बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

अमेरिकी हवाई आक्रमणमा इरानका तीन प्रमुख आणविकस्थल ध्वस्त

आइतबार, असार ८ २०८२
अमेरिकी हवाई आक्रमणमा इरानका तीन प्रमुख आणविकस्थल ध्वस्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बिहान इरानका तीन प्रमुख आणविकस्थलमा हवाई आक्रमण गरेको पुष्टि गरेका छन्। ट्रम्पले उक्त आक्रमण 'अत्यन्त सफल' रहेको दाबी गर्दै अब समय 'शान्ति र कूटनीतिको' भएको बताएका छन्।

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बिहान इरानका तीन प्रमुख आणविकस्थलमा हवाई आक्रमण गरेको पुष्टि गरेका छन्। ट्रम्पले उक्त आक्रमण 'अत्यन्त सफल' रहेको दाबी गर्दै अब समय 'शान्ति र कूटनीतिको' भएको बताएका छन्।

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसल मा पोस्ट गर्दै भनेका छन्, 'हामीले इरानका तीन आणविकस्थलहरु फोर्डो, नटान्ज र इस्फहानमा हाम्रो धेरै सफल आक्रमण सम्पन्न गरेका छौँ। सबै विमानहरू अब इरानको हवाई क्षेत्रबाहिर छन्।'

उनले थप लेखेका छन्, 'मुख्य स्थल फोर्डोमा पूर्ण मात्रामा बमहरू खसालिएको छ। सबै विमानहरू सुरक्षित रूपमा घर फर्किंदै छन्। हाम्रा महान् अमेरिकी योद्धाहरूलाई बधाई। विश्वमा यो गर्न सक्ने अर्को कुनै सैन्य शक्ति छैन। अब शान्तिको समय हो!'

अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार, ट्रम्पले अहिले थप आक्रमणको योजना नराखेको र यो आक्रमण इरानलाई पुनः वार्तामा फर्काउने प्रयासको भाग भएको बताएका छन्। सीएनएनका ह्वाइट हाउस संवाददाता केभिन लिपट्याकका अनुसार, ट्रम्पले केही दिनदेखि इरानको आणविक पूर्वाधार नष्ट गर्न सैन्य विकल्प अपरिहार्य भएको बताएका थिए।

'उनी यो कदमपछि इरानका नेताहरू युद्ध अन्त्य गर्न सहमत हुने आशामा छन्,' स्रोतहरूलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ। तर अमेरिकी सेना भने इरानी जवाफी कारबाहीका लागि उच्च सतर्कतामा राखिएको छ।

इरानी अर्धसरकारी समाचार संस्था तास्नीमका अनुसार, कुम प्रान्तीय संकट व्यवस्थापन समिति प्रवक्ता मोर्तेजा हैदारीले फोर्डो आणविकस्थल नजिकको क्षेत्रमा हवाई आक्रमण भएको पुष्टि गरेका छन्। 'फोर्डो आणविकस्थल क्षेत्रको केही भागमा हवाई हमला भएको छ,' उनले भनेका छन्।


प्रकाशित : आइतबार, असार ८ २०८२०६:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend