अर्घाखाँची- मालारानी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ६२ करोड ९२ लाख ५१ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ।
‘कृषि, पर्यटन र सहकारीः समृद्ध मालारानी’ भन्ने मूल नारामा आधारित रहेर गाउँपालिका उपाध्यक्ष दीपा पोखरेलले बजेट प्रस्तुत गरेकी हुन्। सोअन्तर्गत चालुतर्फ ४५ करोड ७१ लाख २९ हजार र पुँजीगततर्फ १७ करोड २१ लाख २२ हजार रूपैयाँ विनियोजन गरिएको छ।
गाउँपालिकाको बजेट कृषि, पशुपालन, सामाजिक सुरक्षा, पूर्वाधार, स्वास्थ्य, शिक्षा र सूचना प्रविधिलगायतका कार्यक्रम समेटिएको छ। प्रांगारिक मल कारखाना स्थापना गर्ने, किसानका उत्पादन बजारसम्म पुर्याउन ढुवानीमा अनुदान र मालारानी-८ मा मसला उद्योग स्थापना गर्ने अध्यक्ष दलबहादुर भट्टराईले बताए।
शिक्षा क्षेत्रमा स्थानीय पाठ्यक्रम ‘हाम्रो मालारानी’ विकास, छात्रवृत्ति, विज्ञान प्रविधि शिक्षा र शिक्षक तालिमलाई प्राथमिकता दिइएको छ। पूर्वाधार निर्माणमा ६ करोड ३० लाख, सामाजिक विकासमा सात करोड ३७ लाख ५१ हजार, स्वास्थ्य सेवामा दीर्घरोगी निःशुल्क औषधिको लागि २० लाख रूपैयाँ रकम विनियोजन भएको छ भने नवजात सेवा र ल्याब विस्तारका कार्यक्रम समावेश गरिएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिए।
यस्तै गाइड तालिम, पर्यटकीय नक्सा प्रकाशन र भगवती मन्दिरको पूर्वाधार निर्माणका योजना बजेटमा समेटिएका छन्। वडास्तरीय विकासका लागि एक करोड ५७ लाख ५० हजार, संस्थागत विकास तथा सुशासनतर्फ आठ करोड ५२ लाख ५० हजार रूपैयाँ, वन, वातावरण तथा विपद् व्यवस्थापनमा ५८ लाख रूपैयाँ विनियोजन गरिएको योजना अधिकृत नेत्र खनालले बताए। साथै महिला, दलित, अपांगता भएका व्यक्ति, वृद्ध, बालबालिका र सुकुम्बासी लक्षित कार्यक्रम समावेश गरिएको छ।
सन्धिखर्कको बजेट एक अर्ब ११ करोड १४ लाख
यसैगरी, सन्धिखर्क नगरपालिकाले आगामी वर्षका लागि एक अर्ब ११ करोड १४ लाखको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाको १८औँ नगरसभा तथा अधिवेशनको उद्घाटन मंगलबार नगर प्रमुख एवं सभाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले गरेका थिए।
नगरसभामा उपाध्यक्ष मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत तथा सचिव खिमानन्द भुसाल, वडाध्यक्षहरू, कार्यपालिका सदस्य र नगरसभा सदस्य तथा विभिन्न शाखाका कर्मचारीको उपस्थिति रहेको थियो। सभामा नगर प्रमुख श्रेष्ठले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरे। नगर प्रमुख श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसहमतिले पास गरिएको छ।
नगर उपप्रमुख आचार्यले बजेट पेस गरिन्। प्रस्तावित बजेटमा पुँजीगततर्फ ३२ करोड ३८ लाख ६७ हजार ७२५ र चालुतर्फ ५६ करोड ७५ लाख ३२ हजार २२५ विनियोजन गरिएको छ। अन्य रकम सामाजिक सुरक्षामा गरेर एक अर्ब ११ करोड १४ लाख रूपैयाँको बजेट रहेको छ।
नगर प्रमुख श्रेष्ठले ‘सेवाको वरिपरि जनता होइन, जनताको वरिपरि सेवा’ भन्ने अवधारणा कार्यान्वयनमा ल्याइने प्रतिबद्धता जनाएका थिए। नगरवासीको जीवनस्तर सुधार र सहज सेवाप्रवाह सुनिश्चित गर्न नागरिक आवश्यकतालाई केन्द्रमा राखेर योजना निर्माण गरिने उनको भनाइ थियो।
सभामा प्रस्तुत नीति तथा कार्यक्रममा सामाजिक न्याय, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको छ। विशेषगरी नगरका तीन प्रमुख धार्मिक तथा पर्यटकीयस्थल सुपादेउराली, नरपानी र अर्घाको पर्यटन प्रवर्द्धनका लागि विशेष पहल गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको नगर प्रमुख श्रेष्ठले बताए।
यस्तै, कृषि क्षेत्रको सशक्तीकरणलाई नीति कार्यक्रममा केन्द्रमा राखिएको छ। नगरभित्र व्यावसायिक खेती विकास र रैथाने बालीको संरक्षणलाई प्राथमिकता दिइने बताइएको छ। त्यसैगरी हल गोरू पाल्ने किसानलाई प्रोत्साहनस्वरूप विशेष कार्यक्रम सञ्चालन गरिने योजना पनि नीति कार्यक्रममा उल्लेख छ। रासस