बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

रोपाइँका लागि कमला नहरमा पानी प्रवाह, किसानलाई राहत

मंगलबार, असार १० २०८२
रोपाइँका लागि कमला नहरमा पानी प्रवाह, किसानलाई राहत

हाल मनसुनी वर्षा असमान रहँदा किसान सिँचाइ प्रणालीमा झन् बढी निर्भर भइरहेका छन्। यस्तो अवस्थामा समयमै सुरु गरिएको नहर सञ्चालनले यहाँका किसानलाई बाली लगाउने काममा सहजता ल्याएको छ।

सिरहा- धान रोपाइँलाई मध्यनजर गर्दै धनुषा र सिरहामा पर्ने कमला सिँचाइ प्रणालीअन्तर्गतका नहरमा सोमबारदेखि विधिवतरूपमा पानी प्रवाह सुरु गरिएको छ। गत चैतदेखि कमला नदीमा जलप्रवाह कम भएपछि बन्द गरिएका नहर पुनः सञ्चालनमा आएका हुन्।

रोपाइँको मुख्य समयमा किसानलाई सहज सिँचाइ सुविधा उपलब्ध गराउन समयमै नहर सञ्चालनमा ल्याइएको कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहा, धनुषाका कार्यालय प्रमुख वीरेन्द्र यादवले बताए।

'धान रोपाइँको मुख्य समयलाई ध्यानमा राख्दै नहर प्रणाली पुनः सञ्चालनमा ल्याइएको हो, गत चैत यता कमला नदीमा जलप्रवाह कम भएकाले अस्थायीरूपमा नहर बन्द गरिएको थियो, अहिले नदीमा आवश्यक मात्रामा पानी उपलब्ध भएपछि विधिवतरूपमा पानी प्रवाह सुरु गरिएको छ', उनले भने, 'नहरमा पर्याप्त पानी प्रवाहसँगै किसानले समयमै सिँचाइ पाउनेछन् भन्ने अपेक्षा गरेका छौँ।'

सिँचाइ व्यवस्थापन कार्यालय प्रमुख यादवका अनुसार पहिलेका वर्षमा साउन १ गतेदेखि मात्रै नहर सञ्चालन गरिने परिपाटीलाई तोडेर विगत तीन वर्षदेखि असार पहिलो हप्ताबाटै नहरमा पानी प्रवाह गर्न थालिएको हो। असारबाट सञ्चालन हुने नहर कात्तिकसम्म चालु रहन्छ। त्यसपछि छठ पर्व विशेष सञ्चालन गरिने प्रमुख यादवले जानकारी दिए।

२५ हजार हेक्टरमा सिँचाइ सुविधा

कमला सिँचाइ प्रणाली मधेस प्रदेशकै प्रमुख सिँचाइ योजनामध्ये एक हो। त्यसले धनुषा र सिरहामा गरी २५ हजार हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याइरहेको छ। यो आयोजनामार्फत करिब ४० हजार घरपरिवार लाभान्वित भएका छन्।

धनुषाको पश्चिमी नहर प्रणालीमार्फत करिब १२ हजार ५ सय हेक्टरमा सिँचाइ सुविधा पुगेको छ। यसमा गणेशमान चारनाथ, सबैला, सहिद, विदेह, कमला, हँसपुर नगरपालिका र औरही तथा जनकनन्दनी गाउँपालिका रहेका छन्।

त्यस्तै, सिरहामा १२ हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ। सिरहाका कर्जन्हा, मिर्चैया, कल्यानपुर, सिरहा र सुखीपुर नगरपालिका तथा विष्णुपुर र औरही गाउँपालिका यसमा समावेश छन्।

किसानलाई ठूलो राहत

हाल मनसुनी वर्षा असमान रहँदा किसान सिँचाइ प्रणालीमा झन् बढी निर्भर भइरहेका छन्। यस्तो अवस्थामा समयमै सुरु गरिएको नहर सञ्चालनले यहाँका किसानलाई बाली लगाउने काममा सहजता ल्याएको छ। किसानहरू समयमै सिँचाइ पाउने भएपछि उत्साहित छन्। साथै, उनीहरुको कमला सिँचाइको नियमित सेवा सुनिश्चित गरिनुपर्ने माग पनि बढ्दो छ। रासस


प्रकाशित : मंगलबार, असार १० २०८२१६:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend