बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

१० करोड ९४ लाख लागतमा तयार भयो ‘डावरटोल-नैनपुरटोल खानेपानी आयोजना’, १५ सय घरधुरी लाभान्वित हुने

बिहीबार , असार ५ २०८२
१० करोड ९४ लाख लागतमा तयार भयो ‘डावरटोल-नैनपुरटोल खानेपानी आयोजना’, १५ सय घरधुरी लाभान्वित हुने

आयोजनाबाट एक हजार ५ सय घरधुरी लाभान्वित हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरले जनाएको छ।

सिरहा- यहाँको धनगढीमाई नगरपालिका-११, १२ र १३ मा ‘डावरटोल-नैनपुरटोल खानेपानी आयोजना’ निर्माण सम्पन्न भएको छ। निर्माण सुरु भएको पाँच वर्षपछि १० करोड ९४ लाख रूपैयाँको लागतमा सो आयोजना सम्पन्न भएको हो।

खानेपानीमन्त्री प्रदीप यादवले आयोजनाको आज उद्घाटन गरे। आयोजनाबाट एक हजार ५ सय घरधुरी लाभान्वित हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरले जनाएको छ।

उद्घाटन कार्यक्रममा खानेपानीमन्त्री यादवले यी तीनैवटा वडाका उपभोक्ताको वर्षौँदेखिको शुद्ध खानेपानी पिउने सपना आज साकार भएको बताए। उनले भने, 'हामीले आजदेखि धनगढीमाई नगरपालिकाको वडा नं ११, १२ र १३ का नागरिकलाई सुरक्षित एवं शुद्ध खानेपानीको अभावबाट मुक्त गराएका छौँ। यो सरकारको नागरिकप्रतिको प्रतिबद्धता पनि हो।'

स्थानीय तहसँगको सहकार्यद्वारा देशभरका नागरिकलाई सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउने सरकारको प्रतिबद्धता रहेको उनले बताए।

खानेपानी सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले मन्त्रालयको नीति तथा योजनाले नागरिकको हित र समुन्नतिलाई केन्द्रबिन्दुमा राखी सुरक्षित, भरपर्दो र दिगो खानेपानी सेवा प्रवाह सुनिश्चित गर्ने लक्ष्य रहेको उल्लेख गरिन्।

त्यसैगरी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामुकमार श्रेष्ठले खानेपानी विभागले मानव विकास सूचकांक कम भएका स्थानमा प्राथमिकताका साथ खानेपानी योजना कार्यान्वयन गरिरहेको र मधेशका २८० वटा अधुरो योजना सञ्चालन गर्न नीतिगत सुधार गरी कार्यान्वयनको तयारीमा रहेको जानकारी दिए।

मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह तथा धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशंकर महतोले यहाँ सम्पन्न खानेपानी आयोजनाले स्थानीयको पिउने पानी समस्या दीर्घकालीन रुपमा समाधान भएकोमा खुसी व्यक्त गरे। रासस


प्रकाशित : बिहीबार , असार ५ २०८२१६:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend