बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

म्याग्दीका ६ वटै स्थानीय तहको नीति कार्यक्रम र बजेट पारित

बुधबार, असार ११ २०८२
म्याग्दीका ६ वटै स्थानीय तहको नीति कार्यक्रम र बजेट पारित

जिल्लामा रहेको एकमात्रै नगरपालिका बेनी नगरपालिकाले ७१ करोड ८० लाख २७ हजारको बजेट पारित गरेको छ।

बेनी- म्याग्दीमा रहेका एक नगरपालिका र पाँच गाउँपालिका गरी ६ वटै स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट पारित भएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जिल्लाका सबै स्थानीय तहहरुले निर्धारित समयमै गाउँ/नगरसभामार्फत नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन्।

पूर्वाधार निर्माण, सामाजिक विकास, कृषि, पशुपालन र रोजगार सिर्जनालाई प्राथमिकता दिएका जिल्लाका स्थानीय तहहरुले चालु आर्थिक वर्षमा खर्च हुन बाँकी रहने रकम, सानो आकारको आन्तरिक आम्दानीमा संघ र प्रदेशबाट आउने अनुदानलाई जोडेर बजेट सार्वजनिक गरेका छन्। 

जिल्लामा रहेको एकमात्रै नगरपालिका बेनी नगरपालिकाले ७१ करोड ८० लाख २७ हजारको बजेट पारित गरेको छ। मंगलबार सदरमुकाम बेनीमा सम्पन्न १७औँ नगरसभामा मेयर सुरत केसीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपप्रमुख ज्योति लामिछानेले पेस गरेको बजेट छलफलसहित पारित भएको हो। सभामा लामिछानेले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ५४ करोड ९३ लाख ३० हजार र पुँजीगततर्फ १६ करोड ८६ लाख ९७ हजार रूपैयाँ विनियोजन गरिएको छ।

त्यसैगरी, अन्नपूर्ण गाउँपालिकाले कुल ६० करोड ७६ लाख दुई हजार बराबरको बजेट पारित गरेको छ। २१औँ गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले आउँदो वर्षमा नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि चालुतर्फ ३७ करोड ५३ लाख १२ हजार ४३५ र पुँजीगततर्फ २३ करोड २२ लाख ९० हजार ३५८ रूपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिइन्।

यस्तै, धौलागिरि गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४६ करोड ५६ लाख ६ हजार ५६३ को बजेट पारित गरेको छ। गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न २४ औँ गाउँसभामा उपाध्यक्ष रेशम पुनमगरले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट छलफलपछि सर्वसहमतिमा पारित भएको हो।

गाउँपालिकाले चालु आर्थिक वर्षमा खर्च हुननसक्ने अनुमानित दुई करोड र ४५ लाख रूपैयाँ आन्तरिक आम्दानीबाहेक संघीय तथा प्रदेश सरकारले विभिन्न शीर्षकमा उपलब्ध गराउने अनुदानलाई स्रोत मानेर बजेट पारित गरेको हो।

त्यसैगरी मंगला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४४ करोड ६१ लाख ५६ हजार ४५१ रूपैयाँ बराबरको बजेट पारित गरेको छ। गाउँपालिकाले चालु खर्चतर्फ ३१ करोड ३३ लाख २० हजार ४५१ र पुँजीगततर्फ १३ करोड २७ लाख ३६ हजार रूपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्रीले जानकारी दिइन्।

यस्तै, मालिका गाउँपालिकाले ४६ करोड दुई लाख तीन हजारको बजेट पारित गरेको छ। गाउँसभाको १७औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले चालुतर्फ ३२ करोड ९४ लाख ८७ हजार र पुँजीगततर्फ १३ करोड सात लाख १९ हजार रूपैयाँ बजेट विनियोजन भएको जानकारी गराएकी थिइन्।

त्यस्तै, रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५० करोड ११ लाख रूपैयाँभन्दा बढीको बजेट पारित गरेको छ। गाउँपालिकाको १९औँ गाउँसभामा उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गरेको ५० करोड ११ लाख ४० हजार ८२० बराबरको बजेटमाथि छलफल गरी सर्वसम्मतरुपमा पारित भएको हो। गाउँपालिकाले चालुतर्फ ३७ करोड ६७ लाख ६० हजार ८२० र पुँजीगततर्फ १२ करोड ४३ लाख ९० हजार रूपैयाँ बजेट विनियोजन गरेको छ। रासस 


प्रकाशित : बुधबार, असार ११ २०८२१७:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend