बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

विश्वकै ठूलो पेट्रोलियम ढुवानीको सामुद्रिक मार्ग बन्द गर्ने इरानको चेतावनी

आइतबार, असार ८ २०८२
विश्वकै ठूलो पेट्रोलियम ढुवानीको सामुद्रिक मार्ग बन्द गर्ने इरानको चेतावनी

विभिन्न रेटिङ एजेन्सी तथा अर्थशास्त्रीहरूले यही मार्ग बन्द हुने वा नहुने विषयले धेरै कुरा फरक पार्ने बताउँदै आएका छन्।

काठमाडौं- इजरायलले इरानमाथि आक्रमण सुरू गरेको दोस्रो हप्ता प्रवेश गरेसँगै संयुक्त राज्य अमेरिकाले पनि इरानमाथि आक्रमण गरेको छ। अमेरिकाले इरानको गुप्त आणविक कार्यक्रम भएको ठाउँमा आक्रमण गरेको जानकारी दिएको छ। 

अमेरिकाले इरानमाथि आक्रमण गरेसँगै इरान पनि आक्रमक हुने संकेत दिएको छ। मध्यपूर्वकै शक्तिशाली सैन्यशक्ति मानिएको इजरायलसँग बलियो प्रतिकार गर्न सफल इरानले अब अमेरिकी सैन्य आधारमा पनि आक्रमण गर्ने घोषणा गरेको छ। 

अमेरिकी सैन्य आधारमा आक्रमणसँगै इरानले विश्वकै उपभोक्ता बजारलाई तरंगित बनाउने अर्को चेतावनी पनि दिएको छ।

इरानले विश्वकै ठूलो मध्यको एक पेट्रोलियम ढुवानी मार्ग बन्द गरिदिने चेतावनी दिएको छ। इरान र ओमनको बीचमा पर्ने द स्ट्रेट अफ होर्मुजको यो मार्ग बन्द गरिदिने इरानका सर्वोच्च नेताका सल्लाहकारले चेतावनी दिएका छन्। 

विश्वको २० देखि ३० प्रतिशतसम्म पेट्रोलियम यही मार्ग भएर जाने गरेको छ। विशेषगरी भारत र चीनमा यही मार्ग भएर तेल आपूर्ति हुने गरेको छ।

संयुक्त राज्य अमेरिका आफै पेट्रोलियममा आत्मनिर्भर भएपछि यसको आवश्यकता भने अहिले उसलाई छैन। यसअघि पनि इरानले बेलाबेलामा बन्द गरिदिने चेतावनी दिएको थियो। तर यसपालि भने मुलुक युद्धमा गएका कारण बन्द गरिदिने जोखिम धेरै छ। 

यदि इरानले यो मार्ग बन्द गरिदियो भने कच्चा तेलको मूल्य १५० डलर प्रतिब्यारेलसम्म पुग्ने अनुमान गरिएको छ। यस्तो हुँदा संसारभर मूल्यवृद्धिले विश्व अर्थतन्त्र नै मन्द हुने जोखिम रहेको छ। 

विभिन्न रेटिङ एजेन्सी तथा अर्थशास्त्रीहरूले यही मार्ग बन्द हुने वा नहुने विषयले धेरै कुरा फरक पार्ने बताउँदै आएका छन्। 


प्रकाशित : आइतबार, असार ८ २०८२१०:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend