शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

किसानलाई चैते धान थन्क्याउने चटारो

आइतबार, असार ८ २०८२
किसानलाई चैते धान थन्क्याउने चटारो

तनहुँ जिल्लामा किसानहरू चैते धान भित्र्याउने चटारोमा छन्। सिँचाइ सुविधा भएको क्षेत्रका अधिकांश फाँटमा अहिले धान काट्ने चटारो चलिरहेको छ भने असारे धान रोपाइँ सुरु भइसकेको छ।

डुम्रे- तनहुँ जिल्लामा किसानहरू चैते धान भित्र्याउने चटारोमा छन्। सिँचाइ सुविधा भएको क्षेत्रका अधिकांश फाँटमा अहिले धान काट्ने चटारो चलिरहेको छ भने असारे धान रोपाइँ सुरु भइसकेको छ।

जिल्लाको कृषि ज्ञान केन्द्रका अनुसार तनहुँमा कुल ९ हजार ४६४ हेक्टरमा धानखेती हुनेमध्ये १ हजार ८०२ हेक्टरमा चैते धानखेती हुँदै आएको छ। मौसमअनुकूलता र सिँचाइको सुविधा पुगेका कारण विगत केही वर्षदेखि चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दो छ।

सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारका अनुसार 'मनसुन सुरु भएसँगै अहिले चैते धान थन्क्याउने व्यस्तता छ। थन्क्याउने कार्य सकेलगत्तै बर्खे धान रोप्नुपर्ने भएकाले किसानहरू दिनरात नभनी खटिएका छन्।'

गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा ३७ हजार ९४२ मेट्रिक टन धान उत्पादन भएकोमा आठ हजार ७०४ मेट्रिक टन चैते धान थियो। चालु वर्षको उत्पादन तथ्याङ्क संकलनको काम अझै बाँकी रहेको छ। परियारका अनुसार, 'यस वर्ष सिँचाइ सुविधा विस्तारसँगै उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ।'

व्यास, भानु, म्याग्दे, आँबुखैरेनी, शुक्लागण्डकी, भिमाद, देवघाट, बन्दीपुर, ऋषिङ र घिरिङ पालिकाका धेरैजसो फाँटमा चैते तथा बर्खे दुवै धानखेती हुँदै आएको छ। भानुको चुँदी, खहरे, सतीघाट; व्यासको घाँसीकुवा, साँगे, कलेस्ती, गजौडे; म्याग्देको गुणादी, थर्पु, सेरा; र शुक्लागण्डकीको ढोरफिर्दी लगायतका फाँटहरू प्रमुख चैते धान उत्पादन क्षेत्र मानिन्छन्।

चैते धान प्रायः चिउरा उत्पादनका लागि प्रयोग गरिन्छ। जलवायु अनुकूल र सिँचाइको सुनिश्चितता भएमा चैते धानखेती ग्रामीण आम्दानी वृद्धिका लागि प्रभावकारी विकल्प बन्ने कृषि विज्ञहरूको भनाइ छ। रासस


प्रकाशित : आइतबार, असार ८ २०८२०७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend