बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

देशभर मनसुन सक्रिय : केही प्रदेशमा भारी वर्षाको सम्भावना

बिहीबार , असार ५ २०८२
देशभर मनसुन सक्रिय : केही प्रदेशमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका धेरै भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव देखिएको छ।

काठमाडौं- नेपालमा मनसुनी प्रणाली सक्रिय भएसँगै अधिकांश भागमा वर्षा हुने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका धेरै भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव देखिएको छ।

त्यस्तै, देशको पश्चिमी भू-भागमा पश्चिमी वायु र स्थानीय वायुले समेत आंशिक प्रभाव पारिरहेको छ। साथै, भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा विकसित न्यूनचापीय प्रणालीको असर पनि नेपालको मौसममा देखिएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बिहीबार देशभर साधारणतया बदलीदेखि पूर्ण बदलीको अवस्था रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। यसका साथै देशका उच्च–पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

बिहीबार रातिको मौसम पनि आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाको अनुमान छ।

विशेषगरी भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। नदी तटीय र पहाडी क्षेत्रका बासिन्दालाई बाढी, पहिरो र जमिन चिप्लिने घटनाप्रति सतर्क रहन आग्रह गरिएको छ। 


प्रकाशित : बिहीबार , असार ५ २०८२०६:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend