बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

तामाकोसी नदीमा निर्माणाधीन पुलको स्पान भाँचियो

आइतबार, असार ८ २०८२
तामाकोसी नदीमा निर्माणाधीन पुलको स्पान भाँचियो

रामेछाप- जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ। मन्थली नगरपालिका-६ को कुनाउरीको भलुवाखोलाबाट वडा नं ७ भटौलीको ठेडीखोला जोड्ने तामाकोसी नदीमा निर्माणाधीन पुल आज दिउँसो भाँचिएको हो।

यसअघि निर्माणाधीन अवस्थामा पुल सम्पन्न गर्ने उद्देश्यले तीव्रता पाइरहेको अवस्थामा बीच भागको एउटा स्पान दुई महिना अगाडि भाँचिएको थियो। उक्त स्पानलाई प्राविधिकले मर्मत गरेर प्रयोगमा ल्याउन सकिने प्रतिवेदनमा उल्लेख गरिएपछि निर्माण कम्पनीले स्पानको मर्मत गरिरहेको थियो।

मर्मत भइरहेको अवस्थामा आज दिउँसो पुलको स्पान एक्कासी पूरै भाँचिएको स्थानीय लेखनाथ ढुंगेलले बताए। गुणस्तरहीन सामग्री प्रयोग गरेर वा अन्य कारणले यसरी पटकपटक स्पान भाँचिएकाबारे खोजी हुनेपर्नेमा उनले जोड दिए।

भाँचिएको स्पान पूर्णरूपमा पिल्लरबाट भत्किएर भुइँमा झरेको मन्थली-७ का पूर्ववडाध्यक्ष सुदर्शन प्रसाईंले जानकारी बताए। पुल भत्किएको थाहा पाउनासाथ उक्त ठाउँमा स्थानीय घुइँचो लागेको थियो।

आगामी भदौ मसान्तसम्म पुल निर्माण सम्पन्न गर्नेगरी तीव्र गतिमा काम भइरहेको थियो। निर्माणाधीन उक्त पुल भत्केपछि स्थानीय बासिन्दा चिन्तित छन्।

सडक विभागले आर्थिक वर्ष २०७७/७८ मा कुल २२ करोड ५५ लाख चार हजार रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो। चारवटा स्पानसहित कुल दुईसय ३० मिटर लामो उक्त पुल ११ मिटर चौडाइको थियो। कुल सम्झौता रकमको झन्डै ६० प्रतिशतभन्दा बढी रकम निर्माण व्यवसायीले भुक्तानी लिइसकेका छन्।

पुल सञ्चालनमा आएपछि मन्थली-खुर्कोट सडकखण्डभन्दा पकरबास गोगनपानीबाट सित्खा हुँदै सिन्धुलीको सुनकोसी गाउँपालिकाको मुल्कोट निस्केर छोटो दुरीमा काठमाडौं आवतजावत गर्न सकिनेछ। सदरमुकाम मन्थलीबाट जिल्लाका तीन वटा पालिका जोड्ने वैकल्पिक मार्गका रूपमा यसलाई लिइएको थियो। रासस


प्रकाशित : आइतबार, असार ८ २०८२१५:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend