बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

तमोर कोरिडोरले फाइदामा धरान र इटहरी, बिर्तामोडलाई साख जोगाउनै सकस

बुधबार, असार १८ २०८२
तमोर कोरिडोरले फाइदामा धरान र इटहरी, बिर्तामोडलाई साख जोगाउनै सकस

त्रिदेशीय व्यापारिक मार्गको रूपमा रहेको तमोर कोरिडोरले पूर्वी पहाडी जिल्लाको व्यावसायिक यात्रालाई सहज बनाउने विश्वास लिइएको छ।

विराटनगर- पूर्व-पश्चिम राजमार्गमा एसियन हाइवेको निर्माण कार्य धमाधम भइरहेको छ। सडक निर्माण चलिरहँदा यात्रा असहज र झन्झटिलो भइरहँदा निर्माण सम्पन्न हुने प्रतीक्षा व्यग्र छ। अहिले यात्रुहरू वैकल्पिक सडकको प्रयोगमा लागिरहेका छन्। 

ताप्लेजुङ, पाँचथर र इलामबाट कोशी प्रदेशको राजधानी विराटनगर आउने आगन्तुकले वैकल्पिक मार्गको प्रयोग गर्न थालेका छन्। बिर्तामोडमा व्यावसायिक कारोबार गर्नेहरू पनि तमोर कोरिडोरकै सहायताले धरान र इटहरी धाउँछन्। 

बिर्तामोडभन्दा इटहरी सहज भएपछि पाँचथरका व्यापारीले तमोर कोरिडोरलाई व्यापारिक मार्गको रूपमा विकास गरेका छन्।

भिभो मोबाइलको पूर्वी क्षेत्रका सेल्स म्यानेजर निमेष घिमिरेका अनुसार पाँचथर र ताप्लेजुङको लागि इटहरी र धरानमा डिलसिप राख्ने तयारी भइरहेको छ। उनका अनुसार भिभोसँगै अन्य मोबाइल कम्पनीले पनि बिर्तामोडबाट डिलरसिप इटहरी र धरानमा सारिरहेका छन्। 

मोबाइलमात्र होइन अन्य मल्टिनेशनल कम्पनीले समेत नयाँ डिलरसिपको अध्ययन गरिरहेका छन्। भद्रपुर विमानस्थलबाट काठमाडौं जानेहरू तमोर कोरिडोर हुँदै विराटनगर विमानस्थलको प्रयोग गर्छन्। विराटनगरको एकतर्फी यात्रामा एकदिन बिताउनुपर्ने बाध्यताको अन्त्य भएको छ।

tamor coridor (1).jpg
तमोर कोरिडोर।

हाल एकैदिनमा विराटनगरमा कार्यालयको काम सकेर पाँचथर पुग्न सकिने बताउँछन् पाँचथरका व्यवसायी प्रकाश नेपाल।  

पाँचथर, ताप्लेजुङ धनकुटा र इलामका नागरिकलाई प्रदेश राजधानीसँग जोड्ने सहज बाटो बनेको छ तमोर कोरिडोर। जसको कारण इटहरी, धरान र विराटनगरका ट्रेडिङ हाउस मात्र होइन होटेल तथा क्याफेमा पनि नयाँ अनुहार देखिन थालेका छन्। व्यावसायिक साख गुमाउँदै गएको धरानलाई तमोर कोरिडोरले टेवा पुर्‍याउने विश्वास लिइएको छ। 

सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन चलिरहेको बेला अध्यक्षका उम्मेदवारले धरानको व्यावसायिक साख फर्काउने बाचा गरेका छन्। पछिल्लो समय व्यवसायी पलायन भएको यो अवस्थामा सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनमा व्यावसायिक चहलपहल बढाउने मुद्दा तमोर कोरिडोरकै आशमा अगाडि सारिएको हो।  

Dharan.jpg
धरान।

धरानमा आशा पलाइरहँदा बिर्तामोडका व्यवसायीलाई भने समस्या परेको छ। पाथीभरा ट्रेडिङ हाउसका सञ्चालक देवेन्द्र केसीले माथिल्लो भेग (पाँचथर, ताप्लेजुङ) का व्यवसायीले विकल्प खोजिरहेको बताए।

उपभोक्ता र व्यवसायी नै तमोर कोरिडोर हुँदै यात्रा र ढुवानी गर्न थालेपछि बिर्तामोडलाई समस्या पर्ने उनको भनाइ छ। मेची राजमार्गबाट पूर्वी पहाडमा व्यवसाय विस्तार गरेको बिर्तामोडलाई तमोर कोरिडोरको मूल्य चुकाउनुपर्ने भएको छ। 

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले तत्काल व्यवसाय पलायन नभएपनि केही संकेत देखा परेको स्वीकार गरे। बजारमा हल्ला र गुनासो बढिरहेको बताएका उनले थप व्यावसायिक विकासका विकल्पहरू खोजिने प्रष्ट पारे। व्यावसायिक कारोबार इटहरी र धरानमा बढिरहेको र दुरीको कारण ढुवानी सस्तो भएको उनको भनाइ छ। 

Birtamod.jpg
बिर्तामोड।

पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्रप्रसाद अधिकारी कोरिडोर पूर्णरुपमा कालोपत्रे भएपछि पाँचथर र विराटनगरको सिधा सम्पर्क चाँडो हुने बताउँछन्। चारवटा पुल निर्माणाधीन अवस्थामा रहेकाले आयोजना सम्पन्न भएपछि धेरै सहज हुने उनको भनाइ छ।

पाँचथरको फिदिमका कोशी ग्यासको डिलर राखेका उनी एकपटक ट्रकमा ग्यास ढुवानी गर्दा ५० लिटर तेलको फरक आउने अनुभव सुनाउँछन्। 

बिर्तामोडभन्दा ४५ किलोमिटर दुरीमा रहेको दमक फाल्गुनन्द मार्ग हुँदै इलामको रवि-राँकेदेखि सिधै पाँचथरसम्म जोडिने तयारीमा छ। रवि-राँके हुँदै ६ नम्बर बुधबारेबाट पुनः कोशी राजमार्ग अन्तर्गत भेडेटारमा बाटो जोडिएपछि बिर्तामोडलाई सकस पर्ने देखिन्छ।

Itahari.jpg
इटहरी।

अर्कातर्फ झापाको दुर्गापुरदेखि इलामसम्मको ५० किलोमिटरको बाटो सम्पन्न भएपछि बिर्तामोडलाई केही राहत हुने अनुमान गरिएको छ।

सङ्खुवासभा र भोजपुरबाट पनि धरान र इटहरी पुग्नलाई चतरा-लेगुवाघाट सडक निर्माणको काम सुरु भएको छ। अरुण कोरिडोर नामकरण गरिएको सो सडकको दुई चरणमा ठेक्का लागिसकेको छ। ६५ किलोमिटर लामो सडकको ट्याक खोल्ने काम धमाधम हुँदैछ।

चतरादेखि ११ किलोमिटरसम्म तमोर र अरुण कोरिडोरको संयुक्त काम भइरहेको छ। दुवै कोरिडोरको लागि संयुक्त सडक भएकाले तमोर कोरिडोर (चतरा-मुलघाट-सुभाङखोला) सडक आयोजना कार्यालय मातहत सञ्चालित छन्। 

चतरादेखि मुलघाटसम्म ४३ किलोमिटर खण्डको साढे चार किलोमिटरबाहेक अन्यमा ट्र्याक खोल्ने काम भइरहेको छ। अरुण कोरिडोरमा १७ किलोमिटर ट्र्याक सम्पन्न भइसकेको आयोजना कार्यालयले जानकारी दिएको छ। २२ प्रतिशत भौतिक प्रगति भइसकेको अरुण कोरिडोरमा आगामी आर्थिक वर्षमा ४१ किलोमिटर ट्र्याक खोल्ने तयारी छ।  

tamor coridor (2).jpg
तमोर कोरिडोर।

तमोर कोरिडोरको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६२ प्रतिशत भएको आयोजना कार्यालयले जनाएको छ। आगामी आर्थिक वर्षमा तमोरको ७५ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य आयोजनाले लिएको छ। 

मुलघाटदेखि गणेशचोकसम्म ४२ किलोमिटर कालोपत्रे भइसकेको छ। अहिले बर्खाको मौसम भएको कारण समस्या भएकाले अधिकांश स्थानमा कालोपत्रेको काम रोकिएको हो।

विराटनगरको रानी भन्सारदेखि ताप्लेजुङको तिप्ताला र चीनबीच अब सिधा यातायात सम्पर्क हुने भएको छ। त्रिदेशीय व्यापारिक मार्गको रूपमा रहेको तमोर कोरिडोरले पूर्वी पहाडी जिल्लाको व्यावसायिक यात्रालाई सहज बनाउने विश्वास लिइएको छ। 


प्रकाशित : बुधबार, असार १८ २०८२११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend