बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

दैलेखको ग्यास र धौवादीको फलाम उत्खनन तीव्र पार्न प्रधानमन्त्री ओलीको निर्देशन

सोमबार, असार ९ २०८२
दैलेखको ग्यास र धौवादीको फलाम उत्खनन तीव्र पार्न प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भेटिएको मिथेन ग्यास र पूर्वी नवलपरासीस्थित धौवादी फलाम खानीको उत्खनन तथा उत्पादन प्रक्रियालाई तीव्र पार्न निर्देशन दिएका छन्।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भेटिएको मिथेन ग्यास र पूर्वी नवलपरासीस्थित धौवादी फलाम खानीको उत्खनन तथा उत्पादन प्रक्रियालाई तीव्र पार्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित छलफलमा प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय र निकायलाई एक वर्षभित्र ग्यास उत्पादन परीक्षणको चरणमा लैजान स्पष्ट निर्देशन दिएका हुन्। उनले भने, 'तयारीमा कुनै ढिलासुस्ती सह्य हुनेछैन, सरकार स्रोत र सहजीकरणका हिसाबले पूर्ण साथ दिन तयार छ।'

छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न पेट्रोलियम अन्वेषणको नतिजा प्रधानमन्त्रीलाई अवगत गराएको थियो। अन्वेषणमा खटिएको चाइना जियोलोजिकल सर्भेको प्रारम्भिक प्रतिवेदन अनुसार दैलेखको हालको ड्रिल साइटमा १ खर्ब १२ अर्ब घनमिटर मिथेन ग्यासको सम्भावित भण्डार देखिएको छ। अन्य क्षेत्रहरूमा पनि थप ग्यास हुने प्रबल सम्भावना प्रतिवेदनले देखाएको छ।

प्रधानमन्त्री ओलीले देशकै ग्यास उत्पादनमा ठूलो उपलब्धि हुने भएकाले यसलाई उपयोगमा ल्याउन ढिलाइ नगर्न निर्देशन दिएका छन्।

यही अवसरमा धौवादी फलाम कम्पनी लिमिटेडले पूर्वी नवलपरासीस्थित फलाम खानीको सम्भाव्यता अध्ययन तथा ड्रिलिङ कार्यको प्रगति विवरण पनि प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्‍यो। कम्पनीका अनुसार धौवादी क्षेत्रमा ९९ मिलियन टन फलामको धाउ भेटिएको छ, जुन भण्डारले अगामी सय वर्षसम्म माग धान्न सक्ने दाबी गरिएको छ।

कम्पनीले नियमित प्रक्रिया अनुसार वि.सं. २०८५ सालभित्र स्टिल/फलाम उत्पादन सम्भव हुने जनाएको छ। तर प्रधानमन्त्री ओलीले त्यो समयसीमा भन्दा अगावै उत्पादन सुरू गरेर बजारमा ल्याउने गरी योजना बनाउन निर्देशन दिए। उनले कानुनी, वित्तीय र संस्थागत सहजीकरणमा सरकारको पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए।

छलफलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, उद्योगमन्त्री दामोदर भण्डारी, दैलेखका संघीय सांसदहरू र सम्बन्धित सरकारी अधिकारीहरूको सहभागिता थियो।


प्रकाशित : सोमबार, असार ९ २०८२०६:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend