बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

बिहीबार , असार ५ २०८२
परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला केही दिनमा विकसित घटनाक्रमपछि नेपाली नागरिकलाई ती देशमा यात्रासम्बन्धी जानकारी (ट्राभल एडभाइजरी) जारी गरेको छ ।

काठमाडौं- परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला केही दिनमा विकसित घटनाक्रमपछि नेपाली नागरिकलाई ती देशमा यात्रासम्बन्धी जानकारी (ट्राभल एडभाइजरी) जारी गरेको छ।

मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत नेपालबाट इजरायल, इरान वा मध्यपूर्वका अन्य मुलुक भ्रमण वा वैदेशिक रोजगारीमा जान चाहनुहुने नेपाली नागरिकका सो जानकारी जारी गरेको हो। इजरायल र इरानको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहनुभएका नेपाली नागरिकलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रा नगर्नु हुन मन्त्रालयले अनुरोध गरेको छ।

परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीच विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको छ। मन्त्रालयले बुधबार यात्रासम्बन्धी जानकारी गराउँदै त्यहाँ रहेका नेपालीहरू हालसम्म सुरक्षित रहेको र उनीहरूको हितको रक्षा गर्न आवश्यकताअनुसार कदम चालिने बताएको छ। 

मन्त्रालयले आफ्नो सुरक्षालाई उच्च प्राथमिकतामा राखी तोकेको समय र स्थानमा बाहेक घर वा बंकर/सेल्टरबाट बाहिर ननिस्कनु निर्देशन दिएको छ। 

'इजरायल सरकारले जारी गरेका सुरक्षा सतर्कता, यात्रा, आवागमन तथा सुरक्षित स्थानसम्बन्धी सूचना, मापदण्ड तथा जानकारी निरन्तर रूपमा लिन र पालना गर्नुहुन अनुरोध छ,' परराष्ट्र मन्त्रालयले भनेको छ। परराष्ट्रले नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन पनि अनुरोध गरेको छ। 

परराष्ट्र मन्त्रालयले भनेको छ, 'नेपाली राजदूतावाससँग नियमित रुपमा सम्पर्कमा रहनु हुन तथा परराष्ट्र मन्त्रालय र राजदूतावासले जारी गरेका सूचना तथा यात्रासम्बन्धी जानकारी नियमित रुपमा हेर्नु हुन अनुरोध छ।'

इजरायल र इरानको भ्रमण वा वैदेशिक रोजगारी तथा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहेका नेपाली नागरिकलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रा नगर्न मन्त्रालयले अनुरोध गरेको छ। 

'इजरायल र इरानबाहेक मध्यपूर्वका अन्य मुलुकको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहनुभएका नेपाली नागरिकहरूलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रालाई स्थगित गर्नु हुन अनुरोध छ,' मन्त्रालयले भनेको छ।  रासस


प्रकाशित : बिहीबार , असार ५ २०८२०६:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend