बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

धजे-मकरजुङ गाउँ : एक गाग्री पानीका लागि घण्टौँ हिँड्नुपर्थ्यो, आजकाल घरआँगनमै बग्छ धारा

आइतबार, असार ८ २०८२
धजे-मकरजुङ गाउँ : एक गाग्री पानीका लागि घण्टौँ हिँड्नुपर्थ्यो, आजकाल घरआँगनमै बग्छ धारा
फाइल तस्बिर

खानेपानी आयोजनाबाट यहाँका नौसय ४० उपभोक्ता लाभान्वित भएका छन्।

इलाम- सूर्योदय नगरपालिका-१ स्थित धजे-मकरजुङ गाउँमा वर्षौँदेखि डोकामा पानी ओसारेर गुजारा गर्दै आएका बासिन्दाको घरआँगनमा अहिले स्वच्छ खानेपानीको धारो बगिरहेको छ।

'डोकामा पानी ल्याउने तीतो दिन सम्झिँदा अचेल सपनाजस्तै लाग्छ', ८० वर्षीय वीरबहादुर राईले भने। ६० वर्षीया तुलसा सापकोटा विगत सम्झिँदै भन्छिन्, 'पहिला एक गाग्री पानीका लागि घण्टौँ हिँड्नुपर्थ्यो, आजकल घरमा धारा बग्दा जीवन नै फेरिएको महसुस हुन्छ।'

विसं २०७५ देखि सुरु गरिएको धजे-मकरजुङ खानेपानी आयोजना २०८१ साल चैत २ गते सम्पन्न भइ हाल एकसय ६७ घरमा धारा जडान गरिएको छ।

कोशी प्रदेश सरकारको ५८ लाख २० हजार रूपैयाँमा आयोजना सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष टीका सापकोटाले बताए। जोगमाई खोलाबाट ९.८ किलोमिटर लामो पाइपलाइन बिछ्याएर ल्याइएको पानी सञ्चालनमा आएसँगै यहाँका नौसय ४० उपभोक्ता लाभान्वित भएका छन्।

शनिबार मकरजुङको सार्वजनिक भवनमा एक भव्य समारोहका बीच कोशी प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बू र सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले संयुक्त रूपमा आयोजनाको उद्घाटन गरे।

प्रदेशसभा सदस्य लिम्बूले सुक्खा क्षेत्रसम्म पानी ल्याउन अनेकौँ चुनौती झेलिएको उल्लेख गरे। 'अब धजे-मकरजुङका बासिन्दाले शुद्ध पानी पाउनुभएको छ, खानेपानी हाहाकार अन्त्य भएको छ', उनले भने।

उपभोक्ता समितिका अध्यक्ष सापकोटाका अनुसार योजनाअन्तर्गत ५० घनमिटर क्षमताका दुई र १० घनमिटर क्षमताका तीन थान ट्यांकी निर्माण गरिएका छन्।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापा चन्द्रगढीका प्रमुख विकास काफ्लेले आयोजना निर्माणले स्थानीयको समस्या समाधान भएको बताए। रासस


प्रकाशित : आइतबार, असार ८ २०८२११:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend