शनिबार, असार ७ गते २०८२    
शनिबार, असार ७ २०८२
images
images

बुर्किना फासोमा ट्राओरेले सुरु गरेका आर्थिक सुधारले ल्याएको हलचल

२० ठूला परियोजनाले बदल्ला बुर्किना फासोको परिचय?

images
शनिबार, असार ७ २०८२
images
images
बुर्किना फासोमा ट्राओरेले सुरु गरेका आर्थिक सुधारले ल्याएको हलचल

ट्राओरेकै पहलमा बुर्किना फासो, माली र नाइजरले मिलेर ‘एलाइन्स अफ सिल' नामक रणनीतिक सुरक्षा तथा सहयोग संगठन गठन गरेका छन्, जसलाई पश्चिम अफ्रिकाको भू-राजनीतिक समीकरणमा ठूलो परिवर्तनको रूपमा हेरिएको छ।

images
images

काठमाडौं- पश्चिम अफ्रिकामा अवस्थित भूपेरिवेष्ठित देश बुर्किना फासोका राष्ट्रपति इब्राहिम ट्राओरेले अहिले जे गरिरहेका छन् त्यसको चर्चा विश्वभर फैलिएको छ। उनले ल्याएको हलचलले विश्वभर चर्चा र आलोचनाको केन्द्रमा देखिएका छन्। 

images
images
images

सन् २०२२ को सेप्टेम्बरमा भएको 'सैनिक कू’ पछि बुर्किना फासोको सत्ता सम्हालेका ट्राओरेले ३७ वर्षको उमेरमा मुलुकको नेतृत्व सम्हाले। फ्रान्सको प्रभाव कम गर्दै देशलाई नयाँ मोडमा लगिरहेका उनीमाथि रुससँग ज्यादा नजिक भएको आरोप पनि लागिरहेको छ। 

images
images

देशभित्र अमेरिका र युरोपका विभिन्न देशले कब्जा गरेका खानीहरू उनले राष्ट्रियकरण गराएका छन्। युरेनियम तथा सुन खानीहरू आफै उत्खनन् सुरु गरेका छन्। 

images
images
images

गएको दुई वर्षयता देशमा आर्थिक स्वतन्त्रता, सुन उद्योग राष्ट्रियकरण, कृषि र औद्योगिक उत्पादनमा वृद्धि, पूर्वाधार विकास तथा वित्तीय सन्तुलनका लागि महत्वपूर्ण कदमहरू चालेका छन्। ट्राओरेको नेतृत्वमा बुर्किना फासोले ठूलो मात्रामा आर्थिक सुधारका संकेत देखाइरहेको छ भने राष्ट्रिय सुरक्षामा फड्को मार्नेगरी अघि बढेको छ।

ट्राओरेले आईएमएफ र विश्व बैंकबाट ऋण लिन अस्वीकार गरिदिएपछि त अमेरिका र युरोपमा तरंग नै आएको छ। उनले स्पष्ट पारेका छन्, ‘अफ्रिकालाई आईएमएफ, विश्व बैंक, युरोप वा अमेरिकाको आवश्यकता छैन।’ यस अवधिमा बुर्किना फासोले लगभग ४.७ अर्ब डलरबराबरको बाह्य ऋण फिर्ता गरेको छ र जीडीपीमा उल्लेखनीय वृद्धि भएको छ।

सरकारले मन्त्री र सांसदहरूको तलब ३० प्रतिशत कटौती गरेको छ भने कर्मचारीहरूको तलब ५० प्रतिशतले वृद्धि गरेको छ। जसले बजेटमा सन्तुलन बनाउन मद्दत पुर्‍याएको छ। साथै स्थानीय ऋण तिर्न ट्राओरे सफल भएका छन्। सरकारी वित्तीय स्थिति बलियो हुँदै गएको छ।

देशको सबैभन्दा ठूलो प्राकृतिक स्रोत सुनको उद्योगमा सुधार भएको छ। ट्राओरे सरकारले दुई प्रमुख सुनखानी राष्ट्रियकरण गर्दै पहिलो घरेलु सुन प्रशोधन प्लान्ट सञ्चालनमा ल्याएका छन्। यसले दैनिक करीब ४ सय किलोग्राम सुन प्रशोधन गर्ने क्षमता राख्छ। अप्रशोधित सुन निर्यातमा पूर्ण रोक लगाएर सुन उद्योगलाई सरकारी नियमनमा ल्याएका छन्। सुन खानीबाट उठ्ने राजस्वलाई शिक्षा, स्वास्थ्य र पूर्वाधारमा लगानी गराउन थालेका छन्।

ट्राओरेको सरकारले कृषिमा आधुनिक प्रविधि अपनाएको छ। ट्र्याक्टर, मोटरपम्पलगायत उपकरणहरूको वितरण गरी उत्पादन क्षमता उल्लेखनीय रूपमा वृद्धि भएको छ। गोलभेँडाको उत्पादन ३१८ हजार टनबाट ३६० हजार टन, चामल २८ हजार टनबाट ३२६ हजार टन पुग्नु मुख्य उपलब्धि मानिएको छ।

पूर्वाधार र आवासमा मुख्य जोड

विगत केही महिनायता मात्रै विस्थापित जनतालाई लक्षित गरी एक हजार वटा सामाजिक आवास निर्माण योजना अगाडि बढाइएको छ। यो कार्यक्रम ट्राओरे सरकारले ओगाडुगुनजिकै सुरु गरेको छ। जुन २०३० सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ। सरकारले आवास, स्वास्थ्य र खानेपानी क्षेत्रलाई प्राथमिकता दिँदै बजेटको व्यवस्था गराएका छन्।

ओगाडुगु-डोन्सिन अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। जुन आगामी वर्ष सञ्चालनमा आउने अपेक्षा गरिएको छ। साथै बुबो‑डियुलासो विमानस्थल विस्तार गरिँदैछ भने सडकहरूमा कालोपत्रे र विस्तार अभियानलाई तीव्र पारिएको छ। उनले २० ठूला मेगा प्रोजेक्ट सुरू गराएका छन्।

ट्राओरे सरकारले पोस्टल बैंक र ट्रेजरी डिपोजिट बैंक स्थापना गरेर वित्तीय पहुँच विस्तार गरेको छ। यसले स्थानीयस्तरमा लगानी र आर्थिक गतिविधि बढाउने अपेक्षा गरिएको छ। 

यी आर्थिक सुधारका बाबजुद बुर्किना फासोमा सुरक्षा चुनौतीहरू अझै गम्भीर भएको चिन्ता पनि देखिएका छन्। राष्ट्रिय सुरक्षाको दृष्टिले ६० प्रतिशतभन्दा बढी भूभाग विद्रोही समूहहरूको नियन्त्रणमा नै छ।

africa 2.png

ट्राओरे नेतृत्वमा अघि बढाइएका २० ठूला परियोजना

ट्राओरे सरकारले अघि सारेका विभिन्न परियोजनाहरूमा आणविक ऊर्जा, सौर्य परियोजना, सैन्य संरचना विस्तार, सडक र विमानस्थल निर्माणदेखि लिएर कृषिजन्य उद्योग र घरेलु प्रशोधन प्लान्टसम्म छन्। राष्ट्रपति ट्राओरेले यसलाई ‘बुर्किना फासोको आर्थिक पुनर्जागरण’को रूपमा परिभाषित गरेका छन्।

१. न्यूक्लियर पावर प्लान्ट परियोजना - पहिलो पटक आणविक ऊर्जामा लगानी गर्दै ऊर्जा आत्मनिर्भरता तर्फको यात्रा सुरु।

२. मेगा सिमेन्ट कारखाना निर्माण - निर्माण क्षेत्रलाई स्वदेशी उत्पादनमा निर्भर बनाउने लक्ष्य।

३. अफ्रिका फर्स्ट कोर्प्स सैन्य आधार स्थापना - सशस्त्र बललाई रणनीतिक र भौगोलिक सबलता प्रदान गर्ने पहल।

४. साहेल राष्ट्रहरूको गठबन्धन गठन - माली, नाइजर र बुर्किना फासोबीच रक्षा तथा विकास साझेदारी।

५. सडक निर्माण परियोजनाहरू - राष्ट्रिय राजमार्ग तथा ग्रामीण सडकहरू पक्कीकरण र विस्तार।

६. हाइड्रोकार्बन डिपो निर्माण - इन्धन भण्डारण तथा वितरण सुदृढ गर्न पहिलो ठूला डिपोहरू।

७. औगाडुगु-डोन्सिन अन्तर्राष्ट्रिय विमानस्थल परियोजना - अन्तर्राष्ट्रिय उडान सुविधाको विस्तार र पूर्वाधार सुदृढीकरण।

८. नयाँ कपडा उद्योग (टेक्सटाइल फ्याक्ट्री) - औद्योगिक रोजगारी र निर्यात क्षमतामा वृद्धि।

९. पहिलो राष्ट्रिय सुन प्रशोधन केन्द्र - अप्रशोधित सुनको निर्यात बन्द गर्दै स्वदेशमै प्रशोधन।

१०. सौर्य ऊर्जा परियोजना - नवीकरणीय ऊर्जा उत्पादन विस्तार गर्दै ऊर्जा सन्तुलनमा टेवा।

११. थोमस सांकारा समाधिस्थल निर्माण - राष्ट्रिय गौरव र ऐतिहासिक स्मरणस्थल निर्माण।

१२. कृषिको आधुनिकीकरण - प्रविधि हस्तान्तरण र उन्नत कृषि उपकरणको वितरण।

१३. औगाडुगुको उत्तर इन्टरचेन्ज विकास - ट्राफिक व्यवस्थापन सुधार र सहरको यातायात विस्तार।

१४. पिउनेपानी तथा सरसफाइ सेवा सुधार - ग्रामीण तथा सहरी क्षेत्रमा स्वच्छ पानी पहुँच विस्तार।

१५. तुर्की ड्रोन र सैन्य प्रविधि प्रयोग - विद्रोह नियन्त्रण र निगरानी क्षमतामा वृद्धि।

१६. बुर्किना पोस्टल बैंक उद्घाटन - ग्रामीण वित्तीय समावेशीकरण र सुलभ बैंकिङ सेवा।

१७. बोबो दियुलासो विश्वविद्यालयको सुधार - उच्च शिक्षा क्षेत्रको पूर्वाधार तथा गुणस्तर सुधार।

१८. एयर बुर्किना पुनः सञ्चालन योजना - राष्ट्रिय वायुसेवा कम्पनीलाई पुनर्जीवन दिने प्रयास।

१९. स्वदेशमै विद्युत गाडी निर्माण (इलेक्ट्रिक भेइकल) - वातावरणमैत्री यातायात प्रविधिमा लगानी।

२०. टमाटर प्रशोधन उद्योग स्थापन - कृषिजन्य उद्योग विस्तार गरी मूल्य अभिवृद्धि।

africa 1.png

पश्चिमी मिडियाको आलोचना

बुर्किना फासोका राष्ट्रपति ट्राओरेले पश्चिमी मिडियामाथि तीव्र आरोप लगाउँदै अफ्रिकालाई ‘निर्बल, अशक्त र अस्थिर’ राष्ट्रको छबिमा सीमित पार्ने षड्यन्त्र चलिरहेको बताएका छन्। उनले सीएनएन, बीबीसीलगायतका अन्तर्राष्ट्रिय मिडियामाथि अफ्रिकाको आत्मनिर्भर प्रयास र सकारात्मक परिवर्तनलाई बदनाम बनाएको आरोप लगाएका हुन्।

राष्ट्रपति ट्राओरेले पछिल्लो समय सार्वजनिक सम्बोधन तथा अन्तर्वार्तामा अफ्रिकाको भविष्यबारे दृष्टिकोण प्रस्तुत गर्दै भनेका छन्, ‘हामी अब सीएनएन वा बीबीसीले अफ्रिकाबारे के लेख्छन् भनेर चिन्तित छैनौँ। हामी आफै हाम्रो कथा लेख्न थालेका छौँ।’

उनको भनाइमा पश्चिमी मिडियाले अफ्रिकाका सशस्त्र सेनाहरूलाई हत्यारा देखाउने, सरकारलाई अधिनायकवादी भनेर चित्रण गर्ने र विकासका पहललाई बदनाम पार्ने काम गरिरहेको छ। उनले उक्त मिडियाको रिपोर्टिङलाई ‘सञ्चार युद्ध’ को अस्त्रको रूपमा चित्रण गर्दै अफ्रिकी जनता र युवा पुस्ताको चेतना नियन्त्रण गर्ने षड्यन्त्र भएको दाबी गरेका छन्।

ट्राओरेले विशेषतः बीबीसी र भ्वाइस अफ अमेरिकाले प्रस्तुत गरेका मानवअधिकार उल्लंघनसम्बन्धी रिपोर्टहरूलाई ‘नियोजित अफवाह’ को संज्ञा दिँदै भनेका छन्, ‘हामीमाथि नागरिक हत्या गरेको आरोप लगाउनेहरूसँग प्रमाण छैन। उनीहरूको उद्देश्य हाम्रो सेना र सरकारलाई बदनाम गर्नु हो।’

को हुन ट्राओरे?

इब्राहिम ट्राओरेको जन्म सन् १९८८ मार्च १४ मा बुर्किना फासोको मुहुन प्रान्तअन्तर्गतको बोन्डोकुय गाउँमा भएको थियो। प्रारम्भिक शिक्षा स्थानीय विद्यालयमा प्राप्त गरेका उनले त्यसपछि देशको दोस्रो ठूलो सहर बोबो-दियुलासोस्थित माध्यमिक विद्यालयमा अध्ययन गरे।

विद्यालय जीवनमा उनी शान्त स्वभावका र अत्यन्त प्रतिभाशाली विद्यार्थीको रूपमा परिचित थिए। सन् २००६ तिर उनी राजधानी औगाडुगुस्थित विश्वविद्यालयमा भर्ना भए जहाँ भूविज्ञानमा स्नातक गरे। शिक्षा पूरा गरेपछि ट्राओरेले सैनिक प्रशिक्षण लिँदै बुर्किना फासोको सशस्त्र बलमा प्रवेश गरे। उनले देशको विभिन्न क्षेत्रमा विद्रोहीविरोधी अभियानमा सहभागी हुँदै द्रुतगतिमा सैनिक पदोन्नति पाए।

सन् २०२२ मा राष्ट्रका तत्कालीन अन्तरिम राष्ट्रपति पाउल हेन्री सान्दाओगो डामिबालाई हटाउँदै ट्राओरेले सैनिक 'कू' का माध्यमबाट सत्ता सम्हाले। उनले सत्ता लिएलगत्तै सुरक्षा, सम्प्रभुता र देशभक्तिप्रति प्रतिबद्धता जनाउँदै फ्रान्ससँगको परम्परागत सम्बन्धलाई पुनः समीक्षा गर्ने संकेत दिएका थिए।

फ्रान्ससँग दुरी, अफ्रिकी एकताउन्मुख

राष्ट्रपति ट्राओरेले सत्ता सम्हालेपछि बुर्किना फासोमा रहेका फ्रान्सेली सैनिकहरूलाई हटाउने, फ्रान्सेली दूतावासको प्रभाव घटाउने र फ्रान्स समर्थित संस्थाहरूलाई नियन्त्रणमा लिने निर्णय लिए। यस कदमलाई 'नयाँ अफ्रिकी स्वाभिमान' को रूपमा व्याख्या गरिएको छ।

ट्राओरेकै पहलमा बुर्किना फासो, माली र नाइजरले मिलेर ‘एलाइन्स अफ सिल' नामक रणनीतिक सुरक्षा तथा सहयोग संगठन गठन गरेका छन्, जसलाई पश्चिम अफ्रिकाको भू-राजनीतिक समीकरणमा ठूलो परिवर्तनको रूपमा हेरिएको छ।


प्रकाशित : शनिबार, असार ७ २०८२१६:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend