लुम्बिनी- नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा २०८२ असार ६ गते भगवान बुद्धको पवित्र जन्मस्थल तथा युनेस्को विश्व सम्पदा स्थलको रुपमा परिचित लुम्बिनीमा बृहत योग प्रदर्शनको आयोजना गरेकाे छ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती र संघकाे युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी प्रमुख अतिथिको रूपमा उपस्थित थिए। भगवान बुद्धको पवित्र जन्मभूमिमा यस महत्त्वपूर्ण कार्यक्रमको आयोजना गरेकोमा तथा भारत र नेपालबीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ गरेकोमा उनीहरुले भारतीय राजदूतावासलाई धन्यवाद व्यक्त गरेका छन्।
उक्त कार्यक्रममा लुम्बिनी विकास कोषका वरिष्ठ अधिकारीहरूका साथै यस क्षेत्रका पाँच सयभन्दा बढी योगमा अभिरुची राख्नेहरुले सहभागिता जनाएका थिए। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतमा उत्पत्ति भएको एउटा प्राचीन अभ्यासको रुपमा रहेको योग सन् २०१४ मा संयुक्त राष्ट्र संघले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस घोषणा गरेपछि एक विश्वव्यापी आन्दोलनका रूपमा विकसित भएको कुरामा जोड दिए।
उनले शान्ति र सद्भावको प्रतीकको रूपमा व्यापक रूपमा परिचित लुम्बिनी योगका कालातीत मूल्यमान्यताहरू मनाउनका लागि साँच्चै नै उपयुक्त स्थल भएको बताएका छन्। राजदूत श्रीवास्तवले कार्यक्रम आयोजना गर्न सहयोग गरेकोमा लुम्बिनी विकास कोषप्रति आभार व्यक्त गर्दै लुम्बिनीलाई आध्यात्मिक र धार्मिक गन्तव्यका रूपमा प्रबर्द्धन गर्न यसले खेल्ने भूमिका उपर जोड दिए।
यो कार्यक्रम भारतीय राजदूतावासले नेपालका विभिन्न सहरहरूमा ११औँ अन्तर्राष्ट्रिय योग दिवस मनाउन आयोजना गरिरहेको कार्यक्रमहरूको श्रृंखलाको एक हिस्सा थियो। भारतीय राजदूतावासले पोखरा महानगरपालिकासँगको सहकार्यमा शनिबार ११औँ अन्तर्राष्ट्रिय योग दिवस मनाउन पोखरा रंगशालामा विशाल योग प्रदर्शन आयोजना गर्ने जनाएकाे छ।