमा अवरोध जस्ता जोखिमहरू बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ।


प्रकाशित : बिहीबार , असार १९ २०८२०६:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend