बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

दूधमा आत्मनिर्भर काभ्रे, ७० प्रतिशत दूध जिल्लाबाहिर निर्यात

मंगलबार, असार १७ २०८२
दूधमा आत्मनिर्भर काभ्रे, ७० प्रतिशत दूध जिल्लाबाहिर निर्यात

केही वर्षदेखि जिल्लामा वार्षिक करिब डेढ लाख मेट्रिक टन अर्थात् १४ करोड ९२ लाख ८० हजार लिटर दूध उत्पादन हुने गरेको तथ्यांकले देखाएको छ।

काभ्रेपलाञ्चोक- दूधमा आत्मनिर्भर काभ्रेबाट उत्पादितमध्ये ७० प्रतिशत दूध संघीय राजधानी काठमाडौ‌ंलगायत केही जिल्लामा निर्यात हुने गरेको छ। केही वर्षदेखि जिल्लामा वार्षिक करिब डेढ लाख मेट्रिक टन अर्थात् १४ करोड ९२ लाख ८० हजार लिटर दूध उत्पादन हुने गरेको तथ्यांकले देखाएको छ।

जिल्लामा वार्षिक एक लाख ४९ हजार दुई सय ८० मेट्रिक टन दुग्ध उत्पादन हुने गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ। दूधमा आत्मनिर्भर यस जिल्लामा एक लाख ४७ हजार आठ सय ७४ गाई र एक लाख ३८ हजार चार सय ९९ भैँसीबाट उक्त परिमाणमा दूध उत्पादन भएको हाे।

कार्यालयका अनुसार कुल गाईमध्ये हालको अवस्थामा ४३ हजार एक सय सात दूधालु गाई र ५९ हजार तीन सय २० दूधालु भैँसी रहेका छन्। यस्तै जिल्लामा रहेका दूधालु गाईमध्ये २३ हजार आठ सय ३५ स्थानीय र  १९ हजार दुई सय ७२ उन्नत जातका छन्।

जिल्लाका कुल दूधालु भैँसीमध्ये ३४ हजार तीन सय ४० स्थानीय र २४ हजार ९ सय ८० उन्नत जातको रहेको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख डा. सृजा वाग्लेका अनुसार पछिल्लो समय दूध बिक्रीबाट जिल्लामा भित्रने रकमबारे आधिकारिक तथ्यांक संकलन भइरहेको छ। जिल्लाको पनौती, बनेपा, मण्डनदेउपुर र पाँचखाल नगरपालिकामा सबैभन्दा बढी दूध उत्पादन हुँदै आएको कार्यालयको तथ्यांकले देखाएको छ।

वि.सं. २००९ देखि दूध बिक्री हुँदै आएको इतिहास रहेको काभ्रेपलाञ्चोकलाई २०७३ साल साउनमा ‘दूधमा आत्मनिर्भर जिल्ला’ घोषणा गरिएको थियो। दुग्ध उत्पादक सहकारी संघका अनुसार जिल्लामा उत्पादित कुल दूधमध्ये ७० प्रतिशतको हाराहारीमा अन्य जिल्लामा निर्यात भइरहेको छ। ‘उत्पादित दूध तथा दुग्धजन्य पदार्थमध्ये ३० प्रतिशत जिल्लामा खपत हुने गरेको र बाँकी काठमाडौ‌ंलगायत अन्य जिल्लामा पनि पठाइन्छ’ संघका अध्यक्ष नारायणप्रसाद बडालले भने।

उाका अनुसार जिल्लाका विभिन्न क्षेत्रबाट ७० सहकारीले व्यवस्थित र एक सयभन्दा बढी निजी तवरबाट दूध संकलन हुँदै आएको छ। काभ्रेमा दैनिक करिब पाँच लाख लिटर दूध उत्पादन हुने गरेको बजारमा तीन लाख लिटर दूध बिक्रीका लागि पठाइने गरिएको बडालकाे भनाइ छ। १३ स्थानीय तहमध्ये डाडाँपारिका खानीखोला, महाभारत र कोशीपारिस्थित चौँरीदेउराली तथा भुम्लु गाउँपालिकाबाट तरल दूध बजारमा आउने गरेको छैन।

तरल दूध नआउने स्थानीय तहबाट मख्खन, छुर्पी, खुवा, पनिरलगायत दुग्धजन्य पदार्थ बजारमा आउने गरेको संघले जनाएको छ। जिल्लाबाट विशेषगरी काठमाडौंमा दूध पठाइनुका साथै पाण्डर बनाउन पोखरा, चितवन, हेटौँडामासमेत दूध पठाइने गरिएको छ। यसैबीच सरकारद्वारा जारी दूध तथा दुग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिका-२०७५ कार्यान्वयनमा निकै कठिनाइ देखिएको छ।

नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले काभ्रेमा रहेका दुग्ध चिस्यान केन्द्र तथा दूध संकलन केन्द्रको पटक-पटक अनुगमन गरी सचेत गराए पनि अधिकांश व्यवसायीले अझै प्लाष्टिककै भाँडामा दूध ढुवानी गरिरहेका छन्। निर्देशिकाअनुसार प्लाष्टिकको भाँडामा दूध बोक्न तथा भण्डारण गर्न पाइने छैन भने बासी दूध पनि बिक्री गर्न पाइने छैन। रासस


प्रकाशित : मंगलबार, असार १७ २०८२१०:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend