बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

यूएई जाने कामदारको पारिश्रमिक बढ्यो, न्यूनतम ५२ हजार ९ सयदेखि अधिकतम दुई लाख ४१ हजार रुपैयाँसम्म

मंगलबार, असार १० २०८२
यूएई जाने कामदारको पारिश्रमिक बढ्यो, न्यूनतम ५२ हजार ९ सयदेखि अधिकतम दुई लाख ४१ हजार रुपैयाँसम्म

करिब १३ वर्षपछि युएई जाने कामदारको पारश्रमिक बढेको श्रम मन्त्रालयले जनाएको छ। सरकारले सोमबार राजपत्रमा जारी गरेर पारिश्रमिक बढाएको जानकारी दिएको हो

काठमाडौं- संयुक्त अरब इमिरेट (यूएई) जाने कामदारको न्यूनतम पारिश्रमिक बढेको छ। यूएई स्थित नेपाली दुतावासको सिफारिसमा सरकारले नेपाली कामदारको पारिश्रमिक बढाएको श्रम, रोजगार तथा यातायात मन्त्रालयका वैदेशिक महाशाखा प्रमुख जीवनलाल भुसालले बताए।

‘यो पारिश्रमिक कार्यान्वयन नहुनेमा शंका गर्नुपर्दैन, किनकि सरकारले भन्दा पनि दुतावासले सक्रियता देखाएको हो’ उनी भन्छन्, ‘अर्को कुरा एक हजारभन्दा कम पारिश्रमिकमा कामदार पठाउन स्वीकृत नदिएपछि यसको सिधै कार्यान्वयन हुन्छ, अरु केही सोच्नु पर्दैन।’

करिब १३ वर्षपछि युएई जाने कामदारको पारश्रमिक बढेको श्रम मन्त्रालयले जनाएको छ। सरकारले सोमबार राजपत्रमा जारी गरेर पारिश्रमिक बढाएको जानकारी दिएको हो। अबको केही दिनमा दुतावास पुगेपछि उक्त नियम लागु हुने वैदेशिक महाशाखा प्रमुख भुसाल बताउँछन्।

यूएई जाने कामदरालाई अदक्ष, अर्धदक्ष, दक्ष र उच्च दक्ष गरी चार भागमा वर्गिकरण गरिएको छ। यस अघि अदक्ष अर्थात् कुनैपनि सीप नाएका कामदारको मासिक पारिश्रमिक न्यूनतम आठ सय दिराम र खाना खर्च तीन सय दिराम थियो। जसअनुसार नेपाली ३० हजार दुई सय २९ रुपैयाँ तलब र ११ हजार तीन सय ३५ रुपैयाँ खाना खर्च हुन्थ्यो।

तर, अब भने न्यूनतम एक हजार दिराम वा सोभन्दा बढी पारिश्रमिक अदक्ष कामदारले पाउने व्यवस्था सरकारले राजपत्रमा गरेको छ। साथै खाना खर्च भने सबै कामदारका लागि समान अर्थात् एक सय दिराम बडाएर मासिक रुपमा चार सय दिराम पुर्याएको छ।

अब भने यूएई जाने अदक्ष नेपाली कामदारले खाना खर्चसहित मासिक ५२ हजार ९ सय रुपैयाँ प्राप्त गर्छन्। त्यस्तै अर्धदक्ष कामदाले खाना खर्चसहित एक हजार ६ सय दिराम (६० हजार चार सय ५८ रुपैयाँ), दक्ष कामदारले एक हजार ९ सय दिराम (७१ हजार सात सय ९३ रुपैयाँ) र उच्च दक्ष कामदारले ६ हजार चार सय दिराम (कम्तिमा दुई लाख ४१ हजार आठ सय ३२ रुपैयाँ) प्राप्त गर्ने व्यवस्था भएको छ।

यसरी हेर्दा यूएई जाने कामदारले मासिक खाना खर्चसहित न्यूनतम ५२ हजार ९ सय रुपैयाँदेखि अधिकतम दुई लाख ४१ हजार आठ सय ३२ रुपैयाँ पाउँछन्। तर, महाशाखा प्रमुख भुसाल पुरानो श्रम सम्झौता भएकाको हकमा यो नियम लागु हुने बाध्यता नभएको बताउँछन्।

यद्यपि पुराना कामदारको पारिश्रमिक बढेर अहिले निर्धारण भएको बराबर नै भइसकेको हुनसक्ने भएकाले धेरै फरक नपर्ने उनको भनाइ छ। साथै नयाँ मापदण्ड लागु भएपछि स्वतह रुपमा कम्पनीहरुलाई निर्धारित पारिश्रमिक दिन दबाब बढ्ने महाशाखा प्रमुख भुसाल बताउँछन्। 


प्रकाशित : मंगलबार, असार १० २०८२१४:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend