बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

सुदूरपश्चिममा भारी वर्षा, देशभर मनसुनको प्रभाव

सोमबार, असार १६ २०८२
सुदूरपश्चिममा भारी वर्षा, देशभर मनसुनको प्रभाव

देशभर मनसुनी वायुको प्रभाव जारी रहँदा सुदूरपश्चिम क्षेत्रका विभिन्न स्थानमा भारी वर्षा भएको छ।

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव जारी रहँदा सुदूरपश्चिम क्षेत्रका विभिन्न स्थानमा भारी वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सामान्य अवस्थाभन्दा उत्तरतर्फ सरेको र पश्चिम नेपाल नजिक रहेकाले सुदूरपश्चिममा प्रभाव बढेको हो।

कञ्चनपुरको बेलौरीमा पछिल्लो तीन घन्टामा ९७.२ मिलिमिटर र कृष्णपुरमा ९५.८ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ। यी दुबै मात्रा ‘धेरै भारी वर्षा’ को श्रेणीमा पर्दछन्। त्यस्तै, पर्सियामा ५५.६ मिलिमिटर र हनुमान नगरमा ४१.२ मिलिमिटर वर्षा भएको छ।

आज सोमबार दिउँसो देशभर आकाश सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने प्रक्षेपण गरिएको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावनासमेत रहेको विभागले जनाएको छ।

रातिको समय पनि उस्तै रहने अनुमान गरिएको छ। सोमबार राति देशभर सामान्य बदली हुने र पहाडी भू-भागहरूमा पुनः मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, सुदूरपश्चिमका केही स्थानहरूमा राति पनि भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

मौसमविद्हरूले सम्भावित बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेका छन्।


प्रकाशित : सोमबार, असार १६ २०८२०६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend