बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पेट्रोलियम अन्वेषण गरिएको दैलेख जलजलेमा भेटियो मिथेन, १ अर्ब १० करोड घनमिटर ग्यास रहेको अनुमान

बिहीबार , असार ५ २०८२
पेट्रोलियम अन्वेषण गरिएको दैलेख जलजलेमा भेटियो मिथेन, १ अर्ब १० करोड घनमिटर ग्यास रहेको अनुमान

परीक्षण उत्पादनको काम आगामी एक वर्षभित्र सम्पन्न गरिने लक्ष्य रहेको छ। यसका लागि चिनियाँ कम्पनीसँग अर्को चरणको सम्झौता सरकारले गर्ने निर्णय गरिसकेको छ।

काठमाडौं- नेपालका लागि ऊर्जा सम्भावनाको सन्दर्भमा महत्वपूर्ण मानिएको दैलेखको भैरवी गाउँपालिका-१ जलजलेमा पेट्रोलियम अन्वेषण गर्दा मिथेन ग्यास भेटिएको छ।

चिनियाँ सरकारको अनुदानमा खानी तथा भूगर्भ विभागमार्फत गरिएको पेट्रोलियम अन्वेषणमा मिथेन ग्यास फेला परेको हो। २०८१ बैशाख २३ गतेदेखि सुरु गरिएको ड्रिलिङको काम २०८१ माघमा सकिएको थियो। 

खानी तथा भूगर्भ विभागका प्रवक्ता दिनेश कुमार नापितका अनुसार चिनियाँ प्राविधिक टोलीले दैलेखको भैरवी गाउँपालिका-१, जलजलेमा ४ हजार १३ मिटर गहिराइसम्मको ड्रिलिङ सम्पन्न गरेपछि पाएको नमुना परीक्षणका लागि चीन लगिएको थियो। टोलीले विभागलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा झण्डै १ अर्ब १० करोड घनमिटर मिथेन ग्यास रहेको उल्लेख छ।

‘यो प्रारम्भिक प्रतिवेदन हो, अब परीक्षण उत्पादन सुरु गरेर थप अध्ययन गर्नुपर्नेछ,’ प्रवक्ता नापितले भने।

उनका अनुसार परीक्षण उत्पादनको काम आगामी एक वर्षभित्र सम्पन्न गरिने लक्ष्य रहेको छ। यसका लागि चिनियाँ कम्पनीसँग अर्को चरणको सम्झौता सरकारले गर्ने निर्णय गरिसकेको छ।

चीन सरकारको २ अर्ब ५० करोड रुपैयाँबराबरको अनुदान सहयोगमा सञ्चालित परियोजनामा चिनियाँ टोलीले अन्वेषण कार्य पूर्ण रूपमा निःशुल्क गरेको थियो। विभागका अनुसार दैलेखमा चारवटा सम्भावित ‘पकेट’ हरूमध्ये सबैभन्दा ठूलो पकेटमा ड्रिलिङ गरिएको हो।

पेट्रोलियम पदार्थको सम्भावनाका आधारमा २०१९ फेब्रुअरी २८ मा नेपाल र चीन सरकारबीच सम्झौता भएको थियो। तीन चरणमा तीन वर्षभित्र अनुसन्धान सक्ने उद्देश्यसहित अघि बढाइएको उक्त परियोजनामा कोभिड महामारीका कारण ढिलाइ भएको थियो।

अब परीक्षण उत्पादनका लागि थप ड्रिलिङ र प्रवाह परिक्षण गरी ग्यासको परिमाण, दबाब, आर्थिक मूल्य, उत्खनन् लागतजस्ता पक्षको विस्तृत अध्ययन गरिनेछ। यस्ता अध्ययनको आधारमा व्यावसायिक उत्पादनको सम्भावना पुष्टि हुने खानी तथा भूगर्भ विभागले जनाएको छ।

मिथेन ग्यास नेपालका लागि स्वदेशी ऊर्जाको नयाँ स्रोत बन्न सक्ने विज्ञहरू बताउँछन्। वातावरणमैत्री र घरायसी तथा औद्योगिक प्रयोजनमा प्रयोग हुन सक्ने मिथेन ग्यास उत्पादन हुन सकेमा देशको ऊर्जा आयातको निर्भरता घटाउन मद्दत पुग्नेछ।


प्रकाशित : बिहीबार , असार ५ २०८२१२:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend