शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बाँदरको समस्याको विकल्पमा कागुनोखेती

बुधबार, असार १८ २०८२
बाँदरको समस्याको विकल्पमा कागुनोखेती

बाँदरले बर्सेनि बालीनाली खाइदिने तथा नष्ट गरिदिने भएपछि यहाँका स्थानीय सामूहिकरुपमा नै कागुनो खेतीतर्फ आकर्षित बनेका हुन्।

गण्डकी- पोखरा महानगरपालिका-२८ काफलघारीका कृषक बाँदरको बढ्दो समस्यालाई दृष्टिगत गर्दै कागुनोखेतीतर्फ आकर्षित बनेका छन्।

बाँदरले बर्सेनि बालीनाली खाइदिने तथा नष्ट गरिदिने भएपछि २०७५ सालदेखि कागुनोखेती गर्न लागेका यहाँका स्थानीय अहिले भने सामूहिकरुपमा नै यस खेतीतर्फ आकर्षित बनेका हुन्।

अन्य खेतीका तुलनामा कागुनोखेती बाँदरले कम खाने भएका कारण आफूहरू यसतर्फ लागेको काफलघारी सामुदायिक विकास संस्था आमा समूहका अध्यक्ष अम्बिका भण्डारीले जानकारी दिइन्। उनका अनुसार पछिल्ला वर्षमा काफलघारी क्षेत्रमा ६० रोपनीभन्दा बढी क्षेत्रफलमा कागुनोखेती हुने गरेको छ।

परापूर्वकालदेखि विशेषतः नेपालको पहाडी क्षेत्रमा कागुनोको खेती गरिँदै आइएको छ। सिँचाइको सुविधा नभएको जग्गामा पनि उत्पादन हुने यो खेती कोदोबालीअन्तर्गत पर्दछ। बहुपोषणयुक्त खाद्यान्नका रुपमा रहेको यस अन्नमा प्रोटिन, आइरन तथा क्याल्सियमजस्ता तत्व पाइन्छन्। 

ठोस फाइबर हुने भएकाले यसका परिकार खाँदा पाचन क्रिया सहज हुन्छ। मधुमेहका रोगीहरूका लागि यो बढी स्वस्थकर मानिन्छ।

सिँचाइबिना पनि राम्रो उत्पादन हुने र बाँदरले कम खाने भएकाले पहाडी भूभागमा यसको खेतीको धेरै सम्भावना रहेको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए। कागुनोखेतीतर्फ कृषकहरूको आकर्षणलाई दृष्टिगत गर्दै महानगरपालिकाले यसको न्यूनतम समर्थन मूल्य प्रतिकिलो १२० रूपैयाँ निर्धारण गरिएको उनले बताए। रासस


प्रकाशित : बुधबार, असार १८ २०८२१३:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend