बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

यी १२ जिल्लामा आज र भोलि अत्यधिक वर्षाको सम्भावना, जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार १५ २०८२
यी १२ जिल्लामा आज र भोलि अत्यधिक वर्षाको सम्भावना, जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह

सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज आइतबार र भोलि सोमबार अत्यधिक वर्षाबाट उच्च जोखिममा रहेको जनाएको छ।

प्राधिकरणका प्रवक्ता सुरेन सुनारले जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालका विभिन्न क्षेत्रमा अति भारीसम्म वर्षा हुनसक्ने भनी विशेष बुलेटिन जारी गरिसकेको र सो आधारमा ती १२ जिल्ला बढी जोखिमा रहेको जानकारी दिए। 

सुदूरपश्चिम प्रदेशको बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर, कर्णाली प्रदेशको सुर्खेत, दैलेख र सल्यान, लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङमा भारी वर्षाको जोखिम रहेको छ। अन्य प्रदेशका उच्च पहाडी क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। 

पछिल्लो २४ घण्टामा प्युठान, डोटी, बागलुङ, कैलालीका केही ठाउँमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अहिले देशभर बदली रहेको र कतिपय स्थानमा वर्षा भइरहेको जनाइएको छ।

असार १६ सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। साथै अन्य प्रदेशको पहाडी भागका एकदुई स्थानमा पनि भारीदेखि धेरै अतिभारी वर्षाको सम्भावना रहेको जनाइएको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा अन्य प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना  छ। देशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थान तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। देशको उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। रासस


प्रकाशित : आइतबार, असार १५ २०८२११:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend