बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

वीरगञ्ज नाकाबाट ११ महिनामा १ खर्ब ७४ अर्ब मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात

आइतबार, असार ८ २०८२
वीरगञ्ज नाकाबाट ११ महिनामा १ खर्ब ७४ अर्ब मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात

समग्रमा गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पाँच थरिका पेट्रोलियम पदार्थ आयात भने एक अर्ब ६ करोडले घटेको छ। सो अवधिमा मूल्यका आधारमा पेट्रोलियम पदार्थको आयात घटे पनि सोबाट प्राप्त हुने राजस्व भने ११ दशमलव ६६ प्रतिशत अर्थात् सात अर्ब ६४ करोड रुपैयाँले बढेको छ।

पर्सा- चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब ७४ अर्ब ९ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभीएसन टर्बाइन फ्युल (एटीएफ) र मट्टितेल आयात भएको हो।

समग्रमा गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पाँच थरिका पेट्रोलियम पदार्थ आयात भने एक अर्ब ६ करोडले घटेको छ। सो अवधिमा मूल्यका आधारमा पेट्रोलियम पदार्थको आयात घटे पनि सोबाट प्राप्त हुने राजस्व भने ११ दशमलव ६६ प्रतिशत अर्थात् सात अर्ब ६४ करोड रुपैयाँले बढेको छ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार कार्यालयले चालु आवको ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट भएको छ। यहाँको राजस्व पेट्रोलियम पदार्थको आयात र  सवारीसाधनको आयातमा निर्भर रहेको छ।

चालु आवको ११ महिनामा पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट कार्यालयले ७३ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको छ। जबकि गत आवको सोही अवधिमा पाँचै थरिका पेट्रोलियम पदार्थको आयातबाट ६५ अर्ब ५४ करोड रुपैयाँ संकलन भएको थियाे। वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको जेठ मसान्तसम्म ८९ अर्ब ७६ करोड मूल्य पर्ने १० लाख ३० हजार २५३ किलोलिटर डिजेल आयात भएको छ।

गत आवको सोही अवधिमा भने ९३ अर्ब ६३ करोड मूल्य पर्ने ९ लाख २१ हजार २७५ किलोलिटर डिजेलको आयात भएको छ। डिजेल आयातबापत कार्यालयले ४१ अर्ब तीन करोड रुपैयाँ राजस्व संकलन गरेको छ। गत आवको सोही अवधिमा भने ३६ अर्ब चार करोड रुपैयाँ मात्रै संकलन गरेको थियो। त्यसैगरी, चालु आवको ११ महिनामा ३५ अर्ब ३४ करोड रुपैयाँको चार लाख १३ हजार ५०४ किलोलिटर पेट्रोल आयात भएको छ।

जबकि गत आवको ११ महिनामा ३६ अर्ब चार करोडको तीन लाख ६१ हजार सात २७ किलोलिटर पेट्रोलको आयात भएको छ। पेट्रोल आयातबाट कार्यालयले २३ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन गर्यो भने गत आवको सोही अवधिमा २० अर्ब ७३ करोड रुपैयाँ संकलन गरेको थियाे। यो नाका हुँदै चालु आवको ११ महिनामा ३३ अर्ब ३५ करोड रुपैयाँको २९ करोड १४ लाख २० हजार २०९ किलोग्राम एलपिजी ग्यास आयात भएको छ।

जबकि गत आवको सोही अवधिमा २७ अर्ब ७१ करोडको २५ करोड ७९ लाख ३८ हजार ९ सय ७६ किलोग्राम एलपिजी ग्यास आयात भएको छ। ग्यास आयातबापत ६ अर्ब  २४ करोड राजस्व संकलन गर्यो भने गत आवको सोही अवधिमा ग्यास आयातबाट पाँच अर्ब १६ करोड रुपैयाँ संकलन गरेको छ। वीरगञ्ज नाका हुँदै चालु आवको ११ महिनामा १५ अर्ब तीन करोड मूल्यको एक लाख ६७ हजार तीन सय ९८ किलोलिटर एटीएफ आयात भएको छ।

जबकि गत आवको ११ महिनामा भने १७ अर्ब ११ करोड मूल्यको एक लाख ६१ हजार आठ सय ९२ किलोलिटर एटिएफ आयात भएको छ। एटिएफ आयातबापत दुई अर्ब ३५ करोड संकलन गर्न सफल भएको छ। जबकि गत आवको सोही अवधिमा दुई अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।

यो नाका हुँदै चालु आवको ११ महिनामा ५९ करोड मूल्य पर्ने ६ हजार सात सय ३० किलोलिटर मट्टितेल आयात भएको छ। गत आवको सोही अवधिमा भने ६३ करोड मूल्यको ६ हजार एकसय २० किलोलिटर मट्टितेल आयात भएको छ। मट्टितेल आयातबाट १६ करोड रुपैयाँ राजस्व संकलन गर्यो भने गत आवको सोही अवधिमा १६ करोड नै राजस्व संकलन गरेको थियो। रासस


प्रकाशित : आइतबार, असार ८ २०८२०९:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend