बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

धार्मिक पर्यटकीय क्षेत्र घुमारी घाट, पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड

बुधबार, असार १८ २०८२
धार्मिक पर्यटकीय क्षेत्र घुमारी घाट, पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड

कालीगण्डकी नदीले शङ्ख आकारको घाट बनाएको यो स्थानलाई कृष्णसँग जोडिएको धार्मिक कथाले भरिएको छ।

त्रिवेणी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पर्ने धार्मिक पर्यटकीय क्षेत्र घुमारी घाट ओझेलमा परेको छ। जिल्लाको बुलिङटार गाउँपालिका-६ मा रहेको धार्मिक पर्यटकीय क्षेत्र घुमारी घाटमा पूर्वाधार विकाससहित प्रचारप्रसार नहुँदा ओझेलमा परेको हो।

कालिगण्डकी करिडोरसँगै जोडिएको घुमारी घाट प्राकृतिकरूपमा मनमोहक रहेको छ। कालीगण्डकी नदीले शङ्ख आकारको घाट बनाएको यो स्थानलाई कृष्णसँग जोडिएको धार्मिक कथाले भरिएको छ। घुमारी घाटमा द्वापर युगमा भगवान् श्रीकृष्णले कामधेनु गाई चराउँदै आउँदा गाईको दूध खाएको धार्मिक विश्वास रहेको छ। सो स्थानमा भगवान कृष्णले दूध खाँदा बग्दै आएकी कालीनदी श्रीकृष्णलाई बचाउन घुमेर बगेको बताइन्छ।

कालीगण्डकी नदीले करिब ५ सय रोपनी क्षेत्रफलमा शङ्ख आकारको प्राकृतिक घेरा बनाएको छ। कालीगण्डकी नदी घुमेर बगेको प्राकृतिकरूपमा मनमोहक स्थान भए पनि घुमारी क्षेत्र ओझेलमा पर्दै आएको स्थानीय समाजसेवी डिबी गुरुङले बताए।

कालीगण्डकी नदी बग्दै आउँदा यति सुन्दर भएर घुमेको र धार्मिक मान्यतासँग समेत जोडिएको स्थल भए पनि यसको विकास र प्रवर्द्धनमा खासै कसैले चासो नदिएको उनले बताए। घुमारी क्षेत्र पुग्ने बाटो स्तरोन्नतिको कामले समेत पूर्णता पाउन नसक्दा धेरै मान्छे उक्त स्थल नपुग्ने गरेको उनले बताए।

'पहुँचमार्ग सहज हुने हो भने कालीगण्डकी करिडोर हुँदै यात्रा गर्ने जो कोही यसको अवलोकनका लागि आउँथे होला, बाटोको पनि असुविधा छ, पूरै बन्न सकेको छैन', गुरुङले भने। 

घुमारीको विकासका लागि केही वर्ष पहिले काम अघि बढेको भए पनि हाल अलपत्रजस्तै बन्न पुगेको छ। पाँच वर्ष पहिला निर्माण सुरु गरिएको राधाकृष्ण मन्दिर अहिले अलपत्र अवस्थामा रहेको छ। मन्दिरले पूर्णता नपाउँदा बनेका संरचनासमेत जीर्ण बन्दै गएको छ। गण्डकी प्रदेश सरकारमार्फत २०७७ सालमा मन्दिरको संरचना निर्माण सुरु गरिएको थियो। पछिल्ला वर्षमा उक्त स्थानका लागि बजेट नपर्दा अलपत्र बनेको स्थानीय गुरुङको भनाइ छ।

सुरु गरिएको कार्यलाई पूर्णता दिनेगरी योजना नबनाउँदा घुमारीमा हाल रहेका संरचना थप जीर्ण भएर भग्नावशेषमा परिणत हुने चिन्ता छाएको छ। निर्माण सुरु गरिएको योजनालाई पूर्णता दिने साथै यसको प्रचारप्रसार र प्रवर्द्धनमा लाग्नुपर्ने उनले बताए।

पर्यटन तथा उद्योग कार्यालय नवलपुरका कार्यालय प्रमुख निर्मलराज बरालले जिल्लाका अन्य पर्यटकीय क्षेत्रमा केही पूर्वाधार विकासका लागि बजेट र योजना भए पनि घुमारीका लागि चालु आवमा केही कार्य नभएको बताए। जिल्लाको पर्यटकीय क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षको योजनामा समेत घुमारी कतैबाट सिफारिस नहुँदा सो स्थानमा  काम गर्नसक्ने अवस्था नभएको उनको भनाइ छ। रासस


प्रकाशित : बुधबार, असार १८ २०८२१३:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend