बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

असार १५ देखि चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी बन्द हुने

सोमबार, असार ९ २०८२
असार १५ देखि चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी बन्द हुने

बर्सातसँगै निकुञ्जभित्र जिप जान असहज हुने भएकाले सफारी बन्द गरिएको हो।

चितवन- चितवन राष्ट्रिय निकुञ्जभित्र यही असार १५ गतेदेखि जिप सफारी बन्द हुने भएको छ। बर्सातसँगै निकुञ्जभित्र जिप जान असहज हुने भएकाले सफारी बन्द गरिएको हो।

निकुञ्जले हरेक वर्ष बर्सातको समयमा सफारी बन्द गर्ने गर्दछ। बर्सात हटेसँगै चाडपर्व सुरु हुँदै गर्दा असोजको तेस्रो सातातिर सफारी खुल्ने गर्दछ। वर्षा लम्बिँदा सोहीअनुसार खुल्ने समय पनि पछाडि सार्ने गरिन्छ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार गत वर्ष असार १६ गतेदेखि बन्द भएको जिप सफारी असोज २४ गते फूलपातीदेखि पुनः सञ्चालनमा आएको थियो। वर्षाले बिगारेको सडक मर्मतसम्भार गरेर जिप सफारी खुला गरिने उनले जानकारी दिए।

निकुञ्जभित्र सफारी बन्द भए पनि मध्यवर्ती सामुदायिक वनमा भने जिप सफारी सञ्चालन हुने उनले बताए। निकुञ्जभित्र पैदलयात्रा, घडियाल प्रजनन् केन्द्र अवलोकनलगायतका पर्यटकीय गतिविधि भने नियमित सञ्चालन हुने उनले जानकारी दिए।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तका अनुसार विश्वभरका यस्ता निकुञ्जमा हरेक वर्ष केही महिना सर्वसाधारणका लागि बन्द गर्ने गरिन्छ। त्यसका कारण निकुञ्जभित्रका वन्यजन्तुलाई बाधा नपुग्ने र जीपनयापन सहज हुने उनले जानकारी दिए। वर्षायाममा बाढी आउने र खोला खोल्सा बढ्ने, रुख ढल्ने, बाटोसमेत चिप्लो र हिलो हुने, घाँस र झाँडी बढेर जंगली जनावरसमेत नदेखिने उनको भनाइ छ।

निकुञ्जभित्र सौराहा क्षेत्रबाट ३२, कसाराबाट १०, मेघौलीबाट सात र अमलटारीबाट पाँचवटा जिप निकुञ्जभित्र चल्ने गर्दछन्। रासस


प्रकाशित : सोमबार, असार ९ २०८२१३:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend