बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

विदेशमा सीप सिकेर स्वदेशमा उद्यम, सिक्न चाहनेलाई नि:शुल्क तालिम दिन्छन् हरि

मंगलबार, असार १० २०८२
विदेशमा सीप सिकेर स्वदेशमा उद्यम, सिक्न चाहनेलाई नि:शुल्क तालिम दिन्छन् हरि

लामो समय विदेशमा बिताएपश्चात सीप सिकेर काममा लागेका हरि मगर अहिले सफल उद्यमीका रूपमा चिनिन्छन्।

भोजपुर- यहाँका युवाहरूमा पछिल्लो समय सीप सिकेर स्वरोजगार बन्ने लहर बढेको छ। युवाहरूले आफैले सीप सिकेर थालेको उद्यमबाट मनग्य आम्दानी गर्दै आएका छन्। कतिपय युवा भने विदेशबाट फर्केर पुनः सीप सिकेर पनि उद्यममा जोडिएका छन्।

विदेशबाट फर्केर स्वदेशमा सीप सिकेर जिल्लामा सफल उद्यमी बनेका छन् - हरि मगर (बाजेन)। वैदेशिक रोजगारीमा १० वर्ष बिताएर स्वदेश फर्किएका मगरसँग हाते ट्रयाक्टर मर्मत गर्ने सीप छ। यही सीप अहिले उनको जीवन धान्ने साधन बनेको छ।

जिल्लामा व्यावसायिकरूपमा कृषियन्त्र उपकरण बिक्री वितरणसँगै मर्मतमा लागेका मगरलाई अहिले कामले भ्याइनभ्याइ छ। पाँच वर्षअघिबाट ट्रयाक्टर बनाउने काममा लागेपछि पछाडि फर्केर हेर्नु नपरेको मगरको भनाइ छ। स्थायी घर धनकुटाको छथर जोरपाटी भएका मगर सुरुमा हाते ट्रयाक्टर मर्मत गर्ने सोचले भोजपुर आएको बताउँछन्।

लामो समय विदेशमा बिताएपश्चात सीप सिकेर काममा लागेका मगर अहिले सफल उद्यमीका रूपमा चिनिन्छन्। सुरुमा हाते ट्रयाक्टर मर्मतको सीप लिएर सानोतिनो काम गर्ने सोचले यो पेसामा लागेका मगर अहिले उदाहरणीय उद्यमी बनेका छन्। सीपले उद्यमीसँगै स्वरोजार बनाएको मगरले बताए।

'मैले विभिन्न देशमा गरी १० वर्ष बिताएँ', मगरले भने, 'विदेशबाट आएपछि मैले घरेलुमार्फत हातेट्रयाक्टर मर्मत गर्ने सीप लिने मौका पाएँ। सीप लिएपश्चात गाउँघरमा पुगेर किसानको सेवा गर्ने लक्ष्यले म भोजपुर आएको थिएँ। तर त्यही सीपले अहिले स्वरोजगारसँगै उद्यमी बनायो।'

आफूले सञ्चालन गरिरहको उद्यमबाट अहिले अन्य तीन जनालाई रोजगारी दिएको उनले बताए। गाउँघरमा हाते ट्रयाक्टरले खेतबारी जोत्ने चलन बढेसँगै कामको चाप पनि बढेको छ। भोजपुर नगरपालिका-७ सातधारामुनि कृषि औजार उपकरण बिक्री पसल पनि सञ्चालन गरिरहेको उनी बताउँछन्।

ट्रयाक्टर बिग्रिएर समस्या परेका किसानलाई खेतबारीमा नै पुगेर सेवा दिने गरेको मगरले बताए। साथै सीप सिक्न चाहने किसानलाई निःशुल्क सीप दिने गरेको उनले बताए। ६० लाख रूपैयाँ लगानीमा उद्यम सञ्चालन गरिरहेको उनले जानकारी दिए।

'मैले आफैले सिकेको सीपबाट कमाएको पैसाले पसल पनि सञ्चालन गरिरहेको छु, साथीहरूको लहलहैमा लागेर विदेश गइयो। अहिले यहीँ सीप सिकेर विदेशको भन्दा राम्रो आम्दानी गरिरहेको छु। सीपले मानिसलाई सक्षम बनाउने रहेछ', उनले भने।

यहाँबाट जिल्लाभरका किसानलाई आफूले जानेको सीप दिँदै आएको उनको भनाइ छ। घरेलु तथा साना उद्योग कार्यालय तथा स्थानीय तहले सञ्चालन गर्ने सीपमूलक तालिममा प्रशिक्षकरूपमा काम गर्ने मौका पाउने मगरले बताए। तालिममार्फत दुई सयभन्दा बढी किसानलाई हाते ट्रयाक्टर मर्मतको सीप दिइसकेको उनको भनाइ छ।

पछिल्लो समय गाउँघरमा गोरुले जोतेर खेती गर्ने चलन कम हुँदै आएको छ। कृषिजन्य यन्त्र उपकरणको प्रयोगले किसानलाई सहजता भए पनि सञ्चालन तथा मर्मतको ज्ञान नुहँदा भने किसानले समस्या भोग्दै आएका छन्। रासस


प्रकाशित : मंगलबार, असार १० २०८२११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend