शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

जुम्लामा भेडापालक किसानलाई गोठालो भत्ता

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार ४ २०८२
जुम्लामा भेडापालक किसानलाई गोठालो भत्ता

कर्णाली प्रदेशको पशुपक्षी विकास निर्देशनालयले जुम्लालगायत कालिकोट, हुम्ला, मुगु र डोल्पामा यो कार्यक्रम लागु गरेको छ।

जुम्ला- जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका लागि प्रोत्साहन भत्ता अर्थात् (गोठालो भत्ता) को व्यवस्था गरिएपछि जुम्लाका किसान उत्साहित भएका छन्।

भेडापालन प्रवरद्धन कार्यक्रम अन्तर्गत यहाँका करिब २३० जना भेडापालक किसानलाई प्रोत्साहन भत्ता अर्थात् (गोठालो भत्ता) प्रदान गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले जानकारी दिए। 

कार्यालयबाट प्रदान गरिएको उक्त कार्यक्रमबाट भेँडा पालनमा थप व्यवसायमा टेवा पुगेको छ। जिल्लाको सिंजा गाउँपालिका-६ का भेँडापालक किसान भीमबहादुर रावतले भने, 'यो आवमा १८ हजार प्रोत्साहन भत्ता पाएको छु। अहिले १ सय भन्दाबढी भेडा रहेका छन्। सो रकमले भेँडाको रोग उपचारदेखि अन्य खर्चमा सहयोग पुगेको भेँडापालक किसान रावतको भनाइ छ।' 

चालु आर्थिक वर्षमा यहाँका २३० जना भेँडा किसानले प्रोत्साहन भत्ता पाएका छन्। कर्णाली प्रदेश सरकारले ५० भन्दा बढी भेडा पाल्ने किसानलाई भत्ता दिँदै आएको छ। जिल्लामा करिब १७ सयभन्दा बढी भेडा किसान छन्। जहाँ ८८ हजार ३८८ भेँडा र ४३ हजार ३०६ बाख्रा किसानले पालिएका छन्।

जिल्लाभर ६९ हजार हेक्टर चरण क्षेत्र रहेको छ। सबैभन्दा बढी पातारासी गाउँपालिकामा भेँडा पाल्ने किसान रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताए।

भौतिक संरचना, खर्क सुधार र चरण क्षेत्रको विस्तारमा यहाँका स्थानीय तहको ध्यान जान नसकेको तिला गाउँपालिका-१ भेँडा पालक किसान रुञ्ज रावतको भनाइ छ। 

कर्णाली प्रदेशको पशुपक्षी विकास निर्देशनालयले जुम्लालगायत कालिकोट, हुम्ला, मुगु र डोल्पामा यो कार्यक्रम लागु गरेको छ। रासस 


प्रकाशित : बुधबार, असार ४ २०८२१३:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend