बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

भरतपुर महानगरको बजेट झन्डै एक अर्बले घट्यो, नयाँ आर्थिक वर्षका लागि पाँच अर्ब १९ करोड विनियोजन

आइतबार, असार ८ २०८२
भरतपुर महानगरको बजेट झन्डै एक अर्बले घट्यो, नयाँ आर्थिक वर्षका लागि पाँच अर्ब १९ करोड विनियोजन

संघीय सरकार, बागमती प्रदेश र अन्य निकायहरूबाट हुने अनुदानसहितको बाह्य स्रोतबाट २ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी रकम प्राप्त हुने प्रक्षेपण गरिएको छ। यसबाहेक बैंक मौज्दात, सडक बोर्ड र श्रमदानसमेत समेटेर कुल बजेट ५ अर्ब १९ करोड पुगेको हो।

चितवन- भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पाँच अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। अघिल्लो वर्षको तुलनामा यस पटकको बजेट झन्डै एक अर्ब रुपैयाँले घटेको छ। आर्थिक वर्ष २०८१/८२ मा महानगरले ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट ल्याएको थियो।

महानगरका उपप्रमुख चित्रसेन अधिकारीले १७औँ नगरसभामा बजेट प्रस्तुत गर्दै आगामी वर्षका लागि घरजग्गा रजिस्ट्रेसन, खानी तथा नदीजन्य पदार्थको राजस्व बाँडफाँट, सवारी कर लगायतका माध्यमबाट एक अर्ब ८० करोड रुपैयाँ आन्तरिक आम्दानी हुने अनुमान गरिएको जानकारी दिए।

संघीय सरकार, बागमती प्रदेश र अन्य निकायहरूबाट हुने अनुदानसहितको बाह्य स्रोतबाट दुई अर्ब ५१ करोड रुपैयाँभन्दा बढी रकम प्राप्त हुने प्रक्षेपण गरिएको छ। यसबाहेक बैंक मौज्दात, सडक बोर्ड र श्रमदानसमेत समेटेर कुल बजेट पाँच अर्ब १९ करोड पुगेको हो।

महानगरले सामाजिक सुरक्षा लगायत अन्तरसरकारी अख्तियारी क्षेत्रका लागि मात्रै एक अर्ब ३५ करोड रुपैयाँ विनियोजन गर्ने योजना बनाएको छ। यसका अतिरिक्त, चालु आवमा निर्माण सम्पन्न हुन नसकेका योजनाहरू र ती योजनाका बाँकी भुक्तानीहरूका लागि ६० करोड रुपैयाँ छुट्याइएको छ। अघिल्लो वर्षका योजनाका दायित्व तथा बहुवर्षीय ठेक्काका कार्यक्रमहरूको भुक्तानीका लागि पनि २४ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ।

वडास्तरीय कार्यक्रमको लागि न्यूनतम तीन करोड २१ लाखदेखि अधिकतम तीन करोड ४० लाख रुपैयाँसम्म बजेट विनियोजन गरिएको छ। महानगरले वडास्तरीय बजेट स्रोत निर्धारणका लागि न्यूनतम ग्यारेन्टी र सूत्रमा आधारित दुईखाले मोडेल अपनाएको छ।

प्रस्तावित बजेटले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा प्रशासनिक संयन्त्रको सुदृढीकरणलाई प्राथमिकता दिएको छ। कृषि तथा पशुपालन प्रवर्द्धनमा ९ करोड, शिक्षा क्षेत्रमा १० करोड ५० लाख, स्वास्थ्य सेवा सुधारमा तीन करोड २५ लाख, सीसी क्यामेरा जडानमा चार करोड, विपद व्यवस्थापनमा एक करोड ५० लाख र प्रशासनिक भवनको निर्माण तथा इन्टेरियरका लागि चार करोड रुपैयाँ विनियोजन गरिएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि पनि छुट्टै चार करोड रुपैयाँ विनियोजन गरिएको छ।

गत आर्थिक वर्षको बजेट कार्यान्वयनतर्फ हेर्दा जेठ ७ गतेसम्म चालु खर्चतर्फ ६९ प्रतिशत अर्थात् एक अर्ब ८७ करोड रुपैयाँ खर्च भइसकेको छ। पुँजीगततर्फ भने ३८ प्रतिशत अर्थात् एक अर्ब तीन करोड रुपैयाँ मात्र खर्च भएको छ। कुल बजेटमध्ये ५३ प्रतिशत रकम जेठ मसान्तसम्म खर्च भएको महानगरले जनाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको ५१ प्रतिशत खर्चभन्दा दुई प्रतिशतले बढी हो।

महानगरले चालु आवमा आन्तरिक आम्दानीतर्फ लिएको लक्ष्यको ६४ प्रतिशत अर्थात् एक अर्ब १५ करोड रुपैयाँ उठाएको छ। संघीय र प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदानमध्ये अधिकांश रकम पनि जेठ मसान्तभित्र महानगरको खातामा आएको छ।

संघीय सरकारबाट प्रक्षेपित ३७ करोडमध्ये ३४ करोड र बागमती प्रदेश सरकारबाट आउने चार करोड ८१ लाखमध्ये तीन  करोड ६१ लाख रुपैयाँ प्राप्त भइसकेको विवरण महानगरले सार्वजनिक गरेको छ।


प्रकाशित : आइतबार, असार ८ २०८२१५:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend