बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

मितेरी सहकारीको बचत अपचलन : कम्बोडियाबाट पक्राउ परेका भण्डारीमाथि अनुसन्धान सुरु, ठगी गर्न नागरिकता र राहदानी किर्ते

बिहीबार , असार ५ २०८२
मितेरी सहकारीको बचत अपचलन : कम्बोडियाबाट पक्राउ परेका भण्डारीमाथि अनुसन्धान सुरु, ठगी गर्न नागरिकता र राहदानी किर्ते

प्रतिवादी ज्योतिबहादुर भण्डारीले कास्की र बर्दियाबाट दुई वटा बेग्लाबेग्लै नागरिकता लिएको र सोही आधारमा दुईवटा राहदानी पनि लिएको पाइएको छ।

काठमाडौं- केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको करोडौँ रकम ठगी गरी फरार रहेका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

प्रहरी प्रधान कार्यालयबाट खटिइएको प्रहरीले टोलीले ४२ वर्षीय भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी बुधबार राति नेपाल ल्याएको थियो।

सो सहकारीको एकसय ४४ जना बचतकर्ता र सञ्चालकसमेतको गरी १४ करोड रूपैयाँभन्दा बढी रकम ठगी गरेको मुद्दामा फरार तत्कालीन महाप्रबन्धक ज्योति गुरुङमार्फत उनले पनि सहकारीको रकम अपचलन गरी विदेशमा लुकिछिपी बस्दै आएको अनुसन्धानबाट खुलेको छ। उनलाई पक्राउ गर्न प्रहरीले गत कात्तिक १३ गते ‘रेड नोटिस’ जारी गरेको थियो। 

मितेरी सहकारीका महाप्रबन्धक गुरुङले अपचलन गरेको करोडौँ रकम थाइल्याण्डमा बसोबास गर्ने भण्डारीले चलाएको र उनले सो रकम फिर्ता गराइदिने भनी सहकारीका पदाधिकारी र भण्डारीबीच सम्पर्क गराएको पाइएको प्रहरीले जनाएको छ।

प्रतिवादी भण्डारीले कास्की र बर्दियाबाट दुईवटा बेग्लाबेग्लै नागरिकता लिएको र सोही आधारमा दुईवटा राहदानी पनि लिएको पाइएको छ। उनले अन्य व्यक्तिहरुको राहदानी तथा नागरिकताको विवरण परिवर्तन गरी काल्पनिक व्यक्तिहरुको विवरण राखी किर्ते गरेको नागरिकता र राहदानीलाई ठगी गर्न प्रयोग गरेको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , असार ५ २०८२१५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend