बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

कोदो र मकैखेती छाडेर किबीखेतीमा किसान

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार ४ २०८२
images
images
कोदो र मकैखेती छाडेर किबीखेतीमा किसान

'त्यही लगानीले अहिलेसम्म काम गरेको छ, यो बहुवर्षीय भएका कारण एक पटक लगाएपछि ५० वर्षसम्म आम्दानी लिन सकिन्छ, त्यसैले यसैमा रमाएको छु।'

images
images

गुल्मी-  सत्यवति गाउँपालिका-८ भार्षेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थालेका छन्।

images
images
images

परम्परागत रुपमा कोदो र मकै उत्पादन हुँदै आएको उनको बारी यतिबेला किबीका बोटले ढपक्कै ढाकेको छ। उनले किबीखेती गरेर वार्षिक ६ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्। 

images
images

थापा कृषकमात्र नभएर जनप्रतिनिधि पनि हुन्। सत्यवती-८ का सदस्य थापाले गत ११ वर्षदेखि किबीखेती गर्न सुरु गरेका हुन्। उनले आठ रोपनी जग्गामा किबीखेती गर्दै आएका छन्। उनको बारीमा यलिसन, हेवार्ड, रेड, गोल्डेन, ब्रुनो, मोन्टी र रेड गरी छ जातका किबीका बिरुवा छन्।

images
images
images

जलवायु र भौगोलिक संरचनाको हिसाबले भार्षे किबीखेतीका लागि उपयुक्त ठाउँ मानिन्छ। उनले गत वर्ष चार लाख रुपैयाँको किबी र दुई लाख रुपैयाँको किबीका बिरुवा बिक्री गरेको बताए। तीन वर्षबाटै किबीले उत्पादन दिन थालेपछि थापालाई किबीखेती गर्ने उत्प्रेरणा जागेको हो। 

एउटै बोटमा ५० देखि एक क्वीन्टलसम्म किबी फल्ने गरेको छ। उनको बारीमा अहिले एक सय ५० किबीका बोट रहेका छन्। सुरुमा थापाले तार, पाइप र खम्बा बनाउनका लागि आठ लाख खर्चेर व्यावसायिक रुपमा किबीखेती गर्न सुरु गरेका हुन्। 

'त्यही लगानीले अहिलेसम्म काम गरेको छ, यो बहुवर्षीय भएका कारण एक पटक लगाएपछि ५० वर्षसम्म आम्दानी लिन सकिन्छ, त्यसैले यसैमा रमाएको छु', उनले भने।

किबीमा अन्य जातका फलफुलमा भन्दा रोग खासै नलाग्ने भएको उनले बताए। 'वर्षमा दुई पटक हाँगा काटछाँट गर्नुपर्छ, गोठे मल मात्र प्रयोग गर्दै आएको छु, त्यसैअनुसार उत्पादन पनि राम्रो हुँदै गएको छ', थापाले भने। 

उनले उत्पादन गरेको किबी बजारमा दुई सयदेखि तीन सय रुपैयाँसम्ममा बिक्री हुने गर्दछ। भार्षेको किबी स्थानीय बजारदेखि पाल्पा र बुटवलसम्म पुग्ने गरेको छ। उनले किबीलाई प्रशोधन गरेर वाइन बनाउन सुरु गरेका छन्।

किबीलाई बजारको खासै समस्या नभएको थापाले बताए। थापाले पाँच वर्षदेखि किबीको नर्सरीसमेत गर्दै आएका छन्। उनको नर्सरीमा यतिबेला आठ हजार किबीका नयाँ बिरुवा रहेका छन्। एउटा बिरुवालाई एक सय ५० देखि दुई सय रुपैयाँ पर्दछ।

गाउँपालिकाले भार्षेलाई किबीको पकेट क्षेत्र घोषणा गरी कृषकलाई उत्प्रेरित गर्दै आएको छ। किबीखेती विस्तारका लागि पालिकाबाट प्राविधिक सहयोगदेखि आवश्यकताअनुसारको तालिम, टनेल, नर्सरी तथा बिरुवामा अनुदान उपलब्ध गराउँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताए।

किबीका अन्य जातमा सबैभन्दा राम्रो गोल्डेन र रेड किबी राम्रो मानिन्छ। यसको मूल्य अन्य जातको किबीको भन्दा एक सय रुपैयाँ बढी पर्दछ।

भार्षेमा पाँच वटा किबी समूहमा ८० कृषक आबद्ध छन्। यस क्षेत्रमा एक कृषकले १० बोटदेखि एक सय ५० बोटसम्म किवी लगाएका छन्। भार्षेमा हाल ४० हेक्टर क्षेत्रफलमा किसानले व्यावसायिक रुपमा किबीखेती गर्दै आइरहेका छन्। रासस


प्रकाशित : बुधबार, असार ४ २०८२११:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend