शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

यस वर्ष सिरहामा आँप उत्पादनमा कमी

सोमबार, असार १६ २०८२
यस वर्ष सिरहामा आँप उत्पादनमा कमी

कृषि ज्ञान केन्द्र सिरहाका अनुसार चालु वर्षमा आँप उत्पादन ५९ हजार ८६६.५ मेट्रिक टनमा सीमित भएको छ। गत वर्ष ९९ हजार दुई सय ३५ मेट्रिक टन उत्पादन भएको थियो। यो अघिल्लो वर्षको तुलनामा झण्डै ४० प्रतिशत कमी रहेको केन्द्रले जनाएको छ।

सिरहा- सिरहामा यस वर्ष आँप उत्पादनमा गिरावट आएको छ। कृषि ज्ञान केन्द्र सिरहाका अनुसार चालु वर्षमा आँप उत्पादन ५९ हजार ८६६.५ मेट्रिक टनमा सीमित भएको छ। गत वर्ष ९९ हजार दुई सय ३५ मेट्रिक टन उत्पादन भएको थियो। यो अघिल्लो वर्षको तुलनामा झण्डै ४० प्रतिशत कमी रहेको केन्द्रले जनाएको छ।

गत वर्ष नौ हजार हेक्टर क्षेत्रफलमा ९९ हजार दुई सय ३५ मेट्रिक टन आँप उत्पादन भएको थियो। तर, यस वर्ष नौ हजार २५ हेक्टर क्षेत्रफलमध्ये आठ हजार आठ सय ९५ हेक्टर मात्र उत्पादनयोग्य रह्यो। यस वर्ष प्रति हेक्टर ६.६३ मेट्रिक टन उत्पादन भएको छ, जुन अघिल्लो वर्षको ११.०२ मेट्रिक टन प्रति हेक्टर भन्दा निकै कम हो।

केन्द्र सिरहाका सूचना अधिकारी किरण विश्वकर्माका अनुसार आँप उत्पादनमा गिरावट आउनुको मुख्य कारण एक वर्ष प्रशस्त फल लाग्ने र अर्को वर्ष तुलनात्मक रुपमा कम फल लाग्ने प्रकृतिक कारण हो। त्यसैगरी, उत्पादनमा कमी हुनुमा सिँचाइको अभाव, समयमै आवश्यक औषधि उपचार नहुनु, र कीराको प्रकोप जस्ता कारण पनि जिम्मेवार रहेको उनले बताए। 

उत्पादन घटेपछि बजारमा आँपको आपूर्ति घटेको छ, जसले मूल्यमा सामान्य वृद्धि ल्याएको छ। लगानी अनुसार आम्दानी नहुँदा धेरै किसान निराश भएका छन्।

सिरहा जिल्ला आँपको उत्पादनका लागि चर्चित मानिन्छ। उत्पादन घटेसँगै स्थानीय बजार, व्यापारी र फलफूल प्रशोधन केन्द्रमा प्रत्यक्ष असर परेको छ। आँप खेतीको उत्पादन चक्रलाई ध्यानमा राखी दीर्घकालीन नीति आवश्यक रहेको सरोकारवालाको भनाइ छ। सिँचाइ सुविधा, आधुनिक रोग नियन्त्रण प्रविधि, र किसानलाई आँप उत्पादनसम्बन्धी ज्ञानको कमीले प्रत्येक वर्ष उत्पादनमा अस्थिरता देखिन्छ।

सरकार तथा स्थानीय निकायले आँप उत्पादनलाई प्रोत्साहन दिने नीति र चिस्यान केन्द्रको व्यवस्था गरेमा किसानको मनोबल उच्च रहनुका साथै जिल्लाको आर्थिक समृद्धिमा पनि ठूलो टेवा पुग्ने विज्ञहको धारणा छ। रासस 


प्रकाशित : सोमबार, असार १६ २०८२०९:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend