बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

बजेट यथार्थ र कार्यान्वयनयोग्य छ : पूर्वअर्थमन्त्री कार्की

आइतबार, असार ८ २०८२
बजेट यथार्थ र कार्यान्वयनयोग्य छ : पूर्वअर्थमन्त्री कार्की

उनले बजेटमा ‘टेक एण्ड पे' को विषयले ऊर्जा क्षेत्रलाई अन्धकारतर्फ धकेल्ने खतरा औँल्याउँदै यसलाई सच्याउन अर्थमन्त्रीको ध्यानाकर्षण गराए।

काठमाडौं- नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले ल्याएको बजेट यथार्थ र कार्यान्वयनयोग्य रहेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयसहित विभिन्न मन्त्रालय, आयोगका विभिन्न शीर्षकमाथिको छलफलमा दलीय आधारमा भाग लिँदै उनले यथार्थमा उभिएर आएको बजेटलाई प्रभावकारी कार्यान्वयन गर्नेतर्फ अर्थमन्त्रीको ध्यानाकर्षण गराए।

सांसद कार्कीले मुलुकमा पटकपटक व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन आउन नसकेको उल्लेख गरे। उनले भने, 'संसद्‌मा मात्रै होइन बाहिर पनि देशमा विकास किन भएन भनेर आवाज उठेको छ। पटकपटक व्यवस्था परिवर्तन गर्‍यौँ तर जनताको अवस्था परिवर्तन भएन भन्ने कुरा सर्वोपरीरुपमा उठेको छ।'

सांसद कार्कीले विकास निर्माणका दीर्घकालीन सोच र योजनाका लागि सबै राजनीतिक दलको प्रतिबद्धता चाहिने खाँचो औँल्याए।

देशमा केही भएन भनेर नकारात्मक भाष्य सिर्जना गरिएकोप्रति इंगित गर्दै उनले अगाडि थपे, 'केवल निराशा व्यक्त गरेर, केवल स्टन्टबाजी गरेरमात्रै मुलुकको विकास हुन सक्दैन। मुलुकको विकासका निम्ति राजनीतिक स्थिरता, नीतिगत स्थिरताता, नेतृत्वको इच्छाशक्ति र विकास निर्माणको दीर्घकालीन सोचका साथ योजना र त्यसमा दलीय प्रतिनिधित्व, राज्य स्रोतको समुचित व्यवस्थान हुनुपर्छ।'

पूर्वमन्त्री कार्कीले निजी क्षेत्रको करिब ८० प्रतिशत लगानीलाई प्रोत्साहित गरेर लैजानुपर्ने आवश्यकता रहेको भन्दै ऊर्जा, कृषि, पर्यटनजस्ता क्षेत्रको लगानी सुरक्षित गरिनुपर्ने धारणा राखे। उनले बजेटमा ‘टेक एण्ड पे' को विषयले ऊर्जा क्षेत्रलाई अन्धकारतर्फ धकेल्ने खतरा औँल्याउँदै यसलाई सच्याउन अर्थमन्त्रीको ध्यानाकर्षण गराए।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद तारा लामा तामाङले बजेटले राष्ट्रको लागि दिशानिर्देश गरेको उल्लेख गरे। उनले भने, 'बजेटले जनप्रतिनिधिलाई के गर्‍यो, गरेन तर राष्ट्रका लागि दिशानिर्देश गरेको छ। बजेट लक्ष्यअनुसार अगाडि बढेको देखिन्छ, आशा गर्ने ठाउँहरू धेरै छन्।'

उनले बजेटमा प्रस्तावित कार्यक्रम सम्पन्न गर्नेतर्फ ध्यान दिन अर्थमन्त्रीलाई आग्रह गरे। रासस


प्रकाशित : आइतबार, असार ८ २०८२१५:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend