बिहीबार , असार १९ गते २०८२    
बिहीबार , असार १९ २०८२
images
images

सिर्सिया नदीमा औद्योगिक फोहर मिसाउनेलाई स्थानीय प्रशासनले कारबाहीको दायरामा ल्याउने

images
बुधबार, असार १८ २०८२
images
images
सिर्सिया नदीमा औद्योगिक फोहर मिसाउनेलाई स्थानीय प्रशासनले कारबाहीको दायरामा ल्याउने

उद्योगधन्दाबाट निस्कने फोहरमैलालाई सोझै नदीमा फ्याँक्दा सिर्सिया नदी झनै प्रदूषित भएको छ।

images
images

वीरगञ्ज- बारा-पर्साको औद्योगिक कलकारखानाबाट निस्कने केमिकलजन्य प्रदूषित फोहरमैला सिर्सिया नदीमा फ्याँक्ने उद्योगलाई कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासन तयार भएका छन्।

images
images

स्थानीय सरकार र प्रशासनले पटकपटक वीरगञ्जको सभ्यताका रूपमा रहेको सिर्सिया नदीमा उद्योगबाट निस्कने फोहरमैला सोझै नफ्याँक्न गरेको अनुरोधलाई उद्योग कलकारखानाले आलटाल गरेपछि उपचारात्मक तथा दण्डात्मक कारबाही गर्नुपर्ने माग उठेको हो।

images
images

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बारा-पर्सा औद्योगिक करिडोरका उद्योगले उद्योग स्थापना गर्दाको बखतमा गरेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिबद्धताविपरीत नदीमा फोहरमैला मिसाउँदै आइरहेका छन्। 'सिर्सिया नदी प्रदूषण गर्ने उद्योगको २०६७ सालमै पहिचान भइसकेको रहेछ, आर्थिक मन्दीको बहानाबाजी गरेर वेष्ट ट्रिटमेन्ट प्लान्ट जडान नगर्ने उद्योगलाई अब कानूनी दायरामा ल्याएर छाड्नेछौँ', उनले भने।

images
images
images

प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष जसपाल सिंहले विगतमा कलकल बग्ने सिर्सिया नदी पछिल्लो समय प्रदुषित भएर कालो लेदो बग्ने अवस्थामा आइपुगेको गुनासो गरे।

'हामीले बाल्यकालमा सिर्सिया नदीमा धेरैपटक पौडी खेल्यौँ। छठपर्वमा सिर्सिया नदीको पानीले सूर्यलाई अर्घ्य पनि चढाउने गरिन्थ्यो', उनले भने, 'अहिले त सिर्सिया नदीको पानी छुनसमेत डराउनुपर्ने अवस्था आइपुगेको छ। पानीमा हुने जलचरको जीवनचक्र नै बिग्रिसकेको छ। त्यसैले उद्योगी-व्यवसायीले नदी आफू र आफ्नो भविष्यको पुस्ताका लागि जोगाउनका पनि आवश्यक कदम चाल्न आवश्यक भइसकेको छ।'

ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले सिर्सिया नदी अत्यधिक फोहरमैलाको कारणले नालीमा सीमित भएको गुनासो गरे।

वीरगञ्ज महानगरका वातावरण महाशाखाका प्रमुख राकेश साहका अनुसार उद्योगधन्दाबाट निस्कने फोहरमैलालाई सोझै नदीमा फ्याँक्दा सिर्सिया नदी झनै प्रदूषित भएको छ। वीरगञ्ज महानगरका वातावरण निरीक्षक प्रकाशबहादुर ऐरले बारा-पर्सा औद्योगिक करिडोरमा रहेका एकसय २२ उद्योगको सर्वेक्षण गर्दा २१ वटाले मात्र सामान्य खालको ट्रिटमेन्ट प्लान्ट जडान गरेका छन्।

२१ ट्रिटमेन्ट प्लान्टमध्ये १३ वटा सञ्चालनमा छन् भने बाँकी आठवटा त अझैसम्म पनि सञ्चालनमा आएका छैनन्। महानगरले तीन वर्षमा उद्योगबाट सोझै नदीमा फोहर फ्याँक्ने उद्योगलाई १५ लाख रूपैयाँ जरिवाना पनि तिराएका छौँ।

मधेस प्रदेश उद्योग विभागका महानिर्देशक सुशीलकुमार साहले विभागले उद्योग सञ्चालनका लागि अनुमति लिँदा गरेका प्रतिबद्धतालाई कडाइपूर्वक कार्यान्वयन गर्न निर्देशन दिए। वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले सिर्सिया नदीमा फोहर फ्याँक्ने उद्योगले ट्रिटमेन्ट प्लान्ट जडान गरेको खण्डमा सिर्सिया नदीको ७५ प्रतिशत फोहर न्यूनीकरण हुने बताए।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले सबै निकायको समन्वय र सहकार्यबाट मात्र सिर्सिया नदी सरसफाइ गर्न सकिने बताए। जीतपुर सिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेलले जिल्लाका सुरक्षा र स्थानीय प्रशासनसँगको समन्वयमा नदीमा फोहरमैला फ्याँक्ने उद्योगलाई कारबाहीको दायरामा ल्याउने बताए। 

बाराका प्रजिअ वसन्त अधिकारीले पनि उपचारात्मक र दण्डात्मक सजायले मात्र फोहरमैला मिसाउने उद्योगलाई निरुत्साहित गर्न सकिने बताए। जीतपुरसिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले तीनवटै सरकारले व्यवस्थित खालको वेष्ट ट्रिटमेन्ट प्लान्ट सञ्चालन गर्न बजेट विनियोजन गर्नुपर्ने बताए। रासस


प्रकाशित : बुधबार, असार १८ २०८२११:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend