चितवन- डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षका लागि एक लाख ९३ हजार चार सय १० बिरुवा वितरण गर्ने तयारी गरेको छ। कार्यालय परिसरमा रहेको नर्सरीमा उत्पादित बिरुवा आजदेखि वितरण गर्न थालिएको हो।
कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार जिल्ला वनपैदावार आपूर्ति समिति र डिभिजन वन कार्यालयबाट ती बिरुवा हुर्काइएको हो। त्यसमा जडीबुटी बिरुवा, डालेघाँस, फलफूल तथा बहुउपयोगी बिरुवा, बहुवर्षीय बिरुवा रहेका छन्।
आपूर्ति समितिबाट एक लाख २० हजार, डिभिजन वन कार्यालयकातर्फबाट ७३ हजार चार सय १० बिरुवा उत्पादन गरिएको उनले बताए। उनका अनुसार डिभिजन वन कार्यालयमार्फत ३० हजार बिरुवा जडीबुटीका, १५ हजार बिरुवा डाले घाँस, फलफूल तथा बहुउपयोगी र २८ हजार चार सय १० बिरुवा बहुवर्षीय उत्पादन गरी हुर्काएर वितरणका लागि तयारी गरिएको हो।
यहाँबाट डालेघाँस, ठूला रुखजन्य बिरुवा र बहुउपयोगी बिरुवा उत्पादन हुँदै आएको छ। बहुवर्षीय बिरुवा सडक क्षेत्रमा लगाउन उपयोगी हुने गर्दछन्। सडकलाई हराभरा र सौन्दर्य राख्न यी बिरुवा प्रयोग हुने गरेको छ।
गत वर्ष कार्यालयले ९२ हजार बिरुवा मात्र उत्पादन गरेको थियो। समितिबाट ८० हजार र डिभिजन वन कार्यालयलबाट १२ हजार बिरुवा उत्पादन गरिएको थियो। उनी भन्छन्, ‘आजदेखि बिरुवा वितरण सुरु गरिएको छ।’
कार्यालयले अहिले २० भन्दाबढी प्रजातिका बिरुवा वितरण गर्न लागेको हो। त्यसमा हर्रो, बर्रो, अमला, निम, जामुन, श्रीखण्ड, बेल, तेजपत्ता, चाप, निबुवा, अम्बा, बडहर, टाँकी, कोइरालालगायत बिरुवा रहेको पौडेलले बताए। रासस