काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ६१.८१ प्रतिशत ग्रेडेड भएका छन्।
परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १ सय ७७ जना, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३ सय ५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १ सय २४, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४ सय ७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १ सय २६, १.६ देखि २ जीपीए ल्याउने ८ जना छन्।
बोर्डका अनुसार १ सय २६ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको छ। अवर्गीकृत परीक्षार्थीको सङ्ख्या भने १ लाख ६७ हजार ५ सय ९७ रहेको छ।
२०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४ सय ६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७ सय १५ गरी ४ लाख ९९ हजार १ सय ८३ विद्यार्थी सहभागी भएका थिए।