शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

चैते धानको उत्पादनमा वृद्धि, बिक्रीवितरणमा भने समस्या

मंगलबार, असार १० २०८२
चैते धानको उत्पादनमा वृद्धि, बिक्रीवितरणमा भने समस्या

धानको मागमा आएको कमीले बजारमा यसको मूल्यमा पनि गिरावट आएको छ। त्यसले गर्दा किसानले लगानी उठाउन नसकेको गुनासो गरेका छन्।

काठमाडौं- चैते धानको उत्पादन वृद्धि भएपछि बिक्रीवितरणमा समस्या आएको छ। धानको मागमा आएको कमीले बजारमा यसको मूल्यमा पनि गिरावट आएको हो। त्यसले गर्दा किसानले लगानी उठाउन नसकेको गुनासो गरेका छन्।

अघिल्लो वर्ष करिब दुई लाख मेट्रिकटन धान उत्पादन हुँदा बजारको मागअनुसार आपूर्ति हुन सकेको थिएन। चालु आर्थिक वर्षमा करिब चार लाख मेट्रिकटन धान उत्पादन भएको अनुमान गरिएको छ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले गत वर्ष धानको बिक्री गरी किसानले राम्रो आम्दानी गरेकाले यस वर्ष दोबर उत्पादन गरेकाले भण्डारण तथा बिक्रीवितरणमा समस्या आएको बताए।

सरकारले गत वर्ष प्रतिक्विन्टल दुई हजार ८०८ रूपैयाँ समर्थन मूल्य तोकेको थियो। धानको नयाँ जात, बीउबिजन, सिँचाइ प्रणाली, उत्पादन लागतको मूल्यांकन गरी सरकारले समर्थन मूल्य तोक्ने व्यवस्था छ। अहिले प्रतिक्विन्टल एक हजार ८ सय रूपैयाँमा सामान्य बिक्री भएको जनाइएको छ।

धान समर्थन मूल्यमा खरिद गरी भण्डारण तथा बिक्री गर्न कृषि मन्त्रालयअन्तर्गत उद्योग मन्त्रालयमार्फत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई पत्रचार गरेको छ। यसो गर्दा नपुग रकम अर्थ मन्त्रालयमार्फत उपलब्ध गराउन तयारी गरिएको छ।

तराई तथा भित्री मधेसका करिब ३५ जिल्लामा धानबाली पाकेर भित्र्याउने तयारी गरिएको छ। एक लाख ३० हजार हेक्टर जमिनमा धानखेती गरिएको छ। चालु आर्थिक वर्षमा प्रतिक्विन्टल दुई हजार ८५८ रूपैयाँ समर्थन मूल्य तोकेको छ।

अखिल नेपाल किसान महासंघका इन्चार्ज बलराम बाँस्कोटाले चैते धानले किसानको लगानी पनि नउठेको गुनासो गर्दै सरकारले अविलम्ब त्यसको विकल्प खोज्नुपर्ने विचार व्यक्त गरे। रासस


प्रकाशित : मंगलबार, असार १० २०८२१२:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend